मार्सीफाँटमा रोपाइँ

डीबी बुढा

जुम्ला — विश्वको उच्च स्थानमा फल्ने उपमा पाएको कालीमार्सी धानको रोपाइँको रौनक जुम्लाभर सुरु भएको छ । किसानहरु मार्सीधानको बिउ बोकेर खेतमा रोप्न व्यस्त छन् । किसानहरु लस्करै लागेर रोपेको दृश्य नाग्म हुँदै रारा ताल जाने हरेक पर्यटकहरूले क्यामेरामा कैद गरिरहेका देखिन्छन् ।

किसानहरूले बेर्नाबाट धानको बिउ खेतमा लैजाँदै गरेको, काँधमा हलो बोकेको, हरेक खेतमा हलो जोतिरहेको र लस्करै लागेर रोपाइँ गीतसँगै धानको बिउ महिलाहरूले रोपिरहेको दृश्यले हरेक बटुवाहरूको मन छुने गरेको छ । 

विगत वर्षहरूभन्दा कालीमार्सीको उत्पादन बर्सेनि घट्दो क्रममा भए पनि किसानहरूको मार्सी धानप्रतिको मोह भने घटेको छैन । जुम्ली किसानले उत्पादन गरेको मार्सी धानको चामल तत्कालीन राजा–रजौटालाई हुलाकबाटै पठाउने गरिन्थ्यो ।  जंगली धान भएकाले यसलाई कालीमार्सी भनिएको जुम्लाका संस्कृतविद् रमानन्द आचार्यले बताए । 

जुम्लामा धान खेती बेंशी क्षेत्र (समुद्री सतहबाट २ हजारदेखि २२ सय मिटर) र उच्च क्षेत्र (समुद्री सतहबाट २८ सयदेखि ३ हजार मिटर) मा हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लाको झन्डै १५ सय हेक्टर जमिनमा मार्सीधानको खेती गर्ने गरिन्छ । 


प्रकाशित : जेष्ठ २५, २०८० १५:४२
प्रतिक्रिया
पठाउनुहोस्