कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राराको बिसौनी खालीपाटन

डीबी बुढा

जुम्ला — जुम्ला सदरमुकाम खलंगादेखि झण्डै एक घण्टाको सडक दूरी पार गरेपछि पुगिने ठाउँ हो खाली पाटन । जहाँ डाँडाहरूको खोंचमा फैलिएका हरियाली सुन्दर चौरले पर्यटकको मन लोभ्याउँछन् । वर्षायाममा प्राय: यहाँ भेडाबाख्रा, गाईबस्तुहरु चरिरहन्छन् । हिउँदमा हिउँले ढपक्कै ढाकिन्छ यो पाटन । यही पाटन भएर पर्यटकहरू राराताल पुग्छन् । रारा जाने सडक नै खाली पाटनको बीचैमा पर्ने भएकाले यो ठाउँ पर्यटकहरुको विश्रामस्थल जस्तै बनेको छ । जिपमा यात्रा गर्नेहरू पनि फोटो खिच्न यो पाटनमा ओर्लिने गरेका हुन्छन् ।

स्थानीय दलबहादुर बुढाका अनुसार पछिल्लो समय यो ठाउँ पिकनिक स्पटको रुपमा पनि परिचित छ । डोफाड्ना, बलिफिर, डोरपाटन, झुलारुख पाटन र डाँफे लेकले घेरिएको खालीपाटन प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । तत्कालीन राजा वीरेन्द्र जुम्लादेखि घोडा चढेर राराताल जाने क्रममा एक रात बास बसेको ठाउँ भएकाले पनि खाली पाटन नजिकैको मैदानलाई 'राजा चौर' भनिन्छ । यस क्षेत्रमा भुजपत्र, ठिंगो सल्लो र खर्सुका रुखहरु प्रसस्त पाइन्छ । साथै बटुवालाई पानी पिउन ठाउँठाउँमा पानीका मूहान भेटिन्छन् ।

यस क्षेत्रमा सेतो चिमालो लगायत झण्डै ४० भन्दा बढी प्रजातिका फूल फुल्ने गरेका छन् । अतिस, भुल्ते, सतुवा, कटुको, पाँचऔंले, बायोजडी, गन्नाइनो, चुक, तितो लगायतका सागहरु पनि पाटनमै पाइन्छ । यो सिजनमा त ठूलो संख्यामा किसानहरु साग टिप्न पाटनतिरै भेटिन्छन् ।डाँफे, कालीज, बनकुखुरादेखि च्याखुराहरुको बासस्थान मानिने यस क्षेत्र दुर्लभ मानिएको रेड पाण्डाको पकेट क्षेत्र पनि हो । नजिकैको जंगलमा रेडपाण्डाको अनुसन्धान पनि भइरहेको छ ।

जुम्ला सदरमुकामदेखि खाली हुँदै रारा जाने सडक निकै छोटो पर्ने भएकाले पछिल्लो समय पर्यटकहरुको प्रमुख रोजाइ पनि बनेको खाली पाटन । हिउँदमा भने यो ठाउँ ढपक्कै हिउँले पुरिन्छ ।


प्रकाशित : जेष्ठ २३, २०८० २०:२६
प्रतिक्रिया
पठाउनुहोस्