कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सबै ग्रामीण सडक बन्द

डम्बरसिं राई

खोटाङ — लगातारको झरीले जिल्लाका ग्रामीण सडकहरू बन्द भएका छन् । वर्षादले हिलाम्य भएपछि जिल्लाका प्राय सबै ग्रामीण सडकहरू बन्द भएका हुन् ।जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपिलासगढी, ऐसेलुखर्क र रावाबेंसी गाउँपालिकाको ग्रामीण सडक बन्द भएका छन् ।

सबै ग्रामीण सडक बन्द

उक्त पालिकाहरूमा यातायात अबरुद्ध हुदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।

त्यस्तै साकेला, दिप्रुङचुइचुम्मा, खोटेहाङ, जन्तेढुङ्गा, बराहापोखरी लगायतका गाउँपालिकाका ग्रामीण सडक पनि अबरुद्ध भएको खोटाङ यातायात व्यवसायी संघका महासचिव रामकुमार हिङमाङले बताए । उनका अनुसार दिक्तेल–बाक्सिला, दिक्तेल–ऐसेलुखर्क, दिक्तेल–खार्मी, दिक्तेल–पाथेका, दिक्तेल–निर्मलीडाँडा, दिक्तेल–टेम्मा, दिक्तेल–रेग्मीटार, दिक्तेल–खोटाङबजार, दिक्तेल–राजापानी लगायतमा यातायात सञ्चालन बन्द भएको छ । यसले सयौ गाडी थन्किएर बसेको हिङमाङले सुनाए ।

यसबाहेक मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने दिक्तेल–चखेवा सडक समेत अबरुद्ध भएको छ । निर्माण कम्पनीले चौडा बढाउन खनेर त्यत्तिकै छाडेकाले सडक हिलाम्य बनेको छ । कम्तीमा सडक सञ्चालन होस् भनेर पटक–पटक सम्बन्धित निर्माण कम्पनीलाई अनुरोध गर्दा समेत नटेरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले बताए ।

उसो त दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको व्यापारिक केन्द्र दिक्तेल बजारमा समेत सडकको अवस्था बेहाल छ । सहरसँग सीधा सम्बन्ध गास्ने मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–काठमाडौं, दिक्तेल–धरान, दिक्तेल–विराटनगर, दिक्तेल–गाइघाट, दिक्तेल–कटारी यातायात भने सञ्चालनमा छन् ।

त्यस्तै दिक्तेल–बुइपा र दिक्तेल–जालपा ग्रामीण सडक पनि सञ्चालनमा छन् । हिङमाङका अनुसार जिल्लामा खोटाङ यातायात प्रालि, मध्यपहाडी, हिमाल तराई, सगरमाथा यातायातको करिब सय वटा बस र सयकै हाराहारिमा जिप सञ्चालनमा रहेको थियो । सडक अबरुद्ध भएपछि यि गाडी थन्किएको हिङमाङको भनाई छ । यातायात नचलेपछि वृद्ध–वृद्धा तथा बिरामीलाई सास्ती भएको छ ।

प्रकाशित : असार २६, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?