कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

विश्वभर भइरहेका युद्ध रोक्न माग गर्दै शान्ति समाजको प्रदर्शन [तस्बिरहरु]

दीपक केसी

काठमाडौँ — विश्वका विभिन्न भागमा भइरहेको युद्ध अन्त्य गर्न संयुक्त राष्ट्र संघबाट विशेष पहलको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ । बिहीबार पुलचोकस्थित संयुक्त राष्ट्र संघको कार्यालय अगाडि शान्ति समाजले प्ले-कार्डसहित शान्तिपूर्ण प्रदर्शन गर्दै युद्ध अन्त्य गर्नका लागि सम्पूर्ण सामर्थ्यको प्रयोग गर्न राष्ट्र संघसमक्ष अपिल गरेको छ ।

विश्वभर विभिन्न ठाउँहरुमा भइरहेको युद्ध रोक्नका लागि राष्ट्र संघका तर्फबाट आवश्यक पहल हुनुपर्ने भन्दै आफूहरुलाई प्रदर्शन गरेको समाजका सभापति रामकृष्ण बरालले बताए । उनले भने, 'पछिल्लो समय सम्भावित युद्धको त्रासदीले लेबनानको स्थिति भयावह बनेको छ, जसका कारण कतिपय राष्ट्रले लेवनान छोड्न आफ्ना नागरिकलाई आह्वान गरेका छन् । यसैगरी इरान र इजरायलबीच जुनसुकै बेला भीषण युद्ध हुने त्रास बढेको छ ।'

प्रदर्शनका क्रममा शान्ति समाजले 'शक्ति राष्ट्रका अगाडि राष्ट्रसंघ किन लाचार ?', २९ महिनादेखि जारी रुस–युक्रेन युद्ध, राष्ट्रसंघ कहाँ छ?', १० महिनादेखि जारी इजरायल–हमास युद्ध, राष्ट्रसंघ कहाँ छ?', युद्ध विस्तार हुँदैछ मानवता पराजित हुदैँछ, मध्यपूर्वमा शान्ति कायम गर !' लगायतका प्ले-कार्डहरु प्रदर्शन गरेका छन् । प्रदर्शन पश्चात शान्ति समाजका तर्फबाट संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई लेखिएको ज्ञापनपत्र नेपालस्थित राष्ट्रसंघका अधिकारीलाई हस्तान्तरण गरिएको सभापति बरालले जानकारी दिए ।


प्रकाशित : श्रावण २४, २०८१ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्