१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

पुल नहुँदा सास्ती

विप्लव भट्टराई

इलाम — हिउँदमा टोलटोलमै मोटर पुगे पनि बर्खामा जिल्लाका कतिपय स्थानमा खोला तर्नै समस्या छ । कतै पक्की पुलको आवश्यकता छ भने कतै झोलुंगे पुल पनि नहुँदा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता छ ।

पुल नहुँदा सास्ती

सूर्योदय नगरपालिका ६ र रोङ गाउँपालिका ६ बीचको फामखोलामा पुल नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । बर्खामा खोला उर्लिएर आउने हुँदा जोखिम मोलेर स्थानीयले यात्रा गर्नुपर्ने बाध्यता छ । अस्थायी बाँसको पुल तरेर दिनहुँ दर्जनांै विद्यार्थी आउजाउ गर्छन् ।

यस्तै सूर्योदय नगरपालिका ५ र रोङ गाउँपालिका ६ को बीचमा रहेको सिद्धिखोलामा झोलुंगे पुल नहँुदा सर्वसाधारणको यात्रा जोखिमपूर्ण बनेको हो । खोला घटेका बेलामा मात्र वारपार गर्न सकिने भए पनि बर्खाको समय भने ती गाउँका बासिन्दाले जोखिम मोलेर खोला तर्नुको विकल्प छैन ।दुवै स्थानमा स्थानीयको पहलमा बर्सेनि फड्के निर्माण गर्ने गरिएको छ । पुल बनाउन टोलबाटै योजनाको छनोट गरे पनि अहिलेसम्म बन्न सकेको छैन । जिल्लाका धेरै स्थानमा अझै पनि पुलको अभावमा खोला तर्न कठिनाइ छ । सन्दकपुर गाउँपालिका ४ र ५ बीचको धुवाखोलामा पनि पुल नहुँदा उस्तै समस्या छ । बर्खामा उर्लेर आउने खोला तर्न अस्थायी पुलको साहारा आवश्यकता पर्ने स्थानीय बताउँछन् । वर्षौंअघि स्थानीयले बनाएको काठे पुल पनि मक्किएपछि थप जोखिम बढेको हो । जिल्लाका उत्तरी र पूर्वी क्षेत्र जोड्ने फिक्कल, नयाँबजार, प्याङ, जमुना, मावु र माइमझुवा हुँदै पुवामझुवाको बाघखोर जोड्ने रिङरोड यही स्थानबाट गए पनि पुलको अभावमा खोलाबाटै गाडी तार्नुपर्ने अवस्था छ । हिउँदमा खोला सानो भए पनि बर्खामा उर्लेर आउने भलबीच गाडी तार्नु पर्दा समस्या हुने गरेको चालक अर्पण गुरुङ बताउँछन् । ‘यहाँ वारपार गर्ने धेरै हुने र सवारी चाप पनि बढ्दै गएकाले पक्की पुलको आवश्यकता देखिन्छ,’ उनले भने ।

इनपा ८ को सिङफ्रिङ र माइजागमाईको सोयाङबीचको माइखोलामा पनि पुलको अभावमा जोखिम मोलेर फड्केबाटै खोला तर्नुपर्ने बाध्यता छ । खोला खोल्सी धेरै भएको माई नगरपालिकामा पनि उस्तै समस्या छ । नगरपालिकाका विभिन्न ६ स्थानमा नयाँ पुल बनाउन माग गरिएको प्राविधिक गोविन्द ढकालले जानकारी दिए । नगरपालिकाको २ वडा स्थित दुङदुङे, ६ नम्बर वडाको थिवा, मागु र रिखुवालगायत स्थानमा झोलुंगे पुलको आवश्यकता छ ।

जिल्लामा डेढ सय झोलुंगे पुल बनेका छन् । निर्माणका क्रममा अहिले १० वटा छन् । स्थानीय तह गठनअघि तत्कालीन जिल्ला विकास समितिमार्फत पुल बन्दै आएकोमा अहिले सम्बन्धित गाउँपालिका र नगरपालिकाले पुल निर्माणको काम अघि बढाउँदै आएका छन् । ट्ेरल ब्रिज सपोर्ट युनिटमार्फत पुल निर्माण गर्दा स्थानीय तहले ६ प्रतिशत रकम निकाल्नुपर्ने व्यवस्था छ ।

प्रकाशित : जेष्ठ २९, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?