लक्ष्मी झाँकीले झकिझकाउ

कपिलवस्तु — तिहारको अवसरमा यहाँका गाउँघर र सहर बजारमा भगवान लक्ष्मीको झाँकी निकालिएको छ । झाँकीले गाउँघर, चोक, सहरबजार झकिझकाउ बनेका छन् । यसले तिहारको रौनक बढाएको छ । लक्ष्मी पूजा गर्नेको चहलपहलसँगै तिहार उल्लासमय बनेको छ । बिहान, साँझ र विशेष गरी रातिका बेला पूजा गर्नेको घुइँचो हुने गरेको छ । झिलीमिली बत्तीसँगै माइक बजाएर भजनकीर्तन र धार्मिक गीत बजाउँदा तिहारको माहोल बनेको छ ।


सदरमुकाम तौलिहवा, बर्रोहिया, लवनी, महाराजगन्ज, बहादुरगन्ज, चन्द्रौटा र कृष्णनगरमा सय बढी झाँकी निकालिएका छन् । लक्ष्मी पूजाका दिन शुक्रबारदेखि निकालिएको झाँकी भाइटीकाको अर्कोदिन बिहीबार नदी, तलाउमा लगेर धार्मिक विधिपूर्वक विसर्जन गरिने तौलिहवास्थित मालटोलमा लक्ष्मी झाँकी निकालेका लक्ष्मी झाँकी व्यवस्थापन समिति अध्यक्ष शिव गुप्ताले बताए ।







