कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

झरीमा जंगल सफारी [तस्बिरहरू]

रमेशकुमार पौडेल

चितवन — जीप चढेर वन्यजन्तु हेर्न गरिने जीप सफारी चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकले रुचाउने प्रमुख पर्यटकीय गतिविधिमा पर्दछ । बर्खा सुरु भएसँगै चितवन निकुञ्जभित्र जीप सफारी बन्द हुन्छ । तर निकुञ्ज आडका मध्यवर्ती सामुदायिक वनले जीप सफारी जारी नै राख्दछन् । चितवन सौराहा आडको कुमरोज मध्यवर्ती सामुदायिक वन जीप सफारीका लागि प्रख्यात छ ।

असार साउनको झरीको वास्ता नगरी यो सामुदायिक वनमा जीप चढेर वन्यजन्तु हेर्न देश विदेशका पर्यटक आउने गरेका छन् । वनले बिहान ३० पटक र दिउँसो ३० पटक गरी दिनमा ६० पटकसम्म जीप सफारी गराउँछ । बर्खापछि दशै तिहारसँगै मुख्य पर्यटकीय याम सुरु हुँदा हरेक पल जीपहरु भरिभराउ हुन्छन् । बर्खायाममा पनि अरु बेलाकोभन्दा आधाजति जीप सफारीमा जाने गरेका छन् । एक जीपमा ११ जना अट्छन् ।

सामुदायिक वनका अध्यक्ष गणेश श्रेष्ठ बर्खाका दिनमा शनिबार या अन्य बिदाको बेलामा पर्यटकीय सिजन जसरी नै जीप सफारी हुने सुनाउँछन् । साउनको हरियालीमा जीप सफारीमा जाँदा पनि वन्यजन्तु भरपुर देखिन्छन् । मृगका विभिन्न प्रजातिहरु चित्तलको बथान, रतुवा र लगुना तथा जरायोका जोडीहरु रमाइ रमाइ चर्दै गरेको भेटिन्छन् । मयुर नाच्दै गरेका हुन्छन्, रुखको हाँगामा अनेक प्रजातिका चरा बसेका हुन्छन् ।

चर्दै र आहाल बसेका गैंडा पनि त्यत्ति कै देखिन्छन् । जीप सफारी सुरु गरेर जंगल छिचोल्दै राप्ती किनार पुग्दा दुर्लभ घडियाल गोही बगरमा सुति रहेको यो बेलामा पनि देख्न पाइन्छ । राप्ती किनारबाट थोरै मोडिएर दराई बोटे ताल छिरेपछि केही बेर सुस्ताउँदै चिया खाजा खाने र चिनो पसलबाट हात्ती गैंडाको काठमा साना साना मूर्ति किन्न पाइने सुविधा छ । त्यो तालबाट सफारी फिर्ता हुन्छ । खैरहनी नगरपालिकाको दक्षिण राप्ती नदी किनारमा रहेको कुमरोज सामुदायिक वन चितवन निकुञ्जमा पाइने सवै खाले जनावरको राम्रो बासस्थल हो भन्छन् अध्यक्ष श्रेष्ठ । यो वन दुर्लभ वन्यजीव पाटे बाघको पनि बासस्थल हो ।

सफारीमा जाँदा अन्य जीव जनावर, पंक्षी र जलचरहरु प्रशस्तै देखिए पनि बाघ देख्ने संयोग कमैले पाउँछन् । कहिलेकाहिँ भने भटाभट बाघ देखिने गर्दछ । बाघले गैंडाको बच्चालाई आक्रमण गरेको र माउ गैंडाले प्रतिकार गरेको हालै मात्रै भाइरल भएको भिडियो पनि यही सामुदायिक वनको हो ।


प्रकाशित : श्रावण २७, २०८१ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्