१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

दुई नगरपालिकाबीच सीमा विवाद चुलियो

पर्यटकीय क्षेत्र तीनजुरे डाँडामा निर्माण भइरहेको सुविधा सम्पन्न भ्यु टावर प्रभावित

तेह्रथुम/संखुवासभा — तेह्रथुमको लालीगुराँस र संखुवासभाको धर्मदेवी नगरपालिकाबीचको सीमा विवाद चुलिएको छ । विवादले पर्यटकीय क्षेत्र तीनजुरे डाँडामा निर्माण भइरहेको सुविधासम्पन्न भ्यु टावर प्रभावित भएको छ ।

पर्यटन मन्त्रालयको सहयोगमा सिमा क्षेत्रमा १ करोड ७२ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको चारतलाको भ्यु टावर धर्मदेवी नगरपालिकावासीले आफ्नो क्षेत्रमा पर्ने भन्दै रोकेका हुन् । दुवै नगर प्रमुखसहितका स्थानीय टावर निर्माण स्थलमा भेला भएर तीन पटकसम्म छलफल गरे पनि टुंगोमा पुग्न सकेका छैनन् ।

पछिल्लो पटक गत चैत ३ गते टावर निर्माण स्थल तीनजुरे डाँडामा वसेको दुवै नगरवासीको छलफलमा समेत विवाद समाधान हुन नसकेको लालीगुराँस नगरपालिका प्रमुख अर्जुन माबोहाङले बताए । सोही छलफलमा दुवै नगरपालिकाले आआफ्नो क्षेत्रबाट नापीका कार्मचारीसमेत ल्याएका थिए । तर नापी कर्मचारीले पनि प्रविधि र नक्सा अभावमा टावर कुन नगरपालिका क्षेत्रको जमिनमा पर्छ भनेर एकिन गर्न नसकेको बताएका छन् ।

धर्मदेवी नगरपालिकाले टावर निर्माण स्थल आफ्नो क्षेत्रमा पर्ने भन्दै लिखित रूपमा दिन लालीगुराँस नगरपालिकासँग माग गरेपछि छलफल बिनानिष्कर्ष टुंगिएको नगर प्रमुख माबोहाङले बताए । नगरपालिकालाई सीमा विवादजस्तो जटिल विषयमा लिखित निर्णय गर्ने अधिकार नभएको नगर प्रमुख माबोहाङले बताए ।

गुराँस भूमि तीनजुरे डाँडामा पूर्वी तराई र भारत विहारदेखिका पर्यटकलाई आकर्षित गरी पर्यटकीय विकास गर्न लालीगुराँस नगरपालिकाले टावर निर्माण थालेको थियो । टावर निर्माण सुरु भएको एक वर्षपछि निर्माण स्थल आफ्नो क्षेत्रमा पर्ने भन्दै संखुवासभाकी प्रदेश सांसद पूर्णकुमारी गुरुङ, नगर प्रमुख रमेश जिमी र सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीसमेतको टोलीले निर्माण स्थलमै आएर रोक लगाएका थिए । त्यसपछि दुवै नगरपालिकाबीच पटक पटक भएको छलफल निष्कर्षमा पुग्न सकेको छैन । सीमा क्षेत्रमा निर्माण टावर लालीगुराँस नगरपालिकाले आफूहरूसँगको समन्वयविनै बनाएको र आफूहरूको पहिचान नै गुमेकाले सीमा निर्धारणपछि मात्र टावर निर्माण गर्न दिइने धर्मदेवी नगरपालिका प्रमुख रमेश जिमीले बताए । ‘टावर निर्माण नै गर्न नदिने हाम्रो उद्देश्य होइन,’ नगर प्रमुख जिमीले भने, ‘सीमा निर्धारणपछि काम अघि बढाऔं भनेका हौं ।’ नगर प्रमुख जिमीले टावर निर्माण कुनै एक जिल्लामा नभई सिमाना पर्ने दाबी गरे ।

टावर निर्माण स्थल संखुवासभाको धर्मदेवी नगरपालिका १ र तेह्रथुमको लालीगुराँस नगरपालिका १ को सिमामा पर्छ । पर्यटन मन्त्रालय र लालीगुराँस नगरपालिकाले टावर निर्माण स्थल तेह्रथुमै पर्ने भन्दै गत वर्ष टावरको शिलान्यास गराएका थिए । टावरमा शौचायल, किचेन, कफी सप, सुरक्षा पोस्ट, सञ्चार सुविधा, स्थानीय स्तरमा उत्पादित वस्तुको स्टल, आराम तथा ध्यानाकर्षण स्थल, टाढाको दृश्यावलोकनका लागि बाइनाकुलर, रमणीय प्राकृतिक पार्कलगायत सुविधा रहनेछन् ।

भविष्यमा स्वामित्व र फाइदा लिने विषयमा पनि विवाद उत्पन्न हुन सक्ने भएकाले अहिले नै विवाद समाधान गरेर जानुपर्ने नगर प्रमुख जिमीको भनाइ छ । दुवै नगरपालिकाको स्वामित्व हुने गरी निर्माण स्थलमा बोर्ड राख्ने, भविष्यमा हुने आम्दानी टावर र आसपासका क्षेत्रको विकासका लागि खर्च गर्ने र दुवै नगरपालिको बराबर स्वामित्व हुने गरी सहमति गरौं भन्दासमेत धर्मदेवी नगरवासीले नमानेको लालीगुराँस नगरपालिका प्रमुख माबोहाङले बताए ।

टावरको बेस ढलान गरेर पिलर निर्माण भैसकेपछि विवाद झिक्नु राम्रो नभएको पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख अभय गुप्ताले बताए । ‘पूर्वाधार निर्माणमै रोक लगाउनु राम्रो काम होइन,’ विवाद समाधानका लागि टावर निर्माण स्थलमै आएका प्रमुख गुप्ताले भने, ‘टावर निर्माणस्थल जुनसकै क्षेत्रमा परे पनि यहीको सम्पत्ति हो, काममै अवरोध गर्नु राम्रो भएन ।’

धर्मदेवी नगरवासीले काम नगर्न धम्की दिएपछि ठेकेदार र कामदार काम बीचैमा छोडेर हिंडिसकेका छन् । सरोज निर्माण सेवा झापाले टावर निर्माण गरिरहेको थियो । प्रदेश नम्बर १ कै एक मात्र सुविधायुक्त भ्यु टावर निर्माणमा अवरोध भएको बारे प्रदेशका सम्बन्धित मन्त्रीलाई जानकारी गराएको र मन्त्रीस्तरको निर्णय पर्खिएर बसेको प्रमुख गुप्ताले बताए । ‘मन्त्रीज्यूबाट जस्तो निर्देशन आउँछ, त्यसरी अगाडि बढ्ने हो,’ उनले भने ।

प्रकाशित : चैत्र ८, २०७४ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?