कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५६

रोमान्समा मग्न मकुना [तस्बिरहरु]

रमेशकुमार पौडेल

चितवन — सौराहा आडको खोरसोर हात्ती प्रजनन् केन्द्र दिउँसो सुनसान हुन्छ । केन्द्रका हात्तीहरु दिउँसो चर्न जंगल जान्छन् । केन्द्रमा हात्ती भए जंगली भाले हात्ती पनि बेला मौकामा आउने गर्दछन् । रोनाल्डो नाम गरेको जंगली भाले हात्ती प्राय खोरसोरको प्रजनन् केन्द्र वरपर नै भेटिन्छ । ‘रोनाल्डो’ केन्द्रमा हुँदा अरु भाले हात्ती आउने आँट खासै गर्दैनन् । ‘रोनाल्डो’ नजिक नभएको मेसो पाए अरु जंगली भाले हात्ती पोथीसँग लहसिन आइ पुग्छन् ।

मकुनाले शुक्रबार दिउँसो यस्तै मौका पायो । प्राय भाले हात्तीको दाह्रा हुन्छन् । तर दाह्रा नभएका भाले हात्तीलाई मकुना भनिन्छ । श्रीलंकामा प्राय मकुना हुन्छन् । भारतमा पनि फाट्टफुट्ट छन् । भारतबाट पुर्वी नाका हुँदै केही मकुना नेपाल छिरेका छन् । पुर्वबाट आएको मकुना चितवनमा पनि भेटिएको छ । निकुञ्जका सुचना अधिकारी रहेका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार मंसिर १८ मा मकुना फेला परेको हो ।निकुञ्जको पुर्वी क्षेत्र कुमरोज नजिक जनकपुर पोष्ट र राप्ती पारीको अमृते पोष्टका पोथी हात्तीसँग रोमान्स गरी रहेको अवस्थामा भेटिएको मकुना अचेल सौराहाको हात्ती सार र खोरसोरको हात्ती प्रजनन् केन्द्रसम्म पुग्ने गरेको छ । ओहर दोहर गर्दा बीचमा केही समय मकुनाले गाउँ छिरेर सामान्य दुख पनि दिएको थियो । प्राय पोथी हात्तीलाई पछ्याउने मकुना जंगलमै बढी बस्ने गरेको छ ।खोरसोर हात्ती प्रजनन् तथा तालिम केन्द्रका सरस्वतीकली र सन्द्राकली नामका दुई पोथी हात्ती शुक्रबार जंगल गएका थिएनन् । सन्द्राकलीको छाबा शुक्रबारदेखि जंगल गएको थियो । छाबा जंगल जान सुरु गर्दा आमालाई साथै नलैजाने चलन छ । त्यसैले सन्द्राकली केन्द्रमै थियो । सन्द्राकलीलाई साथ दिन भनेर सरस्वतीकलीलाई पनि जंगल पठाइएको थिएन । दिउँसो तीन बजेपछि अरु हात्ती जंगलबाट फर्कन्छन् ।केन्द्रका हात्ती फर्केसँगै रोनाल्डो पनि खोरसोरमा देखा पर्दछ । बिहीबार प्रजनन् केन्द्रमा रोनाल्डोसँगै मकुना र गोविन्दे नाम गरेको अर्को जंगली हात्ती पनि पुगेको केन्द्रका प्रमुख मनपुरन चौधरीले बताए । रोनाल्डोले मकुना र गोविन्देलाई त्यहाँ बस्न दिएन । उनीहरुलाई लखेटेर कब्जा जमायो । तर शुक्रबार अरु हात्ती नफर्कदै मकुना खोरसोरको प्रजनन् केन्द्र पुग्यो र रोनाल्डो नभएपछि सरस्वतीसँग रोमान्समा मग्न रह्यो । पोष्टमा रहेका सरकारी हात्ती हुन् या घरमा पालेका अन्य पोथी हात्ती प्रजनन्का लागि सवैलाई जंगली भाले हात्तीको भर पर्नु परेको छ । चितवन निकुञ्जको खोरसोरमा २०४४ सालमा हात्ती प्रजनन् केन्द्र खुलेको हो । चितवन निकुञ्जको स्थापना कालदेखि नै काम गर्दै आएका र पछि प्रमुख संरक्षण अधिकृत भएर अवकास लिएका रामपृत यादवका अनुसार प्रजनन् केन्द्रमा जति पनि बच्चा जन्मे ती सबै जंगली भालेका सन्तान हुन् । कुनै बेला चितवन निकुञ्जमा रोमियो, नानापाटेक नाम गरेका पुराना जंगली भाले हात्ती थिए । पछि रोनाल्डोको उदय भयो । बिस्तारै ध्रुबेले पनि निकुञ्जमा कब्जा जमायो । दुई तीन वर्षयता गोविन्दे नामको जंगली भाले हात्ती पनि चितवन निकुञ्जका पोथी हात्तीको प्रेममा पर्दै गएको छ । यी पुराना भालेहरु नपुगेको ठाउँमा र अन्य भाले हात्ती नभएको मौकामा मकुनाले पनि भरपुर रोमान्स गर्न थालेको छ ।


प्रकाशित : माघ २०, २०८० १७:५५
प्रतिक्रिया
पठाउनुहोस्