१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

केन्द्र विवाद कतै चर्कंदै, कतै सुल्झँदै

डम्बरसिं राई

खोटाङ — बराहापोखरी गाउँपालिकाको कार्यालयबारे चर्किएको विवाद अझै मत्थर हुन सकेको छैन । उक्त पालिकाको वडा ३ साउनेचौरबाट सञ्चालन हुँदै आएको गाउँपालिकाको कार्यालय वडा ४ फाक्टाङस्थित बाघखोर भञ्ज्याङमा सार्न खोजिएको भन्दै चर्किएको विवाद मत्थर नभएको हो ।

केन्द्र विवाद कतै चर्कंदै, कतै सुल्झँदै

यथास्थानमा गाउँपालिकाको कार्यालय राख्नुपर्ने माग राख्दै स्थानीयले पटक–पटक विवाद चर्काउँदै आएका छन् । यथास्थानमा कार्यालय राख्ने पक्षमा दबाब सिर्जना गर्न साउनेचौरका स्थानीयले शनिबार गाउँ कार्यपालिकाको बैठक चलिरहेकै समयमा गाउँपालिका प्रमुख शालिकराम बञ्जरा, उपप्रमुख गोमा मगर, वडाध्यक्ष एवं कार्यपालिका सदस्यमाथि हातपातको प्रयास गरेका छन् ।


आइतबार पनि गाउँ कार्यपालिकाको कार्यालयमा चलिरहेको बैठकमा बन्धक बनाएका थिए । वैशाख १३ गते बृहत् छलफल गर्ने प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए । असन्तुष्ट पक्षले बैठक अबरुद्ध गरेपछि बाघखोरमा केन्द्र स्थापना गर्न प्रक्रिया बढाउन नसकिएको पालिका अध्यक्ष सालिकराम बन्जराले बताए ।


गाउँसभाको बहुमतको निर्णयपछि त्यसैका आधारमा सिफारिसलाई आधार मानेर संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बराहपोखरी गाउँपालिकाको केन्द्र बाघखोर तोकेको थियो । केन्द्र विवादपछि जनप्रतिनिधिको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिएको अधिकारीले बताए ।


त्यसैगरी रावाबेंसी गाउँपालिकामा पनि केन्द्र विवादले काममा असहज भएको छ । उक्त पालिकाको नाम लामीडाँडा र केन्द्र खार्पामै हुनुपर्ने भन्दै अन्तरिम आदेशका लागि गत पुसमा सर्वोच्चमा मुद्दा परेको थियो । चैत १९ गते सर्वोच्चले अन्तरिम आदेश गर्न नपर्ने देखिएकाले हाल कार्यालय सञ्चालन भइरहेको हरमटारमै केन्द्र र नाम पनि रावाबेंसी नै रहने उल्लेख गरेको रावाबेंसी गाउँपालिकाका अध्यक्ष लीलानाथ निरौलाले बताए । पुनर्संरचना आयोगले उक्त केन्द्रको नाम लामीडाँडा र केन्द्र खार्पामा तोकेको थियो । गाउँपालिकाको पहिलो सभाले केन्द्र हरमटारमा र नाम रावाबेंसी निर्धारण गरी त्यसैअनुसार मन्त्रालयले परिवर्तन गरेको थियो । त्यस्तै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको केन्द्र र नाम परिवर्तन गरेको भन्दै अन्तरिम आदेशका लागि सर्वोच्चमा परेको निवेदनमा पनि अन्तरिम आदेश जारी गर्न नपर्ने गत चैत २५ गते सर्वोच्चले जनाउ दिएको उक्त पालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।


पुनर्संरचना आयोगले निर्धारण गरेको केन्द्र त्रितिया भन्ज्याङ र नाम दिप्रुङ गाउँपालिकालाई पालिकाको पहिलोसभाले गरेको निर्णयका आधारमा मन्त्रालयले केन्द्रलाई याङ्सोलाटार र नाम दिप्रुङ चुइचुम्मा परिवर्तन गरेको थियो । यसमाथि अन्तरिम आदेश गरी यथास्थानमा केन्द्र र यथावत् नाम रहनुपर्ने भन्दै गत पुसमा सर्वोच्चमा निवेदन परेको थियो ।

प्रकाशित : वैशाख १२, २०७५ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?