कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टप अफ दि वर्ल्ड गल्फ क्लासिकको उपाधि तामाङलाई

तस्बिर : हेमन्त श्रेष्ठ

मुस्ताङ — टप अफ दि वर्ल्ड गल्फ क्लासिकको उपाधि लगातार दोस्रो पटक श्याम तामाङले जितेका छन् । मुस्ताङ गल्फ कोर्समा स्टेबलफोर्ड फुल ह्यान्डीक्याप फर्म्याटमा भएको नौ होलको प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन श्याम तामाङले १९ अंकसहित उपाधि रक्षा गरे । उनले लिलाजंग गुरूङलाई हराएका हुन् । लिलाले भने १८ अंक बनाउँदै दोस्रो स्थान हासिल गरे ।

यस्तै ग्रसतर्फ रविन रानाले काउन्ट ब्याकमा उपाधि जिते । ११ अंकमा याम राणा र पीबी राईसँग उनको बराबरी भएपछि विजेताको छिनोफानो काउन्ट ब्याकमा गरिएको हो । यस्तै महिलातर्फ जुनी गुरूङले उपाधि जितेकी छन् । उपाधि जित्ने क्रममा जुनीले १५ अंक जोडिन् । उनले सुष्मा सिंहलाई पराजित गरेकी हुन् । दोस्रो भएकी सुष्माले १३ अंक बनाइन् ।

सिनियरतर्फ भने १६ अंकसहित बलराम थापा पहिलो भएका छन् । प्रतियोगिताको क्लोजेस्ट टु दि पिनको उपाधि मेजर विजोय मोक्तान, लङगेस्ट ड्राइभको उपाधि माधव सिम्खडा र मोस्ट बर्डिजको उपाधि आत्मराम सिम्खडाले जिते । ४ हजार ६ सय ५० मिटरको उचाइमा भएको प्रतियोगितामा चार महिलासहित २८ गल्फरको सहभागिता रहेको थियो । विश्वकै सर्वाधिक अग्लो स्थानमा रहेको यो गल्फ कोर्स गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ज गर्ने प्रक्रियामा रहेको छ । गत वर्ष यो गल्फ कोर्सको उद्घाटन भएको हो ।

मुस्ताङ गल्फ कोर्सद्वारा आयोजित प्रतियोगिता लोमान्थाङ गाउँपालिका, नेपाल इन्भेस्टमेन्ट बैंक, प्रभु बैंक, जर्मन बेकरी पोखरा र चिम्ले अर्किडको सहयोगमा सम्पन्न भएको हो । विजयी खेलाडी तथा सहभागीलाई लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासी नोर्बु गुरूङ, उपाध्यक्ष छिम्मी बिष्ट, प्रशासकीय अधिकृत बुद्धिराम उपाध्याय, नेपाल गल्फ संघका उपाध्यक्ष पवित्र कुमार कार्की, लो-घेकर दामोदर कुण्ड गाउँपालिकाका अध्यक्ष लोब्साङ छोम्पेल बिष्ट र मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधारा बिष्टले पुरस्कार वितरण गरे ।

प्रकाशित : भाद्र ३०, २०८० १९:२१
प्रतिक्रिया
पठाउनुहोस्