मल अभावले रोपाइँ प्रभावित

देवनारायण साह

मोरङ — मल अभावमा धान रोपाइँ प्रभावित भएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले कृषि मल खरिदमा गरेको ढिलाइले समस्या भएको हो ।

मोरङको जहदा ३ मा सिंघिया खोलाबाट पम्पसेटले सिँचाइ गरी रोपाईं गरिँदै । तस्बिर : देवनारायण

जहदा ३ का किसान कुलदीप साहले मलको अभावमा रोपाइँमा समस्या भएको बताए । ‘समयमा वर्षा नभएपछि सिंघिया खोलाबाट ७ दिनदेखि लगातार पम्पसेट चलाएर सिँचाइ गरी खेत हिल्याएर रोपाइँ गर्न ठीक पारेको तर मल अभावमा दुई दिन ढिला भयो,’ उनले भने । उनले ३ बिघामा धान खेती गर्दै आएको बताए । ‘उक्त जग्गामध्ये ७ दिनमा ४५ लिटर डिजेल पम्पसेटमा जलाएर डेढ बिघामा सिँचाइ गरेर हिल्याएँ,’ उनले भने, ‘डिजेल पाउन पनि निकै समस्या भएको छ । वडाको सिफारिस लिएर गएपछि मात्रै पेट्रोल पम्पले सिँचाइका लागि पम्पसेट चलाउन ग्यालेनमा डिजेल दिने गरेको छ ।’

विराटनगर १२ का भोला सिंहले समयमै वर्षा नभएपछि ३ दिनदेखि लगातार बोरिङबाट पम्पसेट चलाएर सिँचाइ गरी आइतबारबाट धान रोपाइँ थालेको सुनाए । ‘रोपाइँ सुरु गरे पनि डीएपी मल अभाव छ,’ उनले भने, ‘हिउँदे खेतिका लागि ल्याएको बाट बाँकी रहेको मल हालेर रोपाइँ सुरु गरें ।’ बजारमा एक सातादेखि दैनिक डीएपी मल खरिद गर्न गए पनि नपाएपछि रित्तै फर्किन बाध्य भएको उनको गुनासो छ ।

कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय विराटनगरले डीएपी मल अभाव रहेको स्विकारेको छ । कार्यालयका वरिष्ठ अधिकृत नवरत्न गौतमले यस वर्ष मल खरिदमा भएको ढिलाइले समयमा डीएपी नआउँदा केही समस्या भएको स्विकारे ।

उनले आवश्यकताअनुसार सहकारीहरूलाई मल वितरण भइरहेको बताए । ‘मोरङमा आइतबारसम्म युरिया मल ३ हजार ५ सय ८५ दशमलव ८ सय ५०, डीएपी २ सय ९६ दशमलव १ सय ५० र पोटास १ सय ५२ दशमलव ५ सय ५० मेट्रिकटन रहेको र त्यो बिक्री वितरण भइरहेको छ,’ उनले भने, ‘कम्पनीले खरिद गरेको मल बिशाखापटनमबाट २५ सय मेट्रिकटन बोकेर रेल वीरगन्ज आइरहेको खबर आएकाले एक सातासम्ममा यहाँ पर्याप्त मल उपलब्ध हुने अवस्था छ ।’

उनले कृषि सामग्री कम्पनीको क्षेत्रीय कार्यालय विराटनगरले मोरङका लागि मल वितरण गर्नुका साथै पूर्वाञ्चलस्थित कम्पनीको कार्यालयहरू लहान, राजविराज, गाईघाट, इटहरी, धनकुटा, बिर्तामोड, इलामलाई आवश्यक परेका बेला मल पठाउँदै आएको बताए । मोरङमा वार्षिक ८ हजार मेट्रिकटन युरिया, ६ हजार डीएपी र ३ सय मेट्रिकटन पोटास आवश्यक हुने गरेको उनको भनाइ छ । प्रकाशित : असार १८, २०७५ १०:००

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

मौलिक पहिरन जोगाउँदै महिला

कान्तिपुर संवाददाता

दमक — धिमाल समुदायका महिलाहरू मौलिक पोसाक संरक्षणमा जुटेका छन् । आधुनिकताका कारण संकटमा पर्दै गएपछि उनीहरू संरक्षणमा लागेका हुन् ।

धिमाल महिलाहरूले लगाउने ‘दाबोना’ अर्थात् पेटानी नयाँ पुस्तामाझ आकर्षण बढाउन उनीहरूले गाउँमै पेटानी बुन्ने गरेका छन् । दमक नगरपालिका ३ दोघरेमा धिमाल महिला समाजले ‘दाबोना उद्योग’ स्थापना गरेको छ ।

उक्त उद्योगमा अहिले १० तान छन् । स्थानीय धिमाल महिलाहरूले आफू र परिवारका लागि आवश्यक पर्ने पेटानी त्यही बुन्ने गर्छन्। व्यावसायिक रूपमा पेटानी बनाउन चाहनेलाई दैनिक ज्यालासमेत दिने गरिएको छ ।

‘हाम्रो जातीय पहिचान झल्काउने एउटा ठूलो आधार हो, महिलाहरूले लगाउने पेटानी’ स्थानीय हरिलाल धिमालले भने, ‘तर, यही पेटानी लोप हुने खतरा बढेपछि हामीले गाउँमै उद्योग स्थापना गरेका हौं ।’ उनले पछिल्लो ६ वर्षदेखि धिमाल महिलालाई आवश्यक पर्ने पेटानी उत्पादन गर्दै आएको बताए । उद्योग स्थापना भएपछि २ सय बढीले तालिम लिएको उनले बताए ।

आफ्ना लागि पेटानी बनाउँदै गरेकी गंगा धिमालले गाउँमा उद्योग स्थापना भएर जातीय पोसाक लगाउन पाएकोमा खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘घरनजिकै उद्योग भएकाले आफ्ना लागि पेटानी बनाउन भ्याएका छौं ।’

उनका अनुसार ढिलोमा २ दिनमा एउटा पेटानी तयार गर्न सकिन्छ । धिमाल महिलाहरूले ४ किसिमका पेटानी लगाउने गर्छन् । दाबोना, इटाङ्गी, पातलोई र सामोढी पेटानी हुन्छ । पेटानी बुनाउने तालिम लिइरहेकी शान्ति धिमालका अनुसार दाबोना पेटानीको बजार मूल्य दुई हजार ५ सय पर्छ भने इटाङ्गी, पातलोई र सामोढी एक हजार ५ सय प्रतिगोटा पर्दछ ।
पेटानी बनाउने तानको मूल्य धेरै भएकाले उद्योगमा पेटानीको माग पछिल्लो समय बढदै गएको उनले बताइन् । उनले एउटा तानको मूल्य २५ हजार पर्ने गरेको बताइन् ।

‘तान राखेर घरमै पेटानी बनाउन सबैका लागि सहज हँुदैन । बजारमा धिमाल पेटानी खोजेजस्तो नपाइने गरेकाले लोप हुने अवस्था थियो,’ उनले भनिन्, ‘उद्योग स्थापनापछि धेरै सजिलो भएको छ । हामीले काम पनि पाएका छौं ।’ उद्योगमा पेटानी बनाउन सिक्न आउनेलाई धिमाल महिला समाजकी अध्यक्ष शान्ति धिमालले सिकाउने गरेकी छन् । मेडेप नेपाल र घरेलु तथा साना उद्योग कार्यालयको सहयोगमा उद्योग सञ्चालन गर्दै आएको उनले बताइन्। पेटानी धिमाल महिलाले लगाउने प्रमुख पोसाक हो ।

प्रकाशित : असार १८, २०७५ ०९:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×