२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

स्वास्थ्य शिविरमा हुम्लीको घुइँचो [फोटोफिचर]

जनकबहादुर शाही

हुम्ला — हुम्लामा तीन वर्षपछि बिहीबार विशेषज्ञ सेवासहितको निःशुल्क बृहत् एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।जिल्लाको सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा आयोजना गरिएको शिविरको बिहान ११ बजे जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले उद्घाटन गरेका हुन् । शिविरमा पहिलो दिनमै ८ सय ४९ जनाले सेवा लिएका छन् । जसमा ३ सय ५५ जना पुरुष र ४ सय ९४ महिला थिए ।

शिविरमा सबैभन्दा बढी हार्ड जोर्नी र स्त्री रोगका बिरामी देखिएको जिल्ला अस्पताल हुम्लाले जनाएको छ । प्रारम्भ सामाजिक संस्था ललितपुर र सिंगापुर रेडक्रस सिंगापुरको सहयोग र सिमकोट, नाम्खा, खार्पुनाथ गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयको आयोजनामा शिविर सञ्चालन गरिएको हो । विशेषज्ञ चिकित्सकले उपचार गर्ने भएपछि जिल्ला अस्पतालको प्रागंणमा बिहानैदेखि सेवाग्राहीको घुइँचो लागेको छ । शिविरमा उपचारका लागि जिल्लाका करिब ४ हजार सेवाग्राहीले सेवाले लिने अनुमान गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताए ।

जेठ २७ गतेसम्म संचालन हुने शिविरका लागि ६ जना विशेषज्ञ चिकित्सकसहित ११ जनाको टोली सिमकोट पुगेको छ । कोरोनापछि पहिलो पटक जिल्लामा विशेषज्ञ सेवासहितको निःशुल्क बृहत् एकीकृत स्वास्थ्य शिविर संचालन गरेको प्रमुख सिंहले बताए । शिविरमा मुटु रोग, प्रसूति तथा स्त्री रोग, जनरल फिजिसियन, हाडजोर्नी तथा नसा, नाक, कान र घाँटी, छाला रोग र बाल रोगलगायतको पहिचान गरी सम्भव भए हुम्लामै र नभए जिल्ला बाहिर सुविधासम्पन्न अस्पतालमा उपचारका लागि रिफर गर्ने आयोजक सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले बताए । शिविर बिहान ८ देखि बेलुका ४ बजेसम्म सञ्चालन तोकिएको छ ।

प्रकाशित : जेष्ठ २५, २०८० १८:०६
प्रतिक्रिया
पठाउनुहोस्