तमोर नदी कहिलेसम्म ‘झोला’ मा ?

विभिन्न कम्पनीलाई अध्ययन अनुमति तर उत्पादन शून्य
तमोरबाट मात्रै ७८९ मेगावाट उत्पादन गर्न सकिने
अरू मिसाउँदा १२१४ मेगावाट बिजुलीको सम्भावना
आनन्द गौतम

ताप्लेजुङ — फक्तालुङ गाउँपालिका ७ ओलाङचुङगोला उद्गमस्थल भएर बग्ने तमोर नदीबाट ताप्लेजुङमा मात्रै ७ सय ८९ मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ । यस आसपासका मेवा, घुन्सा नदीको पानीसमेत मिसाउँदा उत्पादन क्षमता १ हजार २ सय १४ मेगावाट पुग्छ ।

तमोर नदी कहिलेसम्म ‘झोला’ मा ?

यसका लागि सरकारले विभिन्न कम्पनीलाई अध्ययन अनुमति दिएको छ । तर बिजुली उत्पादन कहिले हुन्छ पत्तो छैन । टिप्ताला भञ्ज्याङ आसपासबाट सुरु भई सप्तकोसीमा मिसिने तमोर नदीबाट अहिलेसम्म एक किलोवाट बिजुली पनि उत्पादन भएको छैन ।

तेह्रथुमको आठराई र पाँचथरको आम्बुङमा आएर काबेलीसँग जोडिने यो नदीबाट ताप्लेजुङमा मात्रै उत्पादनका लागि सातवटा कम्पनीले अनुमति लिएका छन् । अनुमति लिएका कम्पनीहरू वातावरण प्रभावको अध्ययन गरिरहेको दाबी गर्छन् । काम थालनी गर्ने पहिलो कम्पनी सानीमा इनर्जी प्रालि छ । उसले निर्माणका लागि ठेकेदार कम्पनी छनोट गरेको छ । यसै वर्षबाट आयोजना क्षेत्रमा निर्माणको काम सुरु भएको छ ।

७४ मेगावाटका लागि काम थालेको उसले मोटरबाटोको स्तरोन्नतिलगायत काम सुरु गरेको हो । फक्तालुङको मित्लुङबाट सुरु हुने यो आयोजना मिक्वाखोला १ खोक्लिङमा टुंगिन्छ । ऊर्जा मन्त्रालयमा दर्ता भएकामध्ये सानिमा इनर्जी प्रालिले नै एकै ठाउँबाट ४ सय १५ मेगावाट उत्पादनका लागि प्रस्ताव गरेको छ ।

यसको केन्द्रबिन्दु फक्तालुङ गाउँपालिकाको केन्द्र रहेको तापेथोक बगर हो । एकै ठाउँबाट उत्पादन हुने तमोरको यो सबैभन्दा ठूलो आयोजना पनि हो । अप्पर तमोर जलविद्युत आयोजनाका रूपमा सानीमा इनर्जी प्रालिले २०६८ मंसिर २९ गते सर्वेक्षणको अनुमति पाएको थियो । कम्पनीले फक्तालुङ गाउँपालिकाको तापेथोक बगर र सिंवा बजारमा सार्वजनिक सुनुवाइ पनि गरेको छ ।

मन्त्रालयमा गरिएको दर्ताअनुसार फक्तालुङ गाउँपालिकाको तापेथोक, सावादिन, खेजेनिम, लिंखिम यसको प्रभावित क्षेत्र छन् ।

मध्यतमोर जलविद्युत पनि यही कम्पनीले निर्माण गर्न लागेको हो । यसलाई ५४ बाट २० मेगावाट बढाएर ७४ बनाइएको हो । फक्तालुङ ७ ओलाङचुङगोला प्रभावित क्षेत्र हुने गरी ७२ मेगावाटको प्रस्ताव गरिएको छ ।

अप्पर तमोर ए जलविद्युत आयोजनाअन्तर्गत युनियन हाइड्रोपावर लिमिटेड ललितपुरले प्रस्ताव गरेको हो । रिभर साइड हाइड्रो इनर्जी प्रालिले तमोरखोला ५ प्रस्ताव गरेको छ । ४० मेगावाट उत्पादन हुने यसको प्रभावित क्षेत्र फक्तालुङ गाउँपालिका ६ लेलेप मात्रै हुनेछ । लेलेप नै प्रभावित क्षेत्र हुने गरी अपर तमोर हाइड्रोपावर प्रालिले ३२ दशमलव ५ मेगावाटको प्रस्ताव गरेको छ ।

ओलाङचुङगोला र लेलेप प्रभावित क्षेत्र हुने गरी १ सय ५५ मेगावाटको सुपर तमोर जलविद्युत आयोजना छ । यो क्रिस्टल पावर डेभलपमेन्ट प्रालिले प्रस्ताव गरेको हो । तमोर नदीबाट मात्रै ७ सय ८९ मेगावाट उत्पादन गर्न सकिने प्रस्तावमा उल्लेख छ ।

तमोर नदीसँग संयुक्त आयोजनाका रूपमा घुन्सा तमोर जलविद्युत आयोजना ४३ मेगावाट छ । यो ब्लुस्टार होटल कम्प्लेक्स थापाथली काठमाडौंले प्रस्ताव गरेको आयोजना हो । उसले फक्तालुङ ६ लेलेपमै संरचना बन्ने गरी प्रस्ताव गरेको छ । मिक्वाखोला १ र २ को खोक्लिङ र फुङलिङ नगरपालिका १, २, ३, र ७ नम्बर वडामा संरचना बन्नेगरी १ सय २८ मेगावाटको तमोर मेवा जलविद्युत आयोजना पनि छ ।

स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनीले निर्माण गर्ने यो आयोजनाको गत जेठमा मात्रै प्रभावित क्षेत्रका बासिन्दासँग अन्तिम सार्वजनिक सुनुवाइ गरेको थियो । स्पार्कका अध्यक्ष भानेन्द्र लिम्बू सरकारले निर्माण अनुमति दिए आउँदो हिउँददेखि निर्माण सुरु गर्ने तयारी भइरहेको बताउँछन् । यसमा लगानी गर्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले असारमा हेलिकप्टरबाट आएर अनुगमन गरेका थिए ।

तमोर नदीमा मिसिने मेवाखोलामा उत्पादनका लागि अपर मेवाखोला ए २८, मिडिल मेवा ४९, मेवाखोला ५०, मेवाखोला ए २३ र अपर मेवा १५ दशमलव ५ प्रस्ताव गरिएको छ । तमोर र मेवाखोलाको पानी मिसाएर यी आयोजना सञ्चालन हुनेछन् ।

प्रकाशित : श्रावण ४, २०७५ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?