कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आदर्शको आकर्षण

जितेन्द्र साह

विराटनगर — सरकारी विद्यालयमा पढाउँदा आफन्त, छरछिमेक र समाजले के भन्लान् वा छोराछोरीको भविष्य के होला भन्ने प्रश्न अधिकांस अभिभावकमा उठ्ने गर्छ ।

आदर्शको आकर्षण

तर गुणस्तरीय शिक्षामा निजीलाई टक्कर दिइरहेको विराटनगरस्थित आदर्श विद्यालयले यो परम्परागत धारणालाई गलत प्रमाणित गरिदिएको छ ।


यहाँ प्रवेश परीक्षामा नाम निकाल्नु भनेको अभिभावक एवं विद्यार्थीका लागि सामाजिक रूपले गर्वको विषय हुन्छ । ऐतिहासिक आदर्श विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा, एसईईमा सहभागी १ सय २४ विद्यार्थीमा १७ जनाले विशिष्ट जीपीए, ७८ जनाले उत्कृष्ट र बाँकीले राम्रो जीपीए प्राप्त गरे ।


उक्त विद्यालयमा विज्ञान, व्यवस्थापन र शिक्षा संकायमा एघार कक्षामा भर्ना हुनलाई मंगलबार बिहान प्रवेश परीक्षामा सहभागी भएका विभिन्न शिक्षण संस्थाका १ सय ६० बालबालिकामा आधाभन्दा बढी राम्रो जीपीए ल्याएर उत्तीर्ण खातापिता घरपरिवारकै थिए ।


उनीहरू झरीको समेत परवाह नगरी परीक्षा दिन आएका थिए । विराटनगरका महँगा तथा प्रतिष्ठित कलेजले लिएको प्रवेश परीक्षामा उत्तीर्ण गरिसकेका बालबालिकाले समेत यहाँ जाँच दिएको विद्यालयका सहप्राचार्य भगिरथ पोखरेलले बताए ।


‘छोरा रोशनले यहाँका तीन वटै नाम चलेका निजी विद्यालयको प्रवेश परीक्षा उत्तीर्ण गर्‍यो,’५० वर्षीय भानुभक्त भट्टराईले भने, ‘कडा प्रतिस्पर्धा रहेको आदर्शको प्रवेश परीक्षामा पनि सफल भयो ।’ पूर्वप्रहरी उनी विराटनगर पोखरियाका बासिन्दा हुन् । उनले आर्थिक, शैक्षिक, उपलब्ध साधनस्रोत र राम्रो भविष्यको दृष्टिकोणले आदर्श उपयुक्त लागेको बताए ।


‘यति ठूलो विद्यालयमा नाम निकालेरै पढ्न पाएकामा छोरो पनि खुसी छ,’ भट्टराईले भने, ‘पहिला त सरकारीमा भन्दै जाँच दिनै मानेको थिएन, यहाँ आएपछि अन्यत्र जानै मानेन ।’ यस्तो निर्णय गर्ने भट्टराई परिवार एक्ला होइनन् ।


विराटनगरसँगै जोडिएको मोरङको ग्रामथान गाउँपालिका–३, झोराहाटका सम्पन्न किसान ३८ वर्षीय राजेश चौधरीले पनि छोरी तनुजालाई आदर्शमै पढाउने बताए । स्थानीय एक प्रतिष्ठित निजी विद्यालयबाट उत्कृष्ट जीपीए अंक ल्याई उत्तीर्ण छोरीले कहलिएका सबै निजी एवं सामुदायिक विद्यालय/कलेजको प्रवेश परीक्षामा नाम निकालेकी छन् ।


‘भविष्यमा पाउने विभिन्न सरकारी सुविधा, छात्रवृत्ति र अवसरलाई मनन गर्दा सामुदायिक विद्यालय र त्यसमा पनि सुविधा सम्पन्न आदर्श विद्यालय नै मन पर्‍यो,’ उनले भने, ‘छोरी, श्रीमती र नातागोता पनि खुसी छन् ।’ चौधरीकी श्रीमती स्थानीय एक प्राथमिक विद्यालयकी शिक्षिका हुन् ।


जाँच दिएका १ सय ६० छात्रछात्रामध्ये १ सय ४५ जनाले उत्तीर्ण गरेको आदर्श विद्यालयको प्रवेश परीक्षाका नियन्त्रक (नेपाली शिक्षक) सन्तोष पोखरेलले बताए । ‘परीक्षा फल निकै रोचक रह्यो, एसईईमा ए प्लस ल्याएकालाई समेत ए र बी प्लस ल्याउनेले जितेको देखियो,’ उनले भने ।


सहप्राचार्य पोखरेलले प्रवेश परीक्षामा सबैभन्दा बढी प्राप्तांक ल्याउने तीन जनालाई पूर्ण छात्रवृत्ति, अर्धछात्रवृत्ति र आंशिक छात्रवृत्ति दिइने बताए । यो बाहेक बर्सेनि दसैंको आसपास विपन्न, दलित र जेहनदारका हकमा छात्रवृत्ति प्रदान गर्नलाई सूचना निकालेरै आवेदनसमेत माग गर्दै आएको प्राचार्य तुलसी दुलालले बताए ।


तीनवटै संकायमा २ सय ८० विद्यार्थी पढाउन सक्ने क्षमता भएको उक्त विद्यालयले अन्य निजी शैक्षिक संस्थाझैं प्रवेश परीक्षा गराउन भने हतार गरेन । प्राचार्य दुलालले अन्धो प्रतिस्पर्धाको चक्करमा हुलमुलमा प्रवेश परीक्षा गराउँदा असल एवं मिहिनेती विद्यार्थी छान्न नसकिने बताए ।


‘प्रवेश परीक्षा फाराम आह्वान गरी रातारात जाँच गराएनौँ, नानीबाबुलाई केही दिन पढ्ने समय दियौँ,’ उनले भने, ‘यो परीक्षा पनि उत्कृष्टता प्रमाणित गर्ने अर्को मौका हो, विभिन्न कारणले कत्तिको एसईई बिग्रेको पनि हुन सक्छ ।’


विज्ञान, शिक्षा र व्यवस्थापन विषयमा बार कक्षासम्मै पढाउने उक्त विद्यालयले यही शैक्षिक सत्रदेखि ऐच्छिक विषयको रुपमा कम्प्युटर विज्ञानलाई समेत समावेश गरेको छ । ‘भौतिक पूर्वाधार/शिक्षक छँदै थिए, अभिभावक र विद्यार्थीबाट निकै माग भएकाले यसपालिदेखि कम्प्युटर विज्ञान राख्यौं,’ प्राचार्य दुलालले भने ।


पहिलादेखि तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ (डिकम) समेत पढाइ हुने यो विद्यालयमा तीन कम्प्युटर प्रयोगशाला, तीन विज्ञान प्रयोगशाला र अधिकांश कक्षाकोठामा प्रोजेक्टर छ । १ बिघा १६ कठ्ठा ९ धुर जग्गामा फैलिएको उक्त विद्यालयमा पुरानो र नयाँ गरी ४० कक्षाकोठा छन् ।


ऐतिहासिक गरिमा बोकेको साढे आठ दशक पुरानो उक्त विद्यालयमा ४२ जना उत्कृष्ट विषय शिक्षक उपलब्ध छन् । वर्षेनी सुधारिँदै गएको शैक्षिक गुणस्तरका कारणले तीन वर्षमै यहाँ विद्यार्थी संख्यासमेत ६ सय ५० बाट बढेर झन्डै तीन गुना पुगेको छ ।


कुनै बेला सामान्य विषय र १५ महिने सूचना प्रविधिको मात्र पढाइ हुने यस विद्यालयमा एसएलसी/एसईई उत्तीर्णले सहज शुल्कमा तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिंग (डिकम) पढ्न पाउँछन् । शैक्षिक गुणस्तरमा सुधार, अभिभावकको चाहना एवं युगको मागअनुरूप अंग्रेजी माध्यममा पठ्नपाठन र नेपाली माध्यममा समेत प्रतिस्पर्धाको भावनाले विद्यालयले फरक छवि बनाएको हो ।


राणाकालीन विषम परिस्थितिमा सामाजिक जागरण र राजनीतिक परिवर्तनका लागि पिताजी कृष्णप्रसाद कोइरालाले १९८६ को वसन्तपञ्चमीमा आदर्श विद्यालय स्थापना गरेका थिए । नेपाली माध्यममा मात्र पढाइरहेको उक्त विद्यालयमा २०७३ मा कक्षा–५ देखि ९ सम्म छुट्टै अंग्रेजी माध्यम सुरु हुँदा प्रवेश परीक्षामा सहभागी विभिन्न विद्यालयका ५ सय विद्यार्थीमध्ये ३ सयले मात्र भर्ना पाउन सफल भए ।


२०७४ मा आवेदन दिएका ६ सयमध्ये २ सय छनोट भए भने २०७५ मा प्रवेश परीक्षामा बसेका ६ सय ६७ मध्ये ३ सय ९ जनाले भर्ना पाए । उक्त विद्यालयले बोर्डिङमा पढाउन नसक्ने गरिब मातापिताको चाहनाअनुरूप २०७३ मै नेपाली माध्यमतर्फ समेत शिशु र कक्षा १ मा अंग्रेजीमा पढाइ थाल्यो ।


कक्षा–२, ३ र ४ मा विज्ञान एवं गणित विषय अंग्रेजी माध्यममै राख्यो । २०७४ मा नर्सरीदेखि कक्षा–४ सम्म पुरै अंग्रेजीमा पठनपाठन थाल्यो । पुस्तक नि:शुल्क उपलब्ध गरायो । अहिले २०७५ मा आएर दुवैतिर नर्सरीदेखि १० कक्षासम्म अंग्रेजी माध्यममा पढाइ भइरहेको छ ।


तीन वर्षमै विद्यालय भौतिक पूर्वाधारले सम्पन्न भएको छ । साइकल/मोटरसाइकल पार्किङ छ । पहिलाजस्तो वर्षामा चौर हिलामय भएर हातमा जुत्ताचप्पल बोक्ने स्थिति छैन ।


टायलसहितको आवागमन मार्ग निर्माण भएको छ । अहिले विद्यालयमा जेनरेटर कक्ष, पालेघर, सबै शिक्षकका लागि ल्यापटप, कक्षाकोठामा प्रोजेक्टर, सीसीटीभी क्यामेरा, दराज, कुर्सी, प्रशोधित पिउने पानी र हवाइट बोर्डजस्तो प्रविधि छ ।

प्रकाशित : असार २०, २०७५ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?