१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

सुन्दर रानीताल [तस्बिरहरु]

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटाको चौबिसे गाउँपालिका-६ राजारानी बजार छेवैमा छ रानी (मावरक) ताल । रानी तालको नामले चिनिने यो ताललाई स्थानीय लिम्बू भाषामा मावरक पनि भन्ने गरिन्छ । जसको अर्थ रानी भन्ने हुन्छ । १ सय ३० रोपनीमा फैलिएको छ यो सुन्दर ताल ।

राजारानी बजार नजिकको करिब दुई हजार रोपनी सिमसार क्षेत्रफलमा खेतीपाती र आवास उपयुक्त नभएपछि वर्षौंसम्म स्थानीय चिन्तित थिए । सोही स्थानमध्ये १ सय ३० रोपनी क्षेत्रफलमा दुई दशकअघि ताल निर्माण गरिएको रानी मावरक ताल संरक्षण समितिका अध्यक्ष टेकरत्न चेम्जोङ बताउँछन् । हालको रानीताल र दक्षिणतर्फ राजाताल रहेकोले उक्त ठाउँकै नाम राजारानी भनियो । हाङडाना नामका राजा र माङदानी रानीको मन्दिर पनि रहेको ताल संरक्षण समितिका कोषाध्यक्ष काजीमान लिम्बू बताउँछन् ।

पछिल्लो समय तालमा पर्यटकको चाप उल्लेख्य बढ्दै गएको छ । तालमा डुंगा चलाउने, तस्बिर खिच्ने र पिकनिकका लागि दैनिक सयौं सर्वसाधारण त्यहाँ पुग्ने गरेको ताल व्यवस्थापन समिति अध्यक्ष चेम्जोङले बताए । धरानबाट ३५ किलोमिटरको दुरीमा रहेको राजारानीमा दैनिक सुनसरी, मोरङ, झापा, इलाम तथा भारतका विभिन्न प्रान्तबाट समेत पर्यटक पुग्ने गरेका छन् ।

विगतमा पनि हालको राजारानी बजारका उत्तर र दक्षिण क्षेत्रमा दुई वटा ताल रहेको स्थानीय बताउँछन् । वि.सं. १८६२ सम्म राजारानी क्षेत्रमा विशाल ताल रहे पनि पछि दक्षिणतर्फको गल्छी फुटेर पानी बाहिरिएको भनाइ छ । तालको पानी बाहिरिएपछि त्यहाँ दलदल जमिनको रुपमा मात्र सीमित थियो । अझै पनि राजा अर्थात् पावरक क्षेत्रमा उक्त दलदल कायमै छ । तर उत्तरतर्फ भने ताल निर्माण गरिएको हो । प्राचीन तालको पानी बाँध बाधेर थुनेपछि पुनः ताल निर्माण भएको छ । पूर्वकै एकमात्र प्राकृतिक ताललाई संरक्षणका लागि स्थानीय जुटेका छन् । तालले पर्यटकको मन राम्ररी जितेको स्थानीय युवराज कटुवालको भनाइ छ । ताल किनारमा पर्यटक बस्ने स-साना टहरा, रेलिङ र बत्तिको समेत व्यवस्था गरिएको छ । यस्तै होटल र मौलिक परिकारसमेत उक्त स्थानमा उपलब्ध गराइने भएपछि पर्यटकको संख्या बढिरहेको छ । त्यस क्षेत्रमा लिम्बू, राई, मगर जातिको बाहुल्यता रहेको छ ।

प्रकाशित : मंसिर २१, २०८० १९:३०
प्रतिक्रिया
पठाउनुहोस्