तालमा डुबेर वेपत्ता विद्यार्थी अझै फेला परेनन्

कुम्भराज राई

ओखलढुंगा — सोलुखुम्बुको गोक्यो तालमा डुबेर शनिबार वेपत्ता भएका खुम्जुङ माध्यमिक विद्यालय सोलुखुम्बुका तीन विद्यार्थी मंगलबार बिहानसम्म पनि फेला परेका छैनन् । 

तालमा डुबेर वेपत्ता विद्यार्थी खोज्दै उद्धारकर्मीहरु । तस्बिर सौजन्य : गेलु शेर्पा

डुबेर वेपत्ता हुनेमा खुम्जुङका पेम्बादोर्जी शेर्पा र पेम्बानुरु शेर्पा, नाम्चेका सुनिल बराइली छन् । तिनै जना कक्षा ९ का छात्र हुन् । शैक्षिक भ्रमणकालागि गएका उनीहरु नुहाउने क्रममा शनिबार बिहान ८ बजेतिर तालमा डुबेका थिए ।

शुक्रबारदेखि अध्ययन भ्रमणकालागि ३३ जनाको टोली गोक्योतर्फ गएका थिए । वेपत्ताको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी रेशमबहादुर पराजुलीले बताए । सेना, प्रहरी र स्थानीयको प्रयासमा खोजी भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीय गेलु शेर्पाका अनुसार मंगलबार बिहानैदेखि मौसम सफा भएकोले भेटिन सक्ने आशा गरिएको छ ।

प्रकाशित : श्रावण २२, २०७५ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्

कक्षा र पुस्तकालयमा बाढीको वितण्डा

कान्तिपुर संवाददाता

भक्तपुर — गत असार २७ गते रातिको वर्षासँगै हनुमन्ते नदीमा आएको बाढीले राम मन्दिरस्थित शान्ति निकेतन मावि डुबानमा पर्‍यो । डुबेको कक्षाकोठा सुक्न र सरसफाइ गर्न झन्डै एक साता लाग्यो ।

हनुमन्ते नदीमा आएको बाढीका कारण भक्तपुर नगरपालिकाको राम मन्दिरस्थित शान्ति निकेतन माविको पुस्तकालयमा सञ्चालित कक्षा र डुबानमा परेको विद्यालय (तल) । तस्बिर : लीला श्रेष्ठ

‘डुबानमा परेका कोठामा कक्षा सञ्चालन गरेको २ साता पनि भएको छैन, शनिबार रातिको वर्षाले विद्यालय फेरि डुबेको छ,’ विद्यालयका प्रधानाध्यापक महेन्द्र गोपाल कर्माचार्यले भने, ‘डुबानमा परेका १३ मध्ये ११ कोठामा पठनपाठन हुन्थ्यो । डेक्स, बेन्च, शैक्षिक सामग्री, वाल फ्यान, पानी तान्ने पम्पलगायतमा क्षति पुग्यो ।’

कक्षाकोठा डुबानमा परे पनि हालसम्म पढाइलाई भने निरन्तरता दिएको विद्यालयले जनाएको छ । भूकम्पका कारण आंशिक क्षति भएको पुरानो भवनमा कक्षा सञ्चालित छ । एउटै कोठामा ३ वटा कक्षाका विद्यार्थीलाई अध्यापन गराउन बाध्य भएको प्रधानाध्यापक कर्माचार्य बताउँछन् । ‘पुस्तकालय, ल्याब, कम्प्युटर कक्षा, स्टाफ कक्ष, प्रशासनलगायतमा विद्यार्थीलाई अध्यापन गराउँदै आएका छौं,’ उनले भने ।

२०२६ सालमा स्थापना भएको शान्ति निकेतनमा शिशुदेखि कक्षा १० सम्मका ५ सय ६८ विद्यार्थी अध्ययनरत छन् । कक्षाकोठा डुबानमा परेपछि पुस्तकालय, ल्याब, कम्प्युटर कक्षा, स्टाफ कक्ष, प्रशासनलगायतमा अध्यापन गराएको विद्यालयले जनाएको छ । २० वर्षदेखि शान्ति निकेतनमा अध्यापन गराउँदै आएका कर्माचार्यका अनुसार २०७२ पछि पटकपटक विद्यालयले डुबान झेल्दै आएको छ ।

‘पहिलेपहिले आक्कलझुक्कल रूपमा हनुमन्तेमा आएको बाढी बस्तीमा पस्थ्यो ।’ उनले भने, ‘अहिले पानी पर्‍यो कि डुबानको डर हुन्छ ।’ डुबानमा परेको कक्षाकोठाको विकल्पका रूपमा क्षतिग्रस्त विद्यालय भवनमा विद्यार्थी अध्यापन गराउँदै आएको उनी बताउँछन् । क्षतिग्रस्त विद्यालय पुनर्निर्माणका लागि नक्सापासको प्रक्रिया थालेको समेत उनले बताए । भवन अभावका कारण नयाँ शैक्षिक सत्रका लागि भर्ना हुन आएका १ सय ३० विद्यार्थीलाई नजिकैको अन्य विद्यालयमा पठाएको जनाएको छ । ‘अघिल्लो वर्ष ६ सय ८ जना विद्यार्थी थियो, ठाउँ अभावले ५ सयमा झार्ने लक्ष्य थियो सकेनौं,’ उनले भने ।

त्यसैगरी, भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित अक्सफोर्ट प्राक्टिकल स्कुलको अवस्था त्यस्तै छ । ‘अघिल्लो पल्टको बाढीमा परीक्षा सकिएकाले विद्यालय बन्द थियो,’ विद्यालयका संस्थापक अध्यक्ष राम दुवालले भने, ‘सम्पूर्ण कक्षाकोठा डुबानमा परेकाले आइतबारबाट कक्षा सञ्चालन गर्न सकेका छैनौं ।’ २०५२ मा स्थापना भएको अक्सफोर्ट विद्यालयमा ४ सय ७८ विद्यार्थी अध्ययनरत छन् ।

शनिबार रातिदेखिको वर्षाले विद्यालयको कक्षाकोठा, क्यान्टिन, पुस्तकालय, ल्याब, कम्प्युटर कक्षालगायत २० वटा कक्षाकोठा डुबानमा परेको दुवालले बताए । गत असारको डुबानले पुस्तकालयको पुस्तक, कम्प्युटर, डेक्स/बेन्चलगायत सामग्रीहरू गरी करिब ७ लाख रुपैयाँ बराबरको क्षति भएको विद्यालयले जनाएको छ । ‘असारयता तीनपल्ट डुबानमा परिसक्यो, बोराका बोरा किताब फ्याँक्नुपर्‍यो’, विद्यालयका संस्थापक विष्णु दुवालले भनिन्, ‘पानी पर्‍यो कि डुबानमा पर्छ, कक्षा सञ्चालन गर्न सक्ने अवस्था छैन ।’

अभिभावकहरूले विद्यालय बन्द भएको भन्दै आलोचना गर्ने गरेको उनी बताउँछिन् । यी दुई विद्यालय मात्र होइन, वर्षाका कारण हनुमन्ते नदीको बहाव बढेपछि हनुमान घाट, राममन्दिर, बाराहीस्थान, सल्लाघारी, दुवाकोट चोक, सृजनानगर, राधेराधेलगायत क्षेत्रका सयौं घर, विद्यालय, अस्पताल डुबानमा परेका छन् ।

डुबानको विकल्प करिडोर
सधैंको डुबान झेल्दै विद्यालय सञ्चालन गरिरहेका शान्ति निकेतन माविका प्रधानाध्यापक महेन्द्र गोपाल कर्माचार्यले डुबानको दिगो समाधान हनुमन्ते करिडोर निर्माण नै भएको बताए । ‘करिडोर निर्माण हाम्रो काबुको कुरा भएन,’ उनले भने, ‘राज्यस्तरबाटै पहल हुन आवश्यक छ ।’ हनुमन्ते नदीमै पौडी सिकेको स्मरण गर्दै कर्माचार्यले भने, ‘नगरबाट निस्केको फोहोरलाई खोलाको किनारामा व्यवस्थापन र खोलाको अतिक्रमणले साँघुरो हुँदै गएको छ ।’ जिल्लाका चारवटै नगर भएर बग्ने हनुमन्ते खोलामा करिडोर निर्माणका लागि स्थानीय तहले मुख्य प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा काम गर्नुपर्ने उनी बताउँछन् ।

प्रकाशित : श्रावण २२, २०७५ ०८:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्