कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

खोटाङका ३ विमानस्थल अवरुद्ध

कान्तिपुर संवाददाता

खोटाङ — जिल्लाका तीनवटै विमानस्थल अवरुद्ध भएपछि यात्रुले सास्ती बेहोर्नुपरेको छ । दुइटा विमानस्थलमा कालोपत्रे र एउटा विमानस्थलमा पहिरोले क्षति पुर्‍याएपछि हवाईसेवा अवरुद्ध हुँदा यात्रुले सास्ती बेहोर्नुपरेको हो ।

खोटाङका ३ विमानस्थल अवरुद्ध

जिल्लामा उपचारको राम्रो प्रबन्ध नहुँदा स्वास्थ्य संस्थाबाट रेफर गरिएका बिरामीलाई अन्यत्र पठाउन समस्या भएको छ । रावाबेसी गाउँपालिकाको लामीडाँडा विमानस्थलमा गत २०७४ साल वैशाखदेखि उडान भएको छैन । वि.सं. २०२८ सालबाट सञ्चालनमा आएको यो विमानस्थलको धावनमार्गमा कालोपत्रेको काम थालेपछि अवरुद्ध भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको करिब छ करोड ७६ लाख ९३ हजार आठ सय रुपैयाँ लागतमा कालोपत्रे थालिएको हो । यो विमानस्थलको काम अहिलेसम्म आधा मात्र सम्पन्न भएको स्टेसन मेनेजर रमेश श्रेष्ठले बताए । वर्ष दिनभित्र सम्पन्न गर्ने गरी काम थालिएको थियो । यो विमानस्थलमा अहिले ग्याबिङ वाल भर्ने, धावनमार्गमा ग्राबेलिङ गर्ने र आसपासमा नाली निर्माणको काम मात्र भएको छ । विमानस्थल कालोपत्रेको जिम्मा वाईएनएस, एसएपी र सूर्य कन्स्ट्रक्सन प्रालिले साझेदारीमा लिएको हो ।

जिल्लाको दक्षिणी क्षेत्र खोटेहाङ गाउँपालिकाको थामखर्क विमानस्थल पनि दुई वर्षदेखि अवरुद्ध भएको छ । कालोपत्रेको काम सुरु भएपछि उक्त विमानस्थल अवरुद्ध भएको हो । उडान सुरु भएको १८ वर्षपछि कालोपत्रेको काम थालिएको छ । उक्त विमानस्थल रौता कन्स्ट्रक्सन प्रालिले जिम्मा लिएको छ ।

२०७३ साल माघदेखि सुरु गरेर २०७५ साल असार मसान्तसम्ममा सम्पन्न गर्ने गरी सम्झौता गरिएको विमानस्थलको काम अहिले ७५ प्रतिशत मात्र काम सकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर रत्न श्रेष्ठले बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणको ९ करोड ३८ लाख ६८ हजार सात सय रुपैयाँ लागतमा उक्त विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न सुरु गरिएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको व्यापारिक केन्द्र दिक्तेल बजारको नजिक पर्ने मनमायाा राई खानीडाँडा विमानस्थल गत जेठबाट अवरुद्ध छ । जेठ १ गते दिउँसो परेको भारी वर्षापछि धावनमार्ग माथिबाट बगेको भलबाढीले पहिरो गएपछि विमानस्थल अवरुद्ध भएको हो । बाढीले विमानस्थलको धावनमार्गमुनिको ढल थुनिएपछि माथिबाट बगेको बाढीले दक्षिणी भाग भत्किएको छ ।

प्रकाशित : श्रावण २४, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?