२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

भुजुङकी घाँटुनी

आश गुरुङ

लमजुङ — नुकाशी गुरुङ ११ वर्षकी भइन् । उनी गाउँकै त्रिभुवन विद्याश्रम मावि कक्षा-४ मा पढ्छिन् । उनीसंगै छन् कक्षा-६ मा पढ्ने १२ वर्षिया अंकिता गुरुङ र कक्षा ५ मा पढ्ने रिया गुरुङ । गुरुङ पोषाकमा सजिएकी नुकाशी र अंकिता घाँटु नाच्दैछन् । पालो फेर्न रिया तयारी अवस्थामा छन् । उनीहरुलाई सिकाउने र सघाउने कार्यमा यसअघिका घाँटुनी इन्द्रकाशी गुरुङ र मुना गुरुङ छन् । 

लमजुङको क्व्होलासोथार गाउँपालिका-४ मा पर्ने पर्यटकीय गाउँ भुजुङमा इन्द्रकाशी र मुनाले ५ वर्ष घाँटु नाचेपछि गाउँलेले गतवर्षदेखि नुकाशी, अंकिता र रियालाई सिकाएका हुन् । उनीहरु मादलको ताल र गीति लयमा घाँटु नाच्ने भइसकेका छन् । जेठ ९ गते घाँटु नाच्न सुरु गरेका उनीहरुले ४ दिन नाचेर १२ गते समापन गरे । बाह्रमासे घाँटु भएकाले पर्यटक आउनेवित्तिकै उनीहरुले घाँटु देखाइहाल्छन् ।घाँटु गुरु बुद्धिरास गुरुङका अनुसार यस नृत्यका लागि सुरुमा रजश्वला नभएका कन्यालाई लिइन्छ । मध्ययुगीन राजा पसरामु (परशुराम) र रानी हृयोमाउदी (यम्फावती) को प्रतीकका रुपमा नचाइन्छ । घाँटु गुरु बिरलाल गुरुङका अनुसार श्रीपञ्चमीमा घाँटुसरी (घाँटुनी) लाई नुवाइधुवाई, हात खुट्टाका नङ काट्न लगाएर चोखोनितो गरी घाँटु नाच्न सुरु गरिन्छ ।

कतिपय ठाउँमा घाँटुसरीको शिरमा धान भुटेर बनाइएको लाहाको मुकुट बनाइएको हुन्छ । मौलिक पोषाक गुन्युचोली लगाइन्छ । परशुराम राजा र यम्फावती रानीको विवाह, प्रेम, राज्यआरोहण, सिकार खेलेको, युद्ध लडेको लगायतका विषयवस्तु समेटिएको हुन्छ । गीतमा मानिसको जीवनशैली, जन्म, कर्म, शृङ्गार, बिहेवारी, माछामार्ने, खेतीपातीलगायतबारे व्याख्यात्मक अभिनय गरिन्छ ।बाह्रमासे र सती गरी घाँटु २ किमिमका भए पनि पछिल्लो समय कुसुण्डालाई पनि अर्को छुट्टै घाँटुका रुपमा चिनिन्छ । बाह्रैमहिना नाच्न मिल्नेलाई बाह्रमासे, माघ महिनाको श्रीपञ्चमीमा सुरु गरी बैशाख पूर्णिमामा अन्त्य गरिनेलाई सति र सति गएकी रानीलाई चिताले नपोलेपछि कुसुण्डा बनेर जंगल पसेको कथामा आधारित घाँटुलाई कुसुण्डा भनिन्छ ।घाँटुको कथ्यमा भिन्नता पाइए पनि पश्रामु (परशुराम) राजा र यम्फावती रानीको जीवनगाथा यसमा छ । नेपाली जनजीवन प्रतिविम्वित घाँटु हेर्न लमजुङको भुजुङमा प्रत्येक वर्ष बैशाखपूर्णिमा मेला लाग्ने वडाअध्यक्ष नारायण गुरुङ बताउँछन् । उनका अनुसार पाहुनालाई दहिचामलको अक्षता लगाइदिएर घाँटुगीतबाटै आशीर्वाद दिने चलन भुजुङमा रहेको छ । भुजुङमा लोपुन्मुख घाँटु नृत्य हेर्न पर्यटक आउने गरेको उनी बताउँछन् ।


प्रकाशित : जेष्ठ १६, २०८१ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्