कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

ढुंगाखानीले पानीका मुहान सुके

डम्बरसिं राई

खोटाङ — धार्मिक तथा पर्यटकीय गन्तव्य मझुवागढी क्षेत्रमा अवैध रूपमा सञ्चालित ढुंगा तथा गिट्टी दोहनले पानीको मुहान सुकाउँदै लगेको छ । दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिकाले ढुंगा–गिट्टी दोहन बन्द गर्ने निर्देशन गरे पनि सुनुवाइ नभएको स्थानीय बताउँछन् ।

ढुंगाखानीले पानीका मुहान सुके

ढुंगा–गिट्टी खानी सञ्चालनपछि कालिका भगवती, बुद्धेश्वर गुफा र किरात ऐतिहासिकस्थल मझुवागढी संकटमा परेको हो । यसबारे स्थानीयले नगरपालिकालाई खानी सञ्चालन बन्द गर्न साउन ४ मा निवेदनसमेत दिएका छन् । खानीबारे पटक–पटक जानकारी गराउँदा पनि बेवास्ता भएको स्थानीय नेत्र कटवालको भनाइ छ । ‘सिडिओ, डीएसपी र नगरपालिकालाई पटक–पटक खानी बन्द गर्नभन्दा बेवास्ता गरियो,’ उनले भने, ‘हाम्रो गुनासो सुनुवाइ नहुनुमा प्रशासनदेखि जनप्रतिनिधिसम्मको संलग्नता छ ।’

अवैध खानीमा ब्रेकर प्रयोग गरिएकाले मझुवागढी आसपासमा पानीको मुहानसमेत सुकेका छन् । ढुंगा–गिट्टी दोहनले काँडे मुहान, जुकेपानी, कालीमाटी धारा र चेरे खोलाको पानी सुकेको छ । मुहान सुकेपछि सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । ढुंगा–गिट्टी दोहनकै कारण दिक्तेल–खानीडाँडा र दिक्तेल–मेघेचौतारो यात्रामा जोखिम बढेको छ । ब्रेकरले कतिपय ठाउँमा सडकको पर्खाल भत्किएको छ । नगरपालिकाका प्रमुख दीपनारायण रिजाल भने अवैध खानी सञ्चालनमा संलग्नलाई कारबाही गर्ने बताउँछन् ।

मझुवागढी क्षेत्रमा जिल्ला समन्वय समिति खोटाङका संयोजक बबी चाम्लिङकै निर्देशनमा खानी दोहन गरिएको हो । सडक खन्ने बहानामा वन फँडानी तथा प्राकृतिक संरचना नष्ट गर्नेलाई कतैबाट कारबाही हुन सकेको छैन । जिल्ला वन कार्यालयले पनि फँडानीमा संलग्नलाई कारबाही गर्न सकेको छैन । देवीस्थान सामुदायिक वन क्षेत्रमा प्रक्रिया नपुर्‍याई सडक खनिएको र वन पँmडानी भएको हो । यसमा जिसस संयोजक चाम्लिङ, केही सशस्त्र प्रहरी जवान संलग्न रहेको स्रोतको दाबी छ । वन कार्यालय स्रोतका अनुसार पहुँचवाला नै पँmडानीमा संलग्न रहेकाले कारबाही गर्न हुन सकेको छैन ।

कार्यालयका अधिकृत भक्त लामा नेतृत्वको टोलीले विभिन्न प्रकारका झन्डै ४ सय रूख–बिरुवा नष्ट भएको प्रतिवेदन तयार पारेको छ । प्राकृतिक संरचना नष्ट हुने सडक निर्माणमा नगरपालिकाकै डोजर प्रयोग गरिएको स्थानीय बताउँछन् । यसबारेमा नगरप्रमुख रिजालले भने अनभिज्ञता व्यक्त गर्छन् ।नगरपालिकाले पर्यटनको केन्द्रविन्दुका रूपमा विकास गर्न मझुवागढी क्षेत्रको बृहत् गुरुयोजना बनाएको छ । मझुवागढी, कालिका भगवती मन्दिर पुनर्संरचना, बुद्धेश्वर गुफा आसपासको संरचना, गुम्बा, भ्युटावर, वन्यजन्तु अवलोकनका लागि मिनी जू, जैविक विविधता संरक्षण, भलिबल खेल मैदानलगायत निर्माणको योजना बनाइएको छ ।

प्रकाशित : श्रावण ८, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?