२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

हातखुट्टामा चोट, अनुहारमा उत्साह [तस्बिरहरु]

रमेशकुमार पौडेल

चितवन — देवकुमारी चौधरीको दाहिने हातमा चोट छ । पट्टी बाँधेको हात चलाउन मिल्दैन, तर कुरा गर्दै जाँदा उनी यति उत्साहित हुन्छिन् कि देब्रे हात जुरुक्क उचालेर मुट्ठी कस्छिन् । अनुहारमा चोटको पिडा हैन, संघर्षमा पुरै समय सामेल हुने उत्साह झल्कन्छ । साहुबाट ल्याएको ऋणबाट मुक्ति र न्याय पाउनुपर्छ भनेर उनी माघ १६ गतेदेखि सुरु भएको पैदल मार्चमा सहभागी भएकी हुन् ।

शुक्रबार साँझ नारायणगढ जेसिस भवनमा सुस्ताउँदै गरेका मिटरब्याज पीडितहरु । तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर

महोत्तरी गौशाला–९ की ५८ वर्षीया चौधरीले साहुसँग लिएको ऋण थियो दुई लाख ५० हजार रुपैयाँ । सो वापत उनले पटक-पटक गरेर साहुलाई पाँच लाख रुपैयाँ बुझाइसकेको बताइन् । 'तर ऋण चुक्ता भएन भनेर साहुले गोठको एउटा गाइ लगे । उल्टै उनीविरुद्ध मुद्दा लगाए,' उनी भन्छिन्, ‘यस्तो अत्याचारबाट मुक्त पाउन जस्तो सुकै संघर्ष गर्नुपरे पनि गरौँ भनेर हिँडेका छौँ । यसका अघि अरु दुख सामान्य लाग्छन् ।'मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिले माघ १६ गतेदेखि नेपालको पुर्वी सीमा मेची र पश्चिमी सीमा महाकालीबाट पैदल यात्रा सुरु गर्‍यो । शुक्रबार साँझ दुवै टोली चितवनको नारायणगढ आइपुगेका छन्। अब भोलि उनीहरु काठमाडौंतर्फ आउनेछन् । त्यसो त दुवै टोली बिहीबारै नाराययगढमा भेट भएर सँगै काठमाडौं लाग्ने योजना थियो । तर पुर्वको टोली चितवन नआउँदै मंगलबार साँझ मकवानपुरको मनहरीमा स्थानीयसँग झडपमा पर्‍यो । सो झडपमा देवकुमारीसहित यात्रामा सहभागी १६ जना घाइते भए ।

शुक्रबार साँझ नारायणगढ जेसिस भवनमा सुस्ताउँदै गरेका मिटरब्याज पीडितहरु । तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर

घाइतेको चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार सुरु भयो । चार जना मध्यम अवस्थाका घाइते थिए । अरु सामान्य थिए । अस्पतालमा दुई लाख रुपैयाँको हाराहारीमा उपचार खर्चको बिल आयो । मार्चमा सहभागीहरुले पैसा नभएका कारण तिर्न नसक्ने बताए । खर्च भुक्तानबारे कुरा नमिल्दा घाइतेहरु शुक्रबार दिउँसोसम्म अस्पतालमै रहे । पश्चिमको टोली बिहिबार साँझ चितवन आइसकेको थियो ।‘मकवानपुरमा त्यस्तो घटना भयो । उपचार खर्चको विषयमा कुरा मिल्न सकेन । शुक्रबार मात्र एउटा सहमति भएपछि अस्पतालबाट सबै साथीहरु डिस्चार्ज हुनु भयो । अहिले हामी पुर्वको पश्चिमको दुवै टोली र काठमाडौ. जान खोज्ने अन्य साथीहरु पनि भेट भएका छौं । अब भोलि हिँड्छौ काठमाडौं तिर’ मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिका केन्द्रीय अध्यक्ष अवधेस कुसवाहाले भने ।

शुक्रबार साँझ नारायणगढ जेसिस भवनमा सुस्ताउँदै गरेका मिटरब्याज पीडितहरु । तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर

अस्पतालबाट डिस्चार्ज भएकाहरु पनि काठमाडौं जान तयार भएको उनले बताए । प्रमुख जिल्ला अधिकारीले अस्पताल खर्चको बारेमा पहल गरेपछि घाइतेहरु डिस्चार्ज भएको उनले बताए । ‘हामी अधिकारका लागि हिँडेका हौं । खर्च तिर्न सक्ने अवस्था छैन । मकवानपुरका प्रमुख जिल्ला अधिकारीले घाइतेहरुलाई उपचारमा पठाउनु भयो । अन्तिममा उहाँले नै खर्चको बारेमा पहल गर्नु भयो’ अध्यक्ष कुसवाहाले भने ।समितिले ६ बुँदे माग राखेर संघर्षमा उत्रेको उनले बताए । मिटर ब्याजसँग सम्बन्धित सवै खाले फर्जी लिखत, तमसुक, दृष्टिबन्धक, रजिष्ट्रेशन (छिनुवा), अवैध घोषणा गरी जुन सुकै तहमा भएको पीडितको सम्पत्तिको हक हस्तानतरण बदर गर्नुृपर्ने र पीडितलाई क्षतिपुर्ति दिनु पर्ने उनीहरुको माग छ । मिटर ब्याज चलाउने पिडकहरुलाई शक्तिशाली कानुन बनाइ कारवाही गर्नु पर्ने समितिले माग राखेको छ ।

शुक्रबार साँझ नारायणगढ जेसिस भवनमा सुस्ताउँदै गरेका मिटरब्याज पीडितहरु । तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर

गाउँ समाजमा ऋण दिने साहु महाजनहरुले बास्तविक भन्दा धेरै रकम लगेको कागज बनाउने, प्रचलित दरभन्दा बढी ब्याज लिने, जाल झेल गरेर ऋणभन्दा धेरे असुल गर्ने, तिर्न नसकेमा धम्काउने र मुद्दा मामिलासमेत गर्ने कामलाई समितिले मिटरब्याजको परिभाषामा राखेको छ । ‘अब हामी काठमाडौं गएर संघर्ष गर्दछौं । यस्ता छलकपटबाट न्याय दिन राज्यले दह्रो कानुन बनाओस्’ अध्यक्ष कुसवाहाले भने ।

शुक्रबार साँझ नारायणगढ जेसिस भवनमा सुस्ताउँदै गरेका मिटरब्याज पीडितहरु । तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर

शुक्रबार साँझ नारायणगढ जेसिस भवनमा सुस्ताउँदै गरेका मिटरब्याज पीडितहरु । तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर

शुक्रबार साँझ नारायणगढ जेसिस भवनमा सुस्ताउँदै गरेका मिटरब्याज पीडितहरु । तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर


प्रकाशित : फाल्गुन ४, २०८० २०:४६
प्रतिक्रिया
पठाउनुहोस्