कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

फर्किए कामीरिता [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — विश्वप्रख्यात आरोही कामीरिता शेर्पा ३० औं पटक सगरमाथाको सफल आरोहण गरेर फर्किएका छन् । शुक्रबार काठमाडौं आइपुगेका उनलाई भव्य स्वागत भएको छ । उनले गत बुधबार बिहान ७ बजेर ४९ मिनेटमा ३० औँ पटक सगरमाथा चुचुरोमा पुगेका थिए । सगरमाथामा सफल आरोहण भएको ७१ वर्षको इतिहासमा कामीरिता सबैभन्दा धेरै पटक आरोहण गर्ने संसारकै एक्ला आरोही हुन् ।

विश्वभर ‘एभरेस्ट म्यान’ नामले पनि कहलिएका कामीरिताले गत वर्षको वसन्तकालीन याममा आफैंले बनाएको २८ औं पटकको सगरमाथा आरोहणको रेकर्ड ब्रेक गर्दै वैशाख ३० गते बिहान नेपाली समयअनुसार ७:२५ बजे सगरमाथा शिखरमा २९ औं पटक सफल आरोहण गरेर आधारशिविर फर्केका थिए । समुन्द्री सतहबाट झन्डै ५४ सय मिटर उचाइमा रहेको सगरमाथाको आधारशिविरमा ८ दिन विश्राम गरेर ५४ वर्षीय कामीरिता पुन यसै सिजनमा दोस्रो पटकका लागि सोमबार सगरमाथा चुचुरोतर्फ लागेका थिए । विक्रम संवत २०३९ (१२ वर्षको उमेर) देखि हिमाल आरोहण क्षेत्रमा काम गर्दै आएका सोलुखुम्बुको थामेका कामीरिताले पहिलो पटक २०५१ सालको वसन्तकालीन याममा सगरमाथा आरोहण गरेका थिए । यसअघि उनले ५ वर्ष एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गरिसकेका छन् । एकै सिजनमा दुई पटकको आरोहणअन्तर्गत यो उनको छैंटौं आरोहण हो । कामीरिता शेर्पा सगरमाथामा रेकर्ड ब्रेक गर्ने होडमा नभई आफ्नो पेसा नै हिमाल आरोहणसँग जोडिएकाले ‘चढ्दा चढ्दै रेकर्ड’ कायम हुन गएको बताउँछन् । सगरमाथासहित अरु ८ हजार अग्ला हिमालमा उनी ४४ पटक पुगिसकेका छन् ।

प्रकाशित : जेष्ठ ११, २०८१ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्