१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

माडी सराईको महोत्सवमा मौलिक झाँकी [तस्बिरहरु]

माधव अर्याल

पाल्पा — पाल्पामा दोस्रो माडी सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव कसेनीको सराईमा सुरू भएको छ । १३ दिनसम्म चल्ने महोत्सवको पहिलो दिन सांस्कृतिक झाँकी, र्‍याली निकालिएको छ । र्‍यालीमा स्थानीय आमा समूह, विद्यालय, युवा, विद्यार्थीको सहभागिता रह्यो ।

माथागढी कसेनीस्थित सराई युवा क्लबको आयोजना, माथागढी गाउँपालिका–३, कसेनीको सहआयोजनना, माथागढी गाउँपालिकाको संरक्षकका साथै जयमातादी एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिको व्यवस्थापनमा महोत्सव भएको हो । महोत्सवको माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले उद्घाटन गरे ।

माडी क्षेत्रको आर्थिक विकास तथा अन्य विकासमा सम्भावनाको खोजी गर्न महोत्सवले सहयोग गर्ने उनले बताए । कला, संस्कृति, शिक्षाका साथै परम्परागत पेसा व्यवसायलाई प्रवर्द्धन गर्न महोत्सव सहयोगी बन्नुपर्नेमा जोड दिए । माथागढी तथा माडी क्षेत्र सहर उन्मुख हुँदै गएकाले यस क्षेत्रलाई सहरीकरणका साथै औद्योगिकीकरण गर्दै व्यवसायको प्रवर्द्धनमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

बसाइँसराई उच्च दर रहेको कसेनी माडी क्षेत्रमा कृषि उत्पादनलाई प्राथमिकता दिएर माडी क्षेत्रलाई अघि बढाउन सकिने महोत्सवमा पुगेका तानसेन–९, का वडाध्यक्ष राजेशकुमार अर्यालले बताए ।

महोत्सवमा सय स्टल रहेका छन् । करिब ७० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको क्लबका सचिव नारायणसिं रानाले बताए । महोत्सवमा विभिन्न जातजातिका भेषभूषा सहितको झाँकी र विद्यालय तथा खुल्ला नृत्य प्रतियोगिता गरिने छ ।

प्रकाशित : मंसिर १०, २०८० १७:५४
प्रतिक्रिया
पठाउनुहोस्