स्थानीय तहको बजेट : पूर्वाधारलाई प्राथमिकता

ज्येष्ठ नागरिक, अपांगतालाई सामाजिक सुरक्षा भत्ता
महिला हिंसा न्यूनीकरणमा जोड
गुणस्तरीय सेवा प्रवाह र सुशासनमा प्रतिबद्ध
डम्बरसिं राई

खोटाङ — अधिकांश पालिकाहरूले भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम पारित गरेका छन् । आर्थिक वर्ष ०७५/७६ का लागि जिल्लाका दुई नगरपालिका र ८ गाउँपालिकाले भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम पारित गरेका हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आव ०७५/७६ का लागि ६८ करोड ६९ लाख ९६ हजार रुपैयाँको बजेट पारित गरेको छ । असार २९ गते आयोजित दोस्रो नगरसभाले बजेट पारित गरेको हो । उपप्रमुख विणादेवी राईले प्रस्तुत गरेको बजेट तथा कार्यक्रममा आन्तरिक आय ४५ लाख, संघीय सरकार राजस्व बाँडफाँडबाट प्राप्त हुने अनुमानित १० करोड ३ लाख २४ हजार, वित्तीय समानीकरण अनुदान १४ करोड ९ लाख र ससर्त अनुदान ४१ करोड ५९ लाख, प्रादेशिक सरकार राजस्व बाँडफाँड तर्फबाट प्राप्त हुने अनुमानित ५ लाख, वित्तीय समानीकरण अनुदान ३९ लाख ७२ हजार र सशर्त अनुदानतर्फ दुई करोड गरी ६८ करोड ६० लाख ९६ हजारको बजेट तथा कार्यक्रम पारित भएको हो ।

यसमध्ये पूर्वाधारतर्फ स्थानीय गौरवका सडक योजना सञ्चालनका लागि १ करोड ३५ लाख, पूर्वाधार विकास क्रमागत योजनाहरूलाई सम्पन्न गर्न एकमुष्ट १ करोड १५ लाख गरी समग्र पूर्वाधार विकास क्षेत्रतर्फ कुल रकम ७ करोड ९६ लाख ९५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको हो । सामाजिक विकासअन्तर्गत नगरवासीको गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य एवं पोषण, स्वच्छ पिउने पानी तथा सरसफाइको सुविधामा पहुँच, खेलकुदको विकास युवा परिचालन तथा प्रवद्र्धनका साथै लैंगिक समानतामा जोड दिइएको छ ।

सामाजिक समावेशीकरण सुनिश्चित गरी नगरवासीलाई आधारभूत सामाजिक सेवा, संरक्षण र सुरक्षा उपलब्ध गराउने उद्देश्यसाथ ज्येष्ठ नागरिक, अपांगता, एकल महिला र दलित बालबालिकालगायत व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने व्यवस्थाको सम्बोधन गरिएको छ । यसैगरी महिला हिंसालाई न्यूनीकरण गर्ने, महिलाहरूलाई आर्थिक, राजनीतिक र सामाजिक रूपमा सवल र सक्षम बनाउँदै महिला सशक्तीकरण गर्ने, उपप्रमुखसँग महिला कार्यक्रम सञ्चालन गर्नेलगायत कार्यक्रम पारित गरिएको छ । यसका लागि ११ करोड ७९ लाख ६ हजार ८ सय रुपैयाँ विनियोजन भएको छ ।

हलेसी तुवाचुङ नगरपालिकाले ०७५/७६ का लागि ४४ करोड ५४ लाख ३७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । सडक, विद्युत्, पर्यटन, कृषिलाई बिशेष प्राथमिकता राख्दै असार २९ गते उपप्रमुख बिमला राईले यत्तिको बजेट प्रस्तुत गरेकी हुन् । नगरसभाले चालुतर्फ ४ करोड ९५ लाख ७१ हजार ७ सय ५०, पुँजीगततर्फ १४ करोड ४३ लाख २७ हजार ७ सय ५० रुपैयाँ बजेट विनियोजन गरेको हो । नगरपालिकाले सडकमा ४ करोड ५७ लाख ५ हजार, विद्युतमा ११ करोड १ लाख ८० हजार, पशु तथा कृषिमा १३ करोड ९१ लाख ९ हजार विनियोजन गरिएको छ ।

ऐंसेलुखर्क गाउँपालिकाले ०७५/७६ का लागि २८ करोड ५६ लाख ८ हजार ९ सय ८७ रुपैयाँको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । असार २७ गते भौतिक पूर्वाधारलाई प्राथमिकतामा राख्दै उपाध्यक्ष पुष्पकला भुजेलले बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । यसअन्तर्गत सडक, विद्युत्, स्वास्थ्य, शिक्षा, सञ्चार लगायतलाई प्राथमिकतामा राखिएको छ । गुणस्तरीय सेवा प्रवाह र सुशासनलाई प्राथमिकता दिँदै गाउँपालिकाले सडकमा ५ करोडभन्दा माथि, विद्युतमा १ करोडभन्दा माथि, स्वास्थ्यमा करिब ५० लाख, शिक्षामा ५२ लाख र सूचना तथा सञ्चार प्रविधिमा १५ लाख बजेट छुट्टयाइएको गाउँपालिकाका कार्यकारी अधिकृत जीवन निरौलाले बताए ।

गाउँपालिकाको वडा १ राखाबाङदेलमा रहेको बाहाने पोखरी, वडा २ वाकाचोलमा अवस्थित देउराली पोखरी, वडा ७ माक्पामा रहेको माकिपा मन्दिर र वडा ४ जलेश्वरीमा अवस्थित दखम्लुडाँडालाई थप व्यवस्थित गरी पर्यटन प्रवद्र्धनका लागि ३० लाख, खेलकुदमा १५ लाख र कृषिमा ५० लाख करोड बजेट विनियोजन गरिएको छ । यो पालिकाका सातै वडाका लागि समपूरक कोष (म्याचिङ फन्ट) मा ७० लाख रकम छुट्टयाइएको छ । महिला लक्षित कार्यक्रममा २० लाख रकम विनियोजन गरिएको छ ।

खोटेहाङ गाउँपालिकाले सडकलाई प्राथमिकतामा राखेर खोटेहाङ गाउँपालिकाले झन्डै ३० करोडको बजेट पारित गरेको छ । आव ०७५/७६ का लागि २९ करोड ९३ लाख ६३ हजार बराबरको नीति तथा कार्यक्रम असार २८ गते पारित गरेको हो । गाउँसभाले नि:शर्ततर्फ केन्द्र सरकारबाट आएको १५ करोड २९ लाख र प्रदेश सरकारबाट प्राप्त भएको ३३ लाख तथा सशर्ततर्फ १४ करोड ३१ लाख बजेट विनियोजन गरेको गाउँपालिका प्रमुख प्रदीप राईले बताए ।

गाउँसभाले नि:सर्त अनुदानमध्येबाट पुजीँगततर्फ १० करोड ७४ लाख ९० हजार ५ सय र चालुतर्फ ४ करोड ७१ लाख ६३ हजार ५ सय रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता शिव फुँयालले बताए । पुँजीगततर्फको बजेटबाट सबैभन्दा बढी बजेट सडक निर्माणका लागि विनियोजन गरिएको छ ।

सडक निर्माणसम्बन्धी ठूला आयोजनाका लागि १ करोड ८० लाख ७७ हजार विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । रावाबेसी गाउँपालिकाले २१ करोड २१ लाख ८४ हजार सात सय रुपैयाको बजेट पारित गरेको छ । असार २९ गते सम्पन्न दोस्रो गाउसभाले बजेट पारित गरेको हो ।

उपाध्यक्ष समला राईले प्रस्तुत गरेको बजेट तथा कार्यक्रमअनुसार भौतिक पूर्वाधारमा दुई करोड ५६ लाख २७ हजार, सामाजिक विकासमा ७६ लाख ८८ हजार २ सय ३५, आर्थिक विकासमा ७६ लाख ८८ हजार २ सय ३५, वन वातावरण तथा विपत् व्यवस्थापनमा ८ लाख ५४ हजार २ सय ४८, सुशासन तथा संस्थागत विकासमा ८ लाख ५४ हजार २ सय, समपूरक कोष ४० लाख विनियोजन गरिएको छ ।

कृषि र पर्यटनलाई प्राथमिकता
सुनसरी (कास)– सुनसरीको बराह क्षेत्र नगरपालिकाले आगामी ५ वर्षका लागि विषयगत समितिबाट योजना तर्जुमा गरी एकीकृत गर्न सुरु गरेको छ । कृषि तथा जलपर्यटनको क्षेत्रमा समृद्ध बनाएर लाने नगरको नीतिअनुसार योजना तर्जुमा भइरहेको नगरप्रमुख नीलम खनालले बताए । उनले भने, ‘कोसीकिनार रहेको र गाउँ नै गाउँले भरिएको नगरको समग्र विकासका लागि हामीले कृषि तथा धार्मिक र जलपर्यटनमा ध्यान दिएका छौं । यसका लागि विज्ञहरूको टोलीसहित, समाजका बुद्धिजीवि र कार्यपालिका सदस्यहरू रहेको विषयगत समिति निर्माण गरी योजना तर्जुमाको काम भइरहेको छ ।’ खनालले ५ वर्षका लागि योजना तर्जुमा गरिने बताए ।

योजना तर्जुमामा ५ विषयगत समितिबाट योजना संकलनको काम भइरहेको छ । विषयगत समितिमा पूर्वाधार विकास समिति, आर्थिक विकास समिति, सामाजिक विकास समिति, सुसाशन तथा क्षमता विकास समिति र वन वातावरण तथा विपद् व्यवस्थापन समिति छन् । नगरपालिकाले पूर्वाधार विकास समितिअन्तर्गत राखेर स्थानीय सञ्चारक्षेत्रको विकास गर्ने नीतिलाई पनि प्राथमिकतामा राखेको छ ।

नगरपालिकाले यस अघि नगरसभाबाट वराहक्षेत्रमा सञ्चार केन्द्र स्थापना गर्न बजेट विनियोजनसमेत गरेको छ । नगरका सञ्चारकर्मीहरूको एउटै केन्द्र स्थापना गरी स्थानीय सञ्चारमाध्यमको प्रवद्र्धन गर्ने उद्देश्यअनुरूप अवधारणा ल्याइएको खनालले बताए ।

प्रकाशित : असार ३२, २०७५ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्

सहयोगी बन्यो लघुवित्त

विप्लव भट्टराई

इलाम — लालाबालासहित सिलाइ पेसाले मात्र घर धान्न कम मुस्किल थिएन मोहन र शान्ता लावरलाई । दिनरात मिहिनेत गर्दा पनि खान लाउन सहज नभएपछि झापाबाट यो परिवार पहाड उक्लियो ।

सुखी संसार खोज्दै तराई झर्ने परम्पराविपरीत लावर परिवार सदरमुकाम छेउको बिब्ल्याँटे बजारमा दु:ख भुलाउन थालेको ठयाक्कै १० वर्ष बितेछ ।

पुरानै पेसाले मात्र नथेगेर लावर परिवारले विकल्प खोज्यो । तर लगानी गर्ने रकम नहँुदा निराश भएको अवस्थामा उनीहरूले एउटा लघुवित्तबाट १० हजार रुपैयाँ ऋण लिए । मोहन कपडा सिलाउने र शान्ता सानो घुम्ती खोलेर फलफूल बेच्न उपाय खोज्दा उनीहरूको बिउ पुँजी बन्यो त्यही १० हजार रुपैयाँ ।

नियमित लगनका कारण उनीहरूले जीवन विकासमा नियमित किस्ता बुझाउन सफल रहे र ऋण पनि थप्दै लगे । १० हजारबाट २० हुँदै त्यही औसतमा उनीहरूले कारोबार पनि बढाए । राम्रो कारोबार गरेकाले अहिले जीवन विकासले उनीहरूलाई ३ लाख रुपैयाँ ऋण दिएको छ । १० हजारबाट थालेको व्यवसाय बढाएर ३ लाखभन्दा धेरै लगानी पुर्‍याएका छन् ।

‘उतिबेला यति रकम पत्याउने पनि कोही भएन,’ ग्राहकलाई आँप बेच्न व्यस्त शान्ताले भनिन्, ‘जुन बेला यो संस्थाले पत्यायो त्यहि दिनबाट सन्तुष्टि मिलेको छ ।’ अहिले आधा दर्जन प्रतिस्पर्धी पुगेका छन् । तर पनि नियमित सेवा दिएका उनीहरूको फलफूलको बिक्री घटेको छैन । छोराका बिहेसमेत गरेका लावर परिवार अब बचत गरी सानोतिनो घर बनाउने ध्याउन्नमा छन् ।

आफै गाडी किनेर चलाउने रहर भए पनि कसैले ऋण नदिँदा इलाम नगरपालिका ४, चारखाँदेकी हिमादेवी रिजाल र होमनाथ निराश थिए । तर लघुवित्तले ६ लाख रुपैयाँ ऋण दिएपछि अरु स्रोत जुटाएर उनीहरूले बुलेरो जिप खरिद गरे । अर्काको गाडी चलाएर दिक्क भएपछि आफैं गाडी किन्दा रिजाल परिवारलाई धेरै सहज भएको छ । महिनाको ९० हजार रुपैयाँसम्म बचाउन सफल उनीहरूले संस्थाको नियमित ब्याज तिरेर अन्यत्रको ऋण चुक्ता गर्न लागेका छन् । ‘सामान्य ऋणका लागि पनि महँगो ब्याजमा साहु काड्न जानुपर्ने प्रथा लघुवित्तले हटाएको छ ।

उनीहरू जस्तै धेरैका लागि २०६७ मा खुलेको जीवन विकास नामक संस्था सहयोगी बनेको छ । बिब्ल्याँटे, एकतप्पा, मंगलबारे, आइतबारे, नयाँबजार, श्रीअन्तु र दानाबारी शाखामार्फत संस्थाले संस्थाले ५८ करोड रुपैयाँभन्दा धेरै लगानी गरेको छ । साधारणदेखि आवास, शैक्षिक, स्वरोजगारलगायत विभिन्न विधामा ऋण लगानी गर्दै आएको जीवन विकासले ५८ करोड, ९२ लाख, २८ हजार, ६ सय ७७ रुपैयाँ लगानी गरेको हो ।

संस्थाले २३ करोड १३ लाख १० हजार ३ सय ८ रुपैयाँ बचत संकलन गरेको छ । कार्यक्रम लागू भएका क्षेत्रमा १३ हजार ७ सय २८ सदस्य छन् । त्यसमध्ये ९ हजार ७ सय ८२ जनाले ऋण लिएका छन् । १६ देखि २० प्रतिशत ब्याजमा ऋण प्रवाह गर्दै आएका संस्थाले ऋणीलाई विभिन्न सुविधासमेत दिने गरेकाले सदस्य थपिँदै गएको जिल्ला प्रमुख मनोज ढुंगानाले जानकारी दिए । संस्थाले आपतकालीन ऋण कोषमार्फत सदस्यको मृत्यु भए ऋण मिनाहा गर्ने गरेको छ ।

त्यस्तै काजकिरिया खर्चबापत १० हजार, सदस्यको पतिको मृत्यु भए ५ हजार, सदस्यको प्रसूतिका बेला शल्यक्रिया गर्नुपरे २ हजार र सामान्य अवस्थाका लागि १ हजार प्रदान गर्छ । त्यस्तै सदस्यालाई सर्पले टोकेको र प्राकृतिक प्रकोपमा परे १ हजार रुपैयाँ अनुदान दिने नियम बनाइएको छ ।

प्रकाशित : असार ३२, २०७५ ०८:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्