१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

प्रदेश १ को वर्षे अधिवेशन डाकियो

लीलावल्लभ घिमिरे

विराटनगर — प्रदेश प्रमुख गोविन्दबहादुर तुम्वाहाङले जेठ १७ गते बिहीबार अपराह्न ३ बजे प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गरेका छन् ।

प्रदेश १ को वर्षे अधिवेशन डाकियो

बुधबार बसेको मन्त्रिपरिषद्‍को बैठकले अधिवेशन बोलाउन प्रदेश प्रमुख तुम्वाहाङलाई प्रदेशसभाको दोस्रो अधिवेशन जेठ १७ गतेका लागि सिफारिस गरेको थियो । प्रदेश प्रमुखका सचिव रामकृष्ण गुरागाईले शुक्रबार प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गरिएको पत्र प्रदेशसभा सचिवालयमा पठाएको सचिवालय सचिव केदारप्रसाद पनेरुले बताए ।


यो अधिवेशनमा आगामी आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम पेस हुने छ । सरकारले असार १ गते बजेट सार्वजनिक गर्ने तयारी गरिरहेको छ । बजेटका अलावा प्रदेश सरकारलाई आवश्यक पर्ने विधेयकहरु पनि ल्याउने तयारी गरिएको छ । अहिले अधिवेशनमा प्रदेशको स्थायी राजधानी र नाम तोक्न समेत सांसदहरुले दबाब दिइरहेका छन् ।


प्रदेश प्रमुख तुम्वाहाङले बिहीबार धनकुटामा वर्षे अधिवेशनमा स्थायी राजधानी र नाम तोक्न सकिने संकेत समेत गरेका थिए । प्रदेशमा मुख्यमन्त्री शेरधन राईले समेत यही अधिवेशनबाट स्थायी राजधानी र नामाङ्कको विषय टुङ्गो लगाउने प्रयासमा आफू रहेको पहिला नै बताइसकेका छन् ।


प्रदेश सभाको पहिलो अधिवेशनले प्रदेशसभा नियमावलीसहित १२ वटा विधेयक पारित गरेको थियो । पहिलो अधिवेशन ९३ दिनसम्म चलेको थियो । माघ २२ गते सुरु भएको पहिलो अधिवेशनमा ३९ वटा बैठक बसेका थिए ।

विज्ञ समूह गठन

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सात सदस्यीय विज्ञ समूह गठन गर्ने निर्णय गरेको छ । रमेशचन्द्र पौडेलको संयोजकत्वमा गठित समितिमा सुयष प्याकुरेल, उत्तरकुमार रेग्मी र सोमनाथ अधिकारी छन् । अन्य सदस्यपछि थप हुने सरकार प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले बताए ।


योजना आयोग गठन नहुँदासम्म समितिले सरकारलाई सहयोग गर्ने छ । संयोजक पोडेललाई योजना, प्याकुरेललाई ब्यापार, रेग्मीलाई पूर्वाधार र अधिकारीलाई कृषि, जलश्रोत र पर्यटन हेर्ने जिम्मा दिएको छ । यसैगरी बैठकले बाढीप्रकोप नियन्त्रण निर्देशिका र योजना छनोट कार्यविधि समेत पास गरेको छ ।

प्रकाशित : जेष्ठ ११, २०७५ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?