उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन

काठमाडौँ — सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रतालुले यस वर्षको छठ पर्वलाई बिदा गरेका छन् । व्रतालुहरू झिसमिसेदेखि नै जलाशयमा उभिएर सूर्योदयको प्रतीक्षामा थिए ।


‘बिहनीयाघाट’ भनिने यस दिन व्रतालुले सूर्यलाई बाँसको सुपुलीमा नरिवल र अन्य पूजा सामग्रीसहित अर्घ्य दिए । व्रत समापनपछि व्रतालुले परिवारजन र आफन्त, इष्टमित्रलाई टीका लगाइदिएका थिए ।

छठको पहिलो दिन नहाय खायु र दोस्रो दिन खरना गरेका व्रतालुहरूले आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य चढाएका थिए । रातभर घाटमै पूजापाठ गरी उनीहरूले आज उदाउँदो सूर्यदेवलाई अर्घ्य दिएका हुन् ।











