भौतिक पूर्वाधारलाई प्राथमिकता

स्थानीय तहको एक वर्ष
डम्बरसिं राई

खोटाङ — स्थानीय तह कार्यान्वयनमा आएको एक वर्ष भएको छ । यो अवधिमा खोटाङका सबै (२ नगरपालिका र ८ गाउँपालिका) ले सडकलागयत भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर काम थालेका छन् ।

सडकलाई प्राथमिकतामा राखेर काम गरिए पनि कतिपय सडक गुणस्तरहीन बनेको स्थानीयको गुनासो छ । कतिपय गाउँपालिका अध्यक्ष भने आफ्नै एक्साभेटर भएकाले आफैंले काम गर्न पनि सडक खनिएको स्थानीयको आरोप छ । एक्जाभेटर नहुने पालिका अध्यक्षले समेत कमिसनको लोभमा सडकलाई प्राथमिकता दिएको स्थानीयको गुनासो छ ।

केपिलासगढीमा जताततै सडक खनिए पनि प्राकृतिक सम्पदा नष्ट हुनका साथै गुणस्तरहीन भएको स्थानीयको गुनासो छ । सुङेलदेखि सालपासम्म सडक खनिँदा प्राकृतिक स्रोत नष्ट हुने भएकाले उक्त सडक खन्न नहुने स्थानीयको भनाइ छ ।

‘आगामी आर्थिक वर्ष सडकमा बजेट कम गरिएको छ,’ जताततै सडक खनिनु र गुणस्तरहीन भएको भन्ने गुनासोप्रति जिज्ञासामा राईले भने, ‘आगामी आवमा स्तरोन्नतिको काम मात्र हुन्छ ।’ राईका अनुसार केपिलासगढी गाउँपालिकामा १५ करोड ६५ लाख बजेटमध्ये ९० प्रतिशत खर्च भएको छ ।

साकेला, दिप्रुङ चुइचुम्मा, बराहापोखरी, जन्तेढुंगा गाउँपालिकामा पनि सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको थियो । त्यसै आधारमा काम भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईका अनुसार २८ करोड ५८ लाख ५२ हजारमध्ये करिब ९० प्रतिशत खर्च भएको छ । यसमध्ये सडक खन्न छुट्टयाइएको बजेट लगभग सकिएको राईले बताए । खोटेहाङ गाउँपालिकामा भने सडक स्तरोन्नतिलाई बढी प्राथमिकतामा राखिएको थियो ।

ऐंसेलुखर्क र रावाबेसी गाउँपालिकामा पनि सडकलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको थियो । ऐंसेलुखर्क गाउँपालिकामा २४ करोड ७० लाख रुपैयाँमध्ये करिब ९५ प्रतिशत खर्च भएको ऐसेलुखर्क गाउँपालिकाका कार्यकारी अधिकृत जीवन निरौलाले बताए । त्यस्तै रावाबेसी गाउँपालिका कार्यकारी अधिकृत प्रज्वल घिमिरेका अनुसार १७ करोड ७७ लाख ४४ हजार रुपैयाँ बजेटमध्ये ९५ प्रतिशत खर्च भइसकेको छ । उक्त बजेट सडकलाई प्राथमिकतमा राखेर विनियोजन गरिएको घिमिरेले सुनाए ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा पनि सडक नै पहिलो प्राथमिकतामा परेको थियो । उक्त नगरपालिकामा ६० करोड ५४ लाख ६३ हजारमध्ये करिब ५१ करोड ७२ लाख ९९ हजार ६ सय खर्च भएको लेखापाल सन्तोष बन्जराले बताए ।

हलेसी तुवाचुङ नगरपालिकामा पनि सडकलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको थियो । प्राविधिक हिसाबले गुणस्तरहीन तीव्र भए पनि उक्त पालिकाको २४ करोड ७० लाख रुपैयाँमध्ये लगभग ९० प्रतिशत सकिएको हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राईले सुनाए । उनका अनुसार नगरपालिकामा सडक, विद्युत् र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ ।

बरु जिल्ला समन्वय समिति संयोजक बबि चाम्लिङलगायत जनप्रतिनिधिको संलग्नतामा मझुवागढीलगायत पुरातात्त्विक सम्पदा तथा वन क्षेत्र भने नष्ट पारिएको छ ।

प्रकाशित : असार १८, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्

पानी अभावले बसाइँसराइ

चन्द्र कार्की

बाँसपानी (तेह्रथुम) — गाउँमा भएका पानीका मुहान सुक्ने क्रम नरोकिएपछि छथर गाउँपालिका बाँसपानीका दुई दर्जन परिवार एकसाथ पूर्वी तराई तर्फ बसाइँ गएका छन् । गाउँभरका पानीका मुहान सुकेपछि उनीहरूले थातथलो छाडेका हुन् ।

गाउँका मुहान सुकेर पिउने पानी अभाव भएपछि आफ्नो घरबारी छाडेर पानी खोज्दै तराईतर्फ बसाइँ सरेपछि खाली रहेको तेह्रथुमको छथर गाउँपालिका ओख्रे बाँसपानीका पुण्यबहादुर न्यौपानेको घर । तस्बिर : कान्तिपुर

सुक्खाग्रस्त यो गाउँमा रहेका पानीका मुहान सुकेर पिउने पानीको समेत हाहाकार भएको छ । यही कारण गाउँलेहरू तराई झरेको स्थानीय टीकाराम बस्नेतले बताए । ‘पानी नै खान नपाएपछि को बस्छ गाउँमा ?’ उनले भने, ‘भएका गाउँलेहरू पनि पानी खोज्दै तराईतर्फ नै जाने तयारीमा छन् ।’

५ वर्षअघिसम्म गाउँका खोल्साखोल्सीमा रहेका पानीका मुहान पनि सुकेको उनले बताए । दशकयता सुक्न थालेका गाउँका पानीका मुहान यो वर्ष सबैजसो सुकेका छन् । गाउँमा पिउने पानी नै नभएपछि हरीमाया न्यौपाने, खड्गबहादुर न्यौपाने, खगेन्द्र न्यौपाने, नगेन्द्र कार्की र पुन्य न्यौपानेको परिवार गाउँ छोडेर पूर्वी तराईतर्फ बसाइँ गएको स्थानीय रन्नदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक केदार बस्नेतले बताए ।

‘अरू दुई दर्जन परिवार पनि गाउँ छोडेर बसाइँ जाने तयारीमा छन्,’ उनले भने, ‘पाँच वर्षको अवधिमा गाउँ नै खाली हुन आँट्यो ।’ गाउँमा अन्यत्रबाट ल्याउने पानीको स्रोत पनि नभएको र भएका पानीका मुहान, पोखरी, खोलानाला तथा चिस्यान र सिमसार क्षेत्र समेत सुकेपछि गाउँका प्रत्येक परिवार घर गाउँ छोडै बसाएँ जान थालेको बाँकी रहेका गाउँलेहरू बताउँछन् ।

सात वर्षअघिसम्म ८३ घर रहेको यो गाउँमा अहिले यो संख्या घटेर आधाआधीमा झरेको प्रअ बस्नेतले बताए । वारिपारिका गाउँलेहरूका खेतबारीमा यति बेला आलु, साग, मकै गहुँ लगायतका खेतीबाली लहलहाइरहेका छन् । तर यो गाउँमा भने पानी अभावमा गाउँभरिका खेतीयोग्य जमिनमा धूलो मात्र उडिरहेको छ । ‘पानी परेन भने त एक दानो अन्न पनि फल्दैन,’ स्थानीय जगतबहादुर घोर्सानेले भने, ‘अब यो वर्षभरि के खाएर बाँच्ने भन्ने चिन्ताले सारा गाउँलेलाई सताउन थालिसकेको छ ।’ गाउँलेका अधिकांश खेतबारी अहिलेसम्म बाँझै छन् ।

गाउँमा रहेका केरापानी, देवीथान, ठोक्रे खोला लगायतका स्थानमा रहेका आधा दर्जन बढी पानीका मुहान एकैपटक सुकेका छन् । अहिले एक गाग्री पानी ल्याउन गाउँलेहरू एक घण्टा टाढाको अँधेरी खोलामा जाने गर्छन् । ‘जाँदा एक घण्टा लाग्छ,’ प्रअ बस्नेतले भने, ‘पानी बोकेर आउँदा दुई घण्टा समय बित्छ ।’ अहिले यो खोलामा पनि पानी सुक्दै गएको उनले बताए । आधा दशकअघिसम्म धान फल्ने यहाँका खेतमा अहिले पानी अभावमा किर्ने काँडाले ढाकेको छ । पानी अभावमा गाउँभरिका किसानको ५ हजार बढी रोपनी क्षेक्रफलको खेत बाँझै रहेको गाउँलेको भनाइ छ । खेती लगाउन नपाएपछि प्रत्येक वर्ष अन्न उत्पादन समेत घटदै गएको गाउँलेको भनाइ छ ।

सवैभन्दा दु:खको कुरा त यहाँबाट बसाइँ सरेर तराईतर्फ गएका कसैले पनि गाउँमा रहेको आफ्नो जग्गाजमिन बिक्री गरेका छैनन् । यी सवै जसो जग्गा अहिले बाँझै छन् । ‘कमाइ लगाएर गरी खा भन्दा पनि कोही तयार हँुदैनन्,’ स्थानीय टीकाराम बस्नेतले भने । बस्नेतका अनुसार यो गाउँमा विगत एक दशकअघिदेखि जग्गाको किनबेच ठप्प छ । पानी नै नभएपछि पूरै गाउँ मरुभूमिजस्तै भएको दुखेसो उनले पोखे ।

गाउँका प्रत्येक परिवारसँग जग्गाजमिन प्रशस्त भए पनि आफ्नो उत्पादनले कसैलाई पनि वर्षको ६ महिनाभन्दा बढी समय खान पुग्दैन । यहाँ आफ्नो जग्गा प्रशस्त रहेका गाउँलेहरू तराईमा गएर अर्काकोमा अँधिया र कुतमा खेती गरेर जीवन गुजरा गरिरहेका छन् । पानी अभावमा गाउँलेहरू पानीबिनाको माछाजस्तै छटपटिरहेका छन् । गाउँमा पानीको व्यवस्था गरेर गाउँलेलाई बसाइँसराइबाट रोक्ने काममा गाउँपालिकाले काम गरिरहेको छथर गाउँपालिका अध्यक्ष सन्तविर लिम्बूले बताए ।

प्रकाशित : असार १८, २०७५ १०:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्