कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

खर्क लागे हुम्ली [तस्बिरहरू]

ज्योति कटुवाल

हुम्ला — बेँसीमा गर्मी सुरु हुनासाथ बस्तुभाउ लिएर हुम्लीहरु खर्क लाग्ने गर्दछन् । हरेक वर्ष जेठ महिनामा आफ्ना गाई–गोरु, भेडाबाख्रा, चौरी झोपा, घोडा लगायतका बस्तुभाउ लिएर लाप्चाको खर्कमा जाने गर्दछन् । नाम्खा गाउँपालिका वडा–६ लिमीको लाप्चा खर्कमा हरेक वर्षजस्तै यो सिजनमा पनि उनीहरु विभिन्न पालिकाबाट आफ्ना बस्तुभाउ लिएर खर्कतिर लागिसकेका छन् ।

करिब तीनदेखि चारमहिनासम्म उनीहरु उच्च हिमाली क्षेत्रमा बस्तुभाउ चराउँछन् । हिमाली क्षेत्रमा हिउँपर्न सुरु भएपनि उनीहरु बस्तुभाउ बेँसीमा झार्छन् । प्रत्येक वर्ष बस्तुभाउ बोकेर लेक जाने उनीहरुको पुरानो चलन हो । नाम्खा गाउँपालिका – १ हेप्काका भादुर तामाङ ४० वर्षदेखि बस्तुभाउ लिएर हिमाली खर्कमा जान्छन । उमेरले बुढो भएपनि वर्षको एकपटक खर्कमा नपुगे मनले शान्त नपाउने उनी बताउँछन् । ‘हामीलाई पनि बस्तुभाउ जस्तै खर्क जाने आदत भइसक्यो,’ उनले भने, ‘खर्कमा जानेहरु एक महिनादेखिका शिशुहरु सहित ७० देखि ८० वर्षसम्मका बृद्धबृद्धासम्म हुन्छन् ।’ भादुरले खर्कबाट घर र्फकदा ३० देखि ४० केजी घ्यू र छुर्पी ल्याउने गर्छन् । चौरी झुमा, झोपा, घोडा, र याक गरेर उनका ५० बस्तुभाउ छन् । उनका मात्र हैनन् सिमकोट र नाम्खा गाउँपालिकाका ३ देखि ४ हजार बस्तुभाउ खर्कतिर लगिन्छ ।

दुई महिनाको छोरीसहित खर्कमा पुगेकी नाम्खा गाउँपालिका वडा ३ की प्रेमा युटोनले ६ जनाको परिवार खर्कमा छ । उनकाअनुसार बस्तुभाउ गर्मीले बेँसीमा बस्न सक्दैनन् त्यसैले प्रत्येक वर्ष हिमाली खर्कमा आउनै पर्छ । ‘यहाँ आउदा बस्तुभाउ मात्र हैन हामीपनि खुसी हुन्छौं,' प्रेमाले भनिन्, ‘हुम्लीहरुको कमाउने रमाउनेस्थल नै हिमाली खर्क हो ।’ यो समयमा हिमाली खर्कमा राम्रो चरन हुन्छ ।

बेँसीमा पानी पर्ने पहिरो जाने भएकाले उनीहरु वर्षातको समयमा बस्तुभाउ लिएर खर्क उक्लन्छन । पछिल्लो पुस्ताले पेशा बदेलेको स्थानीय गैरी लामा बताउँछन् । खर्कमा बस्ने प्राय:ले आफ्ना छोराछोरीलाई राजधानीतिर पढाउने गरेकाले पहिलाको तुलनामा बस्तुभाउ पाल्ने ५० प्रतिशतमात्र भएको उनको भनाई छ । ‘पहिला बुवाआमाले गरेको काम छोराछोरीले गर्न बाध्य हुनुपर्‍थ्यो भने अहिले बाउआमाले नै हाम्रोजस्तो दु:ख नगर भन्छन् उनले भने ।’

प्रकाशित : जेष्ठ २७, २०८१ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्