हत्या आरोपितलाई मन्त्री बनाइएकोविरुद्ध प्लाष्टिक ओढेर धर्ना [तस्बिरहरु]
काठमाडौँ — बाँकेकी निर्मला कुर्मीको हत्याका आरोपितलाई मन्त्री बनाइएको भन्दै अभियन्ता रुबी खानसहितको टोलीले काठमाडौंको माइतीघरबाट धर्ना र प्रदर्शन गरिरहेका छन् । आइतबार दिउँसो झरी परिरहेका बेला समेत उनीहरुले प्लाष्टिक ओढेरै धर्नालाई निरन्तरता दिएका छन् ।
कुर्मीको हत्या आरोपमा अदालत पठाउन पटक-पटक सरकारले सहमति गरेपनि उक्त प्रकरणका मुख्य अभियुक्त बादसाह कुर्मीलाई प्रदेश सरकारमा मन्त्री नै बनाएपछि सशंकित बनेका उनीहरुले साउने झरीका बीच माइतीघरमा धर्ना बसिरहेका छन् । हत्याजस्तो गम्भीर अपराधका आरोपितलाई कारबाहीको दायरामा ल्याउनुको सट्टा सत्तारुढ दलहरुले उल्टै संरक्षण गरेको उनीहरुको आरोप छ । निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपित कुर्मीलाई लुम्बिनीमा कांग्रेसले मन्त्री बनाएको थियो । कुर्मीले साउन ९ गते बुधबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बिनाविभागीय मन्त्रीका रूपमा शपथ ग्रहण गरेका थिए।