१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

झनै सुन्दर रारा आसपास [तस्बिरहरु]

राजबहादुर शाही

काठमाडौँ — रारा तालमा घुमफिर गर्न आउने पर्यटक वरपर नगई फर्किने गरेका छन् । समुद्री सतहदेखि करिब १२ हजार ५ सय फिट उचाईमा रहेको मुगुम कार्मारोङ गाउँपालिकाको तिब्बत सीमासित जोडिएको मुगु गाउँको दृश्य, कोइजी हिमाल झनै पर्यटक आकर्षित हुने छन् ।

चारैतिर चाँदीजस्तै टल्किने मनमोहक हिमाल छन् । बीचमा फराकिलो मरुभूमि तिब्बतबाट सलल बग्दै आएको कञ्चन बगरको छेवै मुगु गाउँले पर्यटकको मन लोभ्याउन सक्ने मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए ।

'टल्किने हिमालको फेदीमा मुगु गाउँको सुन्दरता झन् फरक छ । पर्यटकको लागि सीमित मुगुगाउँ मात्र छैन,' उनले भने, 'सुन्दरता र मौलिकताले परिचित प्रसिद्ध तिर्थस्थल छायाँनाथ, डोल्फुको तामा खानी, फलाम खानी, तिहार गुम्बा, तिहार दोभाव नदी र कोइजी मरक्का हिमाल, च्याङजे छहरा तथा बौध धर्मावलम्बीका करिब १ हजार २ सय चिटिम र गुम्बाहरु छन् ।'

राराभन्दा झन् उत्कृष्ट मुगुम कार्मारोङका रमणीय पर्यटकीय गन्त्व्य ओझेलमा परेको अध्यक्ष लामाले सुनाए । मोटरबाटोको सुविधा नहुँदा कार्मारोङ गाउँपालिकाभित्र रहेका रमणीय गन्तव्यहरु पर्यटकले देख्न पाएका छैन । पर्यटकीय हिसाबले कार्मारोङ सुन्दर भएपनि मोटरबाटो असुबिधाले पर्यटकबाट अछुतो रहेका उपाध्यक्ष छिरिङ फुटिक लामाले सुनाइन् । उनले भनिन्, 'वन्यजन्तु र जडिबुटीको भण्डार रहेको यो कार्मारोङ क्षेत्र पर्यटकीय प्रवर्द्धनमा जोड दिनु पर्ने अवस्था आएको छ ।' कार्मारोङ मौलिक सांस्कृतिक धार्मिक पहिचान र भेषभूषा पर्यटकलाई चिनाउनु पर्ने बेला आएको उपाध्यक्षको भनाइ छ ।


प्रकाशित : फाल्गुन १९, २०८० १५:१२
प्रतिक्रिया
पठाउनुहोस्