कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

जब तमोरमा बाढीले मान्छे बगायो ! [तस्बिरहरु] 

लक्ष्मी गौतम

पाँचथर — शनिबार मध्याह्न तमोर नदीमा बाढी आएर मानिस बगाएपछि उद्धारमा सहयोग गर्न स्थानीयले नेपाली सेनालाई फोन गरे । 'तपाईंहरु आफू जोगिएर उद्धारको पहल गर्नुहोस् हामी आइपुग्छौं' भनेर सैनिक अधिकारीले फोन राखे । लगत्तै सेना, प्रहरी र सशस्त्र प्रहरी घटनास्थल पुगे ।

खोलाले बगाइरहेका एकजना मानिस बचाउ बचाउ भन्दै चिच्याउँदै थिए । पौडदै गएर दुई जना सुरक्षाकर्मीले उनलाई समातेर बाहिर निकाल्नासाथ उपचारका लागि स्वास्थ्य संस्था पठाए । केहीबेरपछि पुनः अर्धचेत अवस्थाका मानिस खोलाले बगााउँदै ल्यायो । सुरक्षाकर्मीले उनको पनि उद्धार गरे । तेस्रो मानिस खोंचमा खसेको रहेछ । तमोर नदी पुलबाट डोरी झुन्ड्याएर ती व्यक्ति भएको स्थान पुगेका दुई सैनिकले उनको पनि उद्धार गरे । उद्धारपछि स्वास्थ्य परीक्षण गर्दा उनको निधन भइसकेको हुन्छ । प्रहरीले आवश्यक कागजात बनाएर उनको शव आफन्तलाई बुझायो । केहीबेरमा दुईजना मानिस तमोरबाट बग्दै आएर खोलाको माझमा अडिए ।

सुरक्षाकर्मीले वारि र पारि डोरी टाँगेर झुन्डिँदै उनीहरुलाई सकुशल उद्धार गरे । यी दृश्य शनिबार पाँचथर र तेह्रथुमको सिमावर्ती तमोर नदी गड्तीरमा जिल्ला विपद् व्यवस्थापन समितिले गरेको विपद् पूर्वतयारी अभ्यासका दृश्य हुन् । विपदजन्य घटना भइरहने तमोरमा सुरक्षा निकायले विपद् पूर्व तयारी अभ्यास गरेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा विपद् पूर्वअभ्यास गरेका हुन् ।

बाढीमा बग्दै गरेका नागरिकको उद्धार, घाइतेको उद्धार र उपचार तथा मृत्यु भइसकेकाहरुको शव निकाल्ने नमुना अभ्यास गरिएको थियो । कार्यक्रममा खोंचमा खसेका नागरिकको उद्धारसँगै पुल नभएका खोलामा भेल बाढीमा फसेकाहरुलाई बाहिर निकाल्ने विधिको समेत अभ्यास गरिएको थियो ।

जिल्ला विपद व्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रममा बाढी, भेल, पहिरो र पहिरोसहित सबैखाले उद्धारमा सुरक्षा निकाय र आमनागरिकको सहकार्य अपरिहार्य हुने आवश्यकता औंल्याइएको थियो । तमोर नदीमा वर्षेनि धेरै संख्यामा मानिस बग्ने र हराउने गरेकाले जोखिमयुक्त स्थानमै विपद पूर्वतयारी अभ्यास गराइएको प्रमुख जिल्ला अधिकारी मेघबहादुर मग्रातीले जानकारी दिए ।


प्रकाशित : जेष्ठ २०, २०८० १६:४०
प्रतिक्रिया
पठाउनुहोस्