कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४४

भृकुटीमण्डपमा फूलमाला किनबेच [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — काठमाडौँ महानगरपालिकाले तिहारका अवसरमा नेपाली फूलको प्रयोग र उत्पादनलाई प्रवर्द्धन गर्न महानगर क्षेत्रभित्रका चार स्थानमा बिक्रीवितरणका लागि सहजीकरण गर्ने भनेपछि भृकुटीमण्डपबाट आइतबार फूलमाला किनबेच गरिएको छ । महानगरको सूचनापछि दर्जन किसान तथा व्यापारीहरु सयपत्री फूलमाला लिएर आइतबार भृकुटीमण्डपमा भेला भएका थिए । आइतबार तिहारको दोस्रो दिन कुकुरको पूजा र लक्ष्मीपूजा मनाइएको छ । व्यवसायीहरुले यसपाली सयपत्रीलगायतका फूलमाला बिक्रीबाट निकै घाटा लागेको गुनासो गरेका थिए । 

महानगरले नेपाली फूल सयपत्री, मखमली र गोदावरीलाई सहज र सुलभ मूल्यमा उपभोक्तासमक्ष पुर्‍याउन भृकुटीमण्डप, तीनकुने, बालाजुस्थित भ्याली कोल्डस्टोर र हाँडीगाउँ कृष्णमन्दिर नजिक बिक्रीस्थल तोकेको हो । 

नेपाल फ्लोरिकल्चर एशोसिएनका अध्यक्ष मीनबहादुर तामाङले अघिल्ला वर्षको तुलनामा यस वर्ष करिब दुई सय बिघा बढी जग्गामा  फूलखेती वृद्धि भएकाले नेपाली बजारमा स्वदेशी उत्पादनले धान्ने बताए । गाउँघरमा आफ्नै खेतबारीमा उत्पादन हुने भए पनि अधिकांश किसानले यसलाई व्यावसायिक प्रयोजनसित जोड्न सकेका छैनन् ।

तिहारमा मात्रै सहरी क्षेत्रमा झण्डै ४० लाख थान माला बिक्री हुने गरेकामा त्यसमध्ये सयपत्रीको ३५ लाख थान तथा बाँकी गोदावरी, मखमलीलगायत फूलको माला बिक्री हुने गरेको छ । तिहारमा मात्रै करिब ३५ करोड रुपैयाँ बराबरको फूलको कारोबार हुने गरेको बताइएको छ ।

प्रकाशित : कार्तिक २६, २०८० १९:११
प्रतिक्रिया
पठाउनुहोस्