१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

विद्यार्थीलाई स्वच्छ खानेपानी

दमक — गौरादह नगरपालिकाको ग्रामीण क्षेत्रका विद्यार्थीका लागि स्वच्छ खानेपानीको व्यवस्था गरिएको छ । आर्सेनिकयुक्त ट्युवेलको पानी पिउँदै आएका विद्यार्थीका लागि दाताको सहयोगमा स्वच्छ खानेपानीको व्यवस्था गरिएको हो ।

विद्यार्थीलाई स्वच्छ खानेपानी

गौरादह ९ बैगुनधुरास्थित अमर माविमा फिल्टरजडित स्वच्छ खानेपानी आयोजना स्थापना गरिएको छ । वर्क फर नेपाल नामक संस्थाको संयोजनमा हेल्पिङ ह्यान्ड फर फिल्टरेशन डेप्लप्मेन्टले विद्यालयमा खानेपानी आयोजना निर्माण गरिदिएको हो ।

६ लाख रूपैयाँको लागतमा संस्थाले प्रतिदिन २ सय ५० लिटर पानी उत्पादन गर्न सक्ने क्षमताको खानेपानी प्लान्ट निर्माण गरिदिएको हो । खानेपानी प्लान्ट आइतबार उद्घाटन गरेर विद्यालयलाई हस्तान्तरण गरिएको छ । विद्यालयमा ५ सय ८९ विद्यार्थी अध्ययनरत छन् ।

स्वच्छ खानेपानीको व्यवस्था नहुँदा विद्यार्थीले विद्यालय परिसरभित्र रहेका ट्युवेलको पानी प्रयोग गर्दै आएका थिए । विद्यार्थी तथा विद्यालय परिवारको स्वास्थ्यलाई ध्यानमा राख्दै दाताले स्वच्छ खानेपानीको प्लान्ट निर्माण गरिदिएकोमा प्रधानाध्यापक गोपाल पोखरलले धन्यवाद व्यक्त गरे । ‘वर्षाैंपछि बल्ल विद्यार्थीले स्वच्छ खानेपानी पिउन पाए,’ पोखरेलले भने, ‘यो प्लान्ट निर्माण नहुँदासम्म विद्यार्थीले आर्सेनिकयुक्त ट्युवेलको पानी पिउन बाध्य थिए ।’ वर्क फर नेपालले झापा गाउँपालिकाको कुवाडीदेवी माविमा स्वच्छ खानेपानीको प्लान्ट निर्माण गरिदिएको छ ।

बोरिङमार्फत भूमिगत पानी तानेर विभिन्न चरणमा फिल्टर भएपछि विद्यार्थीले स्वच्छ खानेपानी प्रयोग गर्न सक्ने प्रविधि जडान गरेको वर्क फर नेपालका अध्यक्ष तिलचन्द्र अधिकारीले बताए । बैगुनधुराका ट्युवेलमा आर्सेनिकको मात्रा बढी देखिएपछि अमर माविमा स्वच्छ खानेपानी प्लान्ट निर्माण गरिदिएको अधिकारीले बताए । वर्क फर नेपालले जिल्लामा सामाजिक कार्य गर्दै आएको छ ।

प्रकाशित : असार २६, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?