१४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

मेथम्बा भीरमा मह-सिकारी झलकको रजत उत्सव

केदार शिवाकोटी

दोलखा — उमेरले ६३ पार गर्न लागेका झलकबहादुर मगर दौंतरी र केही तन्तेरीसँगै सिकार गर्न मेथम्बा भीर पुगेका छन् । भीरमौरीको सिकार गर्न खप्पीस उनी यो पटक ८ जनाको टोली बनाएर मेथम्बा पुगेका हुन् । गौरीशंकर गाउँपालिका ८ खारेमा रहेको कहाली लाग्दो मेथम्बा भीरमा बाबियोको डोरीले बनाएको भर्‍याङ चढेर मह सिकार गर्ने उनी एक्ला सिकारी हुन् । उनलाई अन्य साथीहरुले सघाउने छन् ।

संयोगले उनी मेथम्बा भीरमा मह सिकार गरेको यो वर्ष २५ टेकेको छ । आधुनिक मह काढने सामान छैन उनीसँग । परम्परागत तरिकामा उनी भीरमा बाबियोको लठारोमा चढछन् ।

त्यो पनि खाली हात र खुट्टाले । लाग्छ भीर मौरी उनका साथी हुन् । अरुलाई चाका चलाउँदा लखेटने भीरका काला मौरीले उनलाई मह काढन स्वागत गरेको जस्तो । भीर मौरीको सिकार निकै जोखिमपूर्ण हुन्छ । मह काढन साहस चाहिन्छ । भीरको सिरानमा किला गाढेर बाबियाको डोरी तल खसालिएका छ ।

किला गाडेको स्थानमा उनका २ सहयोगी बसेका छन् । तल ढुवाँ लाउने र अलि माथीबाट झारेको मह छान्ने । कोही बुट्यानका काँचो स्याउला बोकेर ल्याउने र चाका देखाउने छन् । यो वर्ष ८ जनाको समूह बनाएर भीर मौरीको मह सिकार गर्न आएको उनले बताए ।

‘मेथाम्बे भीर निकै जोखिमले भरिएको छ,’ उनले भने, ‘२५ वर्ष यही भीरबाट मह काढेकाले बानी परिसकेको छ ।’

सिकारीले मंसिर र जेठमा गरेर दुई पटक भीर मौरीको मह काढ्ने गर्छन् । खाली हात र खट्टाले डोरीको लठारोमा निगालोको तिखो चुच्चोले अप्ठ्यारा भीरमा मह काढ्ने उनी पाका मगर मह सिकारी हुन । पहिलादेखि नै खाली खुट्टै चढ्थेँ बानी परिसक्यो जुत्ता लगाउँदा असहज हुन्छ,’उनले भने, ‘हातमा पनि केही लगाउँदिन निगालो समाउन अप्ठ्यारो हुन्छ । खाली हातले सजिलै गर्न सकिन्छ ।’


प्रकाशित : मंसिर १६, २०८० १९:५३
प्रतिक्रिया
पठाउनुहोस्