८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

दमार खेल मैदानमा छायो रौनकता [तस्बिरहरु]

रमेशचन्द्र अधिकारी

धनकुटा — खेल मैदान आकर्षक बुट्टा कुँदिए झैं देखिन्थ्यो । दुबेचौरमा रंगीविरंगी पोसाकमा सजिएका थिए बालबालिका । छेवैमा बगिरहेको अरुण नदी र खेलमैदानको दृष्यलाई वरपरबाट नियाल्दा आकर्षक देखिन्थ्यो । यो धनकुटाको महालक्ष्मी नगरपालिका-४ दमारमा शुक्रबार आयोजना गरिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सजिएका सहभागी बालबालिकाको दृश्य हो ।

धनकुटामा पहिलो पटक सदरमुकाम बाहिर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगिता जिल्लाको महालक्ष्मी नगरपालिकास्थित दमारमा शुक्रबारदेखि सुरु भएको हो । जिल्लामा रहेका तीन नगर र चार गाउँपालिकाका विद्यालयबाट करिब चार सय खेलाडी छात्रछात्रा प्रतियोगितामा सहभागी छन् । जिल्लाकै सबैभन्दा ठूलो खेल मैदान अरुण नदीको किनारमा छ । तीन सय मिटर लम्बाइ र एक सय मिटर चौडाइ रहेको मैदानमा आयोजक महालक्ष्मी नगरपालिकाले खेलकुदको व्यवस्थापन गरेको हो ।

भलिबल, कबर्डी, मार्सलआर्टस् तथा एथेलेटिक्सका विभिन्न खेल आयोजना गरिएको छ । प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

विगतमा वीरेन्द्र शिल्ड र गणतन्त्र प्राप्तिपछि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नामबाट बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि खेल खेलाइँदै आइएको छ । यस वर्षको प्रतियोगिता १४ शंखलाको रहेको महालक्ष्मी नगरपालिकामा प्रमुख ध्रुवराज रायले बताए । प्रतियोगिता उद्घाटन संघीय सांसद् राजेन्द्रकुमार राई तथा संविधानसभा सदस्य मनोहरनारायण श्रेष्ठले गरे ।


प्रकाशित : माघ २६, २०८० २०:१४
प्रतिक्रिया
पठाउनुहोस्