पानी अभावले बसाइँसराइ

चन्द्र कार्की

बाँसपानी (तेह्रथुम) — गाउँमा भएका पानीका मुहान सुक्ने क्रम नरोकिएपछि छथर गाउँपालिका बाँसपानीका दुई दर्जन परिवार एकसाथ पूर्वी तराई तर्फ बसाइँ गएका छन् । गाउँभरका पानीका मुहान सुकेपछि उनीहरूले थातथलो छाडेका हुन् ।

गाउँका मुहान सुकेर पिउने पानी अभाव भएपछि आफ्नो घरबारी छाडेर पानी खोज्दै तराईतर्फ बसाइँ सरेपछि खाली रहेको तेह्रथुमको छथर गाउँपालिका ओख्रे बाँसपानीका पुण्यबहादुर न्यौपानेको घर । तस्बिर : कान्तिपुर

सुक्खाग्रस्त यो गाउँमा रहेका पानीका मुहान सुकेर पिउने पानीको समेत हाहाकार भएको छ । यही कारण गाउँलेहरू तराई झरेको स्थानीय टीकाराम बस्नेतले बताए । ‘पानी नै खान नपाएपछि को बस्छ गाउँमा ?’ उनले भने, ‘भएका गाउँलेहरू पनि पानी खोज्दै तराईतर्फ नै जाने तयारीमा छन् ।’

५ वर्षअघिसम्म गाउँका खोल्साखोल्सीमा रहेका पानीका मुहान पनि सुकेको उनले बताए । दशकयता सुक्न थालेका गाउँका पानीका मुहान यो वर्ष सबैजसो सुकेका छन् । गाउँमा पिउने पानी नै नभएपछि हरीमाया न्यौपाने, खड्गबहादुर न्यौपाने, खगेन्द्र न्यौपाने, नगेन्द्र कार्की र पुन्य न्यौपानेको परिवार गाउँ छोडेर पूर्वी तराईतर्फ बसाइँ गएको स्थानीय रन्नदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक केदार बस्नेतले बताए ।

‘अरू दुई दर्जन परिवार पनि गाउँ छोडेर बसाइँ जाने तयारीमा छन्,’ उनले भने, ‘पाँच वर्षको अवधिमा गाउँ नै खाली हुन आँट्यो ।’ गाउँमा अन्यत्रबाट ल्याउने पानीको स्रोत पनि नभएको र भएका पानीका मुहान, पोखरी, खोलानाला तथा चिस्यान र सिमसार क्षेत्र समेत सुकेपछि गाउँका प्रत्येक परिवार घर गाउँ छोडै बसाएँ जान थालेको बाँकी रहेका गाउँलेहरू बताउँछन् ।

सात वर्षअघिसम्म ८३ घर रहेको यो गाउँमा अहिले यो संख्या घटेर आधाआधीमा झरेको प्रअ बस्नेतले बताए । वारिपारिका गाउँलेहरूका खेतबारीमा यति बेला आलु, साग, मकै गहुँ लगायतका खेतीबाली लहलहाइरहेका छन् । तर यो गाउँमा भने पानी अभावमा गाउँभरिका खेतीयोग्य जमिनमा धूलो मात्र उडिरहेको छ । ‘पानी परेन भने त एक दानो अन्न पनि फल्दैन,’ स्थानीय जगतबहादुर घोर्सानेले भने, ‘अब यो वर्षभरि के खाएर बाँच्ने भन्ने चिन्ताले सारा गाउँलेलाई सताउन थालिसकेको छ ।’ गाउँलेका अधिकांश खेतबारी अहिलेसम्म बाँझै छन् ।

गाउँमा रहेका केरापानी, देवीथान, ठोक्रे खोला लगायतका स्थानमा रहेका आधा दर्जन बढी पानीका मुहान एकैपटक सुकेका छन् । अहिले एक गाग्री पानी ल्याउन गाउँलेहरू एक घण्टा टाढाको अँधेरी खोलामा जाने गर्छन् । ‘जाँदा एक घण्टा लाग्छ,’ प्रअ बस्नेतले भने, ‘पानी बोकेर आउँदा दुई घण्टा समय बित्छ ।’ अहिले यो खोलामा पनि पानी सुक्दै गएको उनले बताए । आधा दशकअघिसम्म धान फल्ने यहाँका खेतमा अहिले पानी अभावमा किर्ने काँडाले ढाकेको छ । पानी अभावमा गाउँभरिका किसानको ५ हजार बढी रोपनी क्षेक्रफलको खेत बाँझै रहेको गाउँलेको भनाइ छ । खेती लगाउन नपाएपछि प्रत्येक वर्ष अन्न उत्पादन समेत घटदै गएको गाउँलेको भनाइ छ ।

सवैभन्दा दु:खको कुरा त यहाँबाट बसाइँ सरेर तराईतर्फ गएका कसैले पनि गाउँमा रहेको आफ्नो जग्गाजमिन बिक्री गरेका छैनन् । यी सवै जसो जग्गा अहिले बाँझै छन् । ‘कमाइ लगाएर गरी खा भन्दा पनि कोही तयार हँुदैनन्,’ स्थानीय टीकाराम बस्नेतले भने । बस्नेतका अनुसार यो गाउँमा विगत एक दशकअघिदेखि जग्गाको किनबेच ठप्प छ । पानी नै नभएपछि पूरै गाउँ मरुभूमिजस्तै भएको दुखेसो उनले पोखे ।

गाउँका प्रत्येक परिवारसँग जग्गाजमिन प्रशस्त भए पनि आफ्नो उत्पादनले कसैलाई पनि वर्षको ६ महिनाभन्दा बढी समय खान पुग्दैन । यहाँ आफ्नो जग्गा प्रशस्त रहेका गाउँलेहरू तराईमा गएर अर्काकोमा अँधिया र कुतमा खेती गरेर जीवन गुजरा गरिरहेका छन् । पानी अभावमा गाउँलेहरू पानीबिनाको माछाजस्तै छटपटिरहेका छन् । गाउँमा पानीको व्यवस्था गरेर गाउँलेलाई बसाइँसराइबाट रोक्ने काममा गाउँपालिकाले काम गरिरहेको छथर गाउँपालिका अध्यक्ष सन्तविर लिम्बूले बताए ।

प्रकाशित : असार १८, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्

मल अभावले रोपाइँ प्रभावित

देवनारायण साह

मोरङ — मल अभावमा धान रोपाइँ प्रभावित भएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले कृषि मल खरिदमा गरेको ढिलाइले समस्या भएको हो ।

मोरङको जहदा ३ मा सिंघिया खोलाबाट पम्पसेटले सिँचाइ गरी रोपाईं गरिँदै । तस्बिर : देवनारायण

जहदा ३ का किसान कुलदीप साहले मलको अभावमा रोपाइँमा समस्या भएको बताए । ‘समयमा वर्षा नभएपछि सिंघिया खोलाबाट ७ दिनदेखि लगातार पम्पसेट चलाएर सिँचाइ गरी खेत हिल्याएर रोपाइँ गर्न ठीक पारेको तर मल अभावमा दुई दिन ढिला भयो,’ उनले भने । उनले ३ बिघामा धान खेती गर्दै आएको बताए । ‘उक्त जग्गामध्ये ७ दिनमा ४५ लिटर डिजेल पम्पसेटमा जलाएर डेढ बिघामा सिँचाइ गरेर हिल्याएँ,’ उनले भने, ‘डिजेल पाउन पनि निकै समस्या भएको छ । वडाको सिफारिस लिएर गएपछि मात्रै पेट्रोल पम्पले सिँचाइका लागि पम्पसेट चलाउन ग्यालेनमा डिजेल दिने गरेको छ ।’

विराटनगर १२ का भोला सिंहले समयमै वर्षा नभएपछि ३ दिनदेखि लगातार बोरिङबाट पम्पसेट चलाएर सिँचाइ गरी आइतबारबाट धान रोपाइँ थालेको सुनाए । ‘रोपाइँ सुरु गरे पनि डीएपी मल अभाव छ,’ उनले भने, ‘हिउँदे खेतिका लागि ल्याएको बाट बाँकी रहेको मल हालेर रोपाइँ सुरु गरें ।’ बजारमा एक सातादेखि दैनिक डीएपी मल खरिद गर्न गए पनि नपाएपछि रित्तै फर्किन बाध्य भएको उनको गुनासो छ ।

कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय विराटनगरले डीएपी मल अभाव रहेको स्विकारेको छ । कार्यालयका वरिष्ठ अधिकृत नवरत्न गौतमले यस वर्ष मल खरिदमा भएको ढिलाइले समयमा डीएपी नआउँदा केही समस्या भएको स्विकारे ।

उनले आवश्यकताअनुसार सहकारीहरूलाई मल वितरण भइरहेको बताए । ‘मोरङमा आइतबारसम्म युरिया मल ३ हजार ५ सय ८५ दशमलव ८ सय ५०, डीएपी २ सय ९६ दशमलव १ सय ५० र पोटास १ सय ५२ दशमलव ५ सय ५० मेट्रिकटन रहेको र त्यो बिक्री वितरण भइरहेको छ,’ उनले भने, ‘कम्पनीले खरिद गरेको मल बिशाखापटनमबाट २५ सय मेट्रिकटन बोकेर रेल वीरगन्ज आइरहेको खबर आएकाले एक सातासम्ममा यहाँ पर्याप्त मल उपलब्ध हुने अवस्था छ ।’

उनले कृषि सामग्री कम्पनीको क्षेत्रीय कार्यालय विराटनगरले मोरङका लागि मल वितरण गर्नुका साथै पूर्वाञ्चलस्थित कम्पनीको कार्यालयहरू लहान, राजविराज, गाईघाट, इटहरी, धनकुटा, बिर्तामोड, इलामलाई आवश्यक परेका बेला मल पठाउँदै आएको बताए । मोरङमा वार्षिक ८ हजार मेट्रिकटन युरिया, ६ हजार डीएपी र ३ सय मेट्रिकटन पोटास आवश्यक हुने गरेको उनको भनाइ छ ।

प्रकाशित : असार १८, २०७५ १०:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्