१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सुनसरीमा फस्टाउँदै सूर्यमुखी खेती

प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरीका दक्षिणी भेगका किसानहरु सूर्यमुखी फूल खेतीमा आकर्षित हुन थालेका छन् । सुनसरीका बर्जु गाउँपालिका, बराहक्षेत्र नगरपालिकाको मधुवन (साविक मधुवन गाविस), कोशी गाउँपालिकामा किसानहरुले एकदशकदेखि सूर्यमुखी फूलको खेती गर्दै आएका छन् ।

सुनसरीमा फस्टाउँदै सूर्यमुखी खेती

सूर्यमुखी फूलको खेतीलाई नगदेबालीको रुपमा लिइन्छ । तराईमा दुईचार बिगाहा जमिन भएका अधिकांश किसानले सूर्यमुखी फूलको खेतीका लागि कम्तिमा २५ प्रतिशत जमिन छुट्याउने गरेका छन् ।

प्राविधिक ज्ञान नभएपनि भारतीय बजारमा अत्यधिक माग भएकाले किसानहरु सूर्यमुखी फुलको खेतीप्रति आकर्षित भएको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले बताए । व्यवस्थित तरिकाले खेती गर्दा प्रति हेक्टर ३० क्विन्टलसम्म उत्पादन गर्न सकिने भएकाले किसानहरु आकर्षित भएका हुन् ।


उनले भने, ‘यतातिर सूर्यमुखीको खेती गर्न थालेको धेरै समय भएको छैन । सुनसरीमा सूर्यमुखीको खेती ०५२ सालदेखि सूरु भए पनि त्यसको एकदशक पछिमात्र नगदेबालीको रुपमा किसानहरुले खेती गर्न थालेको मानिन्छ । यसअघि किसानहरुले उखुको खेती खुब गर्ने गरेका थिए । तर उखु किसान वर्षेनी मारमा पर्न थालेपछि सूर्यमुखिको खेतीतिर आकर्षित भएका छन् ।’


स्थानीय किसानहरुलाई सूर्यमुखी फुलको व्यवसायिक खेतीका लागि तालिमको व्यवस्थासँगै प्राविधिक सहयोग, बजार व्यवस्थापन, अनुदान लगायतको व्यवस्था गर्नसके सुनसरीमा सूर्यमुखी फुलको खेती प्रमुख नगदे बालीको रुपमा विकास गर्नसक्ने प्रशस्त सम्भावना रहेको अन्सारीले बताए ।


फुलको १० किलो बियाँबाट ४ लिटर तेल निकाल्न सकिन्छ । जिल्ला कृषि कार्यालय सुनसरीको तथ्याङ्कमा मुलुकमै सबैभन्दा बढी सुनसरीका दक्षिणी भेगमा हजार हेक्टर क्षेत्रफलमा सूर्यमुखी फुलको खेती हुने गरेको छ । सूर्यमुखी फूलको बिउ किसानहरुले स्थानीय सिमावर्ती भारतीय बजारबाट ल्याउने गरेका छन् ।


फूलको बियाँ मिलमा पेलेर खाने तेल निकालिन्छ । यो तेलहनबाली हो । खानेतेल निकालेर प्रयोग गरिने बाली मध्ये विश्वमा सूर्यमुखीको स्थान चौथोमा छ । कृषि मन्त्रालयका अनुसार नेपालमा १ हजार ५ सय ६० हेक्टर जग्गामा सूर्यमुखी फूलको खेती गरिन्छ । वार्षिक करिब १ हजार ९ सय २८ मेट्रिक टन सूर्यमुखीको बियाँ उत्पादन हुने गरेको छ ।


सूर्यमुखीको तेलमा कोलेस्ट्रोलको मात्रा घटाउने तत्व हुने भएकाले स्वास्थका लागि उच्च कोटीको हुने र भिटामिन, प्रोटिन, खनिज पदार्थ प्रशस्त मात्रामा पाइने भएकाले तेलको ब्राण्ड नै सूर्यमुखी भनेर उद्योगीहरुले उत्पादन र बिक्री गर्ने गरेका छन् । बर्जु गाउँपालिकाका अध्यक्ष रघुनन्द चौधरीले प्राविधिक र उन्नत खेती गर्ने तरिकाका अभावले स्थानीय किसानले व्यवसायिक रुपमा अझै खेती गर्न नसकेको बताए ।


बराक्षेत्र नगरपालिका–११ मधुवनका वडाध्यक्ष केदार विष्टले सूर्यमुखीका लागि सुनसरीमै व्यवस्थित बजार, तेल प्रशोधन केन्द्र, किसानलाई फाइदा दिने तेल उद्योग सञ्चालन गर्नु जरुरी रहेको बताए ।

प्रकाशित : जेष्ठ ६, २०७५ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?