स्थानीय तहमा विपत् व्यवस्थापन तयारी

अर्जुन राजवंशी

दमक — सम्भावित विपतलाई ध्यान दिँदै जिल्लाका स्थानीय तहहरूले पूर्वतयारी थालेका छन् । वर्षाका समयमा बाढीबाट हुन सक्ने जनधनको क्षति कम गर्न विपत् व्यवस्थापनको तयारी थालिएको हो ।

स्थानीय तहमा विपत् व्यवस्थापन तयारी

जिल्लाका १५ मध्ये बाढीबाट प्रभावित स्थानीय तहहरूले बढी सतर्कता अपनाएका छन् । गौरीगन्ज, कमल, कचनकवल, बाह्रदशी र झापा गाउँपालिका तथा कनकाई र भद्रपुर नगरपालिकाले विपत् व्यवस्थापनका लागि कोष स्थापना तथा आवश्यक सामग्री खरिद गरेका छन् ।

झापा र कमल गाउँपालिकाले ५० लाखका दरले, गौरीगन्ज गाउँपालिकाले ३० लाख तथा बाह्रदशी गाउँपालिकाले १० लाखको विपत् व्यवस्थापन कोष स्थापना गरेको छ । जिल्लामा ५ वर्षयता साउनको अन्तिम साता भारी वर्षा हुने गरेको पाइएको छ । उक्त कुरालाई मध्यनजर गर्दै स्थानीय तहहरूले कोष स्थापना गर्नुकासाथै विपत् व्यवस्थापनमा आवश्यक सामग्रीहरू खरिद गरेका हुन् ।

झापा गाउँपालिकाले विपत् व्यवस्थापन कोषका साथै रबर बोट समेत खरिद गरेको छ । बाढीका कारण डुबानमा परेकाहरूलाई उद्धारका लागि ७ लाख ६ सयका दरले रबर बोट खरिद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगालले बताए । उनले रबर बोटमा सवार हुँदा आवश्यक पर्ने हेल्मेट, लाइफ ज्याकेटको समेत व्यवस्था गरेको बताए ।गत वर्ष साउन अन्तिम साता आएको बाढीले जिल्लामा झापा गाउँपालिकामा सबैभन्दा बढी धनजनको क्षति भएको थियो । उक्त गाउँपालिकामा गत वर्ष १० जनाको मृत्यु भएको थियो भने दुई जना बेपत्ता भएका थिए । हजारौं घर डुबान
तथा सयौं बिघा खेती योग्य जमिनमा बाढी पस्दा करोडौं बराबरको क्षति भएको थियो ।

गत वर्षको क्षतिलाई मध्यनजर यस वर्ष पूर्वतयारीमा जुटेको अधिकृत दंगालले बताए । रातको समयमा उद्धार तथा राहतमा सहयोग पुग्ने खालका टाढासम्म देखिने टर्च लाइट तथा केही खाद्य सामग्रीको समेत जोहो गरिएको उनले बताए । विपतमा उद्धार तथा राहत कार्यमा खटिने गरी सशस्त्र प्रहरी बलको सीमा सुरक्षा कार्यालय, जनपथ प्रहरी र स्थानीय संघसंस्थालाई अलर्टमा राखेको समेत उनले बताए । उक्त गाउँपालिकामा कनकाई, विरिङ र सानोमाई खोलाले बढी क्षति पुर्‍याउने गरेको छ ।

स्थानीय कमल खोलाको बाढीले वर्षेनी क्षति बेहोर्दै आएको कमल गाउँपालिकाले कोष स्थापनाका साथै उद्धार तथा राहत सामग्रीको जोहो गरेको छ । गाउँपालिकाले बाढीका समयमा उद्धारमा आवश्यक पर्ने लाइफ ज्याकेटहरू वितरण गरेको छ ।१५ थान लाइफ ज्याकेट केर्खा र क्याम्पा प्रहरी चौकीलाई वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत युवराज ढकालले बताए । गौरीगन्ज गाउँपालिकाले पनि रबर बोट खरिद गरेको छ । कचनकवल गाउँपालिकाले पनि दुई वटा रबर बोट अर्डर गरेको रेडक्रस जिल्ला सभापति लोकराज ढकालले बताए ।

जिल्लामा साना–ठूला गरी दुई दर्जन खोला/नदी छन् । तीमध्ये ८ वटा ठूला नदीमा आउने बाढीले वर्षेनी ठूलो मात्रामा जनधनको क्षति पुर्‍याउने गरेको छ । ‘विगतको भन्दा यस वर्ष बाढीबाट हुने मानवीय क्षति न्यूनीकरण गर्नका लागि हामीले धेरै काम र योजनाहरू बनाएका छौं,’ ढकालले भने, ‘विपत् व्यवस्थापन गर्नुपर्छ भनेर १५ वटै स्थानीय तहको ध्यानाकर्षण गराएका छौं । पूर्वतयारी र आवश्यक सामग्रीबारे पूर्ण जानकारी दिएका छौं ।’

रेडक्रसले आवश्यक पर्ने स्थानको पहिचान गरी ३ सय ६५ वटा लाइफ ज्याकेट वितरण गरेको उनले बताए । जिल्लाको ८६ स्थानमा सामुदायिक विपत् व्यवस्थापन समिति (सीडीएमसी) गठन गर्नुका साथै विपतको समयमा सहयोग पुग्ने साइरन जडित उपकरण समेत वितरण गरेको ढकालले बताए ।रेडक्रसले १५ वटै स्थानीय तहमा विपत् व्यवस्थापनसम्बन्धी गोष्ठी समेत सञ्चालन गरेको थियो । वर्षेनी करोडौंको क्षति पुर्‍याउने गरे पनि जिल्लास्थित स्थानीय तहहरूले विपत् व्यवस्थापनमा आवश्यक मात्रामा ध्यान नदिएको ढकालले बताए ।

प्रकाशित : श्रावण २२, २०७५ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?