कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कोरियाबाट फर्केर उद्यमी बने युवा

प्रदीप मेन्याङबो

सुन्दर हरैंचा (मोरङ) — पाँच वर्षसम्म काम गरेर फर्केपछि मोरङको विराटचोकका जीवन लिम्बु र नरेश लिम्बुले फेरि कोरिया जानकालागि इपिएसको फर्म भरेनन् । बरु उनीहरूले खोर्सानेमा साझेदारीमा थुक्पा उद्योग संचालन गरे ।

कोरियाबाट फर्केर उद्यमी बने युवा

कोरियामा रहदा मालिकको इशारामा खटेजस्तै नेपालमा आफ्नै लगानीमा आफै मालिक र मजदुर भएर बुद्धि र विवेक प्रयोग गरेर रातदिन खटेमा जुनसुकै योजनामा सफलता हात पार्न सकिन्छ भन्ने ‘गुरु ज्ञान’ प्राप्त गरेको आधारमा थुक्पा उद्योग सुरु गरेको हो ।

बैधानिक रुपमा जेएन नडुल्स उद्योग दर्ता गरेर थुक्पा उत्पादन गर्न थालेको करिव चार महिना भयो । चारमहिनाको अवधिमा उनीहरूले नसोचेको तथ्य फेला पारे । करिव १० लाख रुपैया लगानी गरेर सुरु गरेको थुक्पा उद्योगबाट उत्पादित थुक्पाको माग अत्यधिक छ । तर माग अनुसार आपुर्ती गर्न नसकिएको जीवनले बताए । उनले भने, ‘साना साना थुक्पा उद्योग जता ततै छ । धेरैले संचालन गरेको थुक्पा उद्योगबाट उत्पादित थुक्पाको माग त्यति नहोला भन्ने लागेको थियो । तर बजारमा थुक्पाको माग यति धेरै रहेछ साना साना उद्योगले त आपुर्ती नै गर्न सकेका छैनन् रहेछ ।’

खाद्य उद्योग भएकाले सरसफाईमा बढी ध्यान दिदै लेवलिङ र प्याकेजिङ गरेका थुक्पाप्रति उपभोक्ताको आकर्षण बढेको उनीहरूले बताए । खुल्ला, विना लेवलिङ र प्याकेजिङका थुक्पा मात्र उत्पादन गरेका भए उपभोक्ताले प्रश्न गर्ने ठाउँ रहने भएकाले उपभोक्ताको खाद्य सुरक्षामा ध्यान दिएको नरेशले बताए ।

उनीहरूले आफ्नो उद्योगबाट उत्पादित थुक्पाको बजार धरानलाई बनाएका छन् । उद्योग संचालकमध्ये जीवनले भने, ‘पाच वर्ष कोरियाको अनुभव बटुलियो । परिवारको जीविका चलाउने र पाल्ने पैसा पनि कमाइयो । तर त्यहा खटेजत्तिकै आफ्नै मुलुकमा खट्ने हो भने वैदेशिक रोजगारका लागि विदेशको भर पर्नु पर्दैन भन्ने बुझेर साझेदारीमा थुक्पा उद्योग संचालन गरेको हो ।’

कोरियामा पाँच वर्ष रहँदा नरेश र जीवन सँगै रहे । नेपाल फर्केपछि के गर्ने भन्ने चिन्ताले उनीहरू दुवैलाई सताउने गरेको थियो । कोरिया जानुअगाडि जीवनसंग सुनचाँदी पसलमा पाच वर्ष काम गरेको अनुभव थियो । सोही अनुभवको आधारमा दुईजना मिलेर करिब ५० लाख रुपैया लगानी गरेर सुनचाँदी व्यवसाय गर्ने निधोसमेत गरेका थिए । तर उपयुक्त ठाउँ फेला नपारेपछि सानो घरेलु उद्योग संचालन गरेर आयआर्जन गर्ने निर्णय अनुसार थुक्पा उद्योग सुरु गरेको उनीहरूले बताए ।

धरान–१२ पानीट्यांकी चोकमा बस्दै आएका नरेशले भने, ‘ठूलो लगानीमा सुनचादी व्यबसाय गर्नु अलिक रिस्क लाग्यो । व्यवसाय गर्ने ठाउँ पनि भनेजस्तो पाइएन । बरु घरेलु उद्योग ठीक होला भनेर थुक्पा उद्योग सुरु गरियो ।’ जीवनले कोरियामा कमाएको रकमले सुन्दर हरैंचामा एकतले घर बनाए, झापा बुद्धशान्तिमा खेत किने ।

जीवनले भने, ‘कोरियाबाट फर्केपछि नेपालमा फेरि बेरोजगार जस्तै भइयो । अलिलि कमाको पैसा पनि घर खेतमा सकियो । केही रहेको रकमले सानोतिनो व्यवसाय गरेर कोरियामा खटेजस्तै खटियो भने किन हुँदैन भनेर यतातिर लागियो ।’ उनीहरूले पाँचजनालाई दैनिक रोजगारी पनि दिएको बताए ।

एक वर्षमा उद्योगले गति लिने भएकाले दैनिक २ हजार किलो थुक्पा उत्पादन गर्ने योजना बनाएको नरेशले बताए । उनले भने, ‘हाल दैनिक हजार किलो थुक्पाको माग छ तर हामीसँग नयाँ अनुभव भएकाले दैनिक तीनसय केजीमात्र आपूर्ति गर्न सकेका छौं । अझै व्यवस्थित रुपमा ५० लाख रुपैयाँभन्दा बढी लगानी गरेर थुक्पा उद्योग संचालन गर्न सकिने हो भने कोरियाले नेपालीलाई रोजगार दिएजस्तै हामी पनि स्वदेशमै सयौंलाई रोजगार दिन सक्छौं । किनकि थुक्पाको माग धेरै छ ।’

प्रकाशित : असार १४, २०७५ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?