मनाइयो रातो मत्स्येन्द्रनाथको भोटो जात्रा

तस्बिर : इलिट जोशी

काठमाडौँ — वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो बिहीबार देखाइएको छ । मत्स्येन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएका हुन् । अवसरमा राष्ट्रपति पौडेलले रातो मत्स्येन्द्रनाको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरे । उनले जीवित देवी कुमारीको दर्शन पनि गरे ।

भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल , सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा मन्त्रीहरु सहभागी थिए ।भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मत्स्येन्द्रनाको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ ।

भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उनले बताए । मत्स्येन्द्रनाको यात्रा भने करिब एक हजार तीन सय वर्ष अघि नै सुरु भएको हो । किम्वदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोकअर्थात् टौदह लगे ।

डराएका किसानले मत्स्येन्द्रनाको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले ।

मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे । पाएनन् । मच्छेन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रुपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मत्स्येन्द्रनाको जिम्मा लगाइयो ।

आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मत्स्येन्द्रनाको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किम्बदन्ती छ ।


प्रकाशित : जेष्ठ ११, २०८० १८:११
प्रतिक्रिया
पठाउनुहोस्

स्टार्टअप कर्जाका लागि १८६ उद्योग दाेस्राे चरणकाे मूल्यांकनका लागि छनाेट

कान्तिपुर संवाददाता

काठमाडौँ — उद्योग विभागले स्टार्टअप कर्जाको दोस्रो चरणकाे मूल्यांकनका लागि १८६ वटा उद्योगलाई छनोट गरेको छ । मूल्याकंन प्रक्रियाबाट छनोट हुने उद्योगलाई मात्र कर्जाका लागि राष्ट्र बैंकसमक्ष सिफारिस गर्ने विभागले जनाएको छ ।

विभागले चैत १६ गते कर्जा लिन इच्छुक स्टार्टअप उद्यम गर्ने उद्यमीलाई परियोजना प्रस्ताव पेस गर्न २१ दिने सूचना जारी गरेको थियो । उक्त अवधिमा ४०५ वटा उद्यमीले परियाेजना प्रस्ताव पेस गरेका थिए । विभागले एकल लगानी भएको, सात वर्ष नाघेको, प्राइभेट फर्म, सूचना पश्चात साझेदारी फर्म भएको, पालिकामा एकल व्यवसाय दर्ता देखिएका २१९ वटा उद्याेगलाई पहिलो चरणको मूल्याकंन प्रकृयाबाट हटाएको जनाएकाे छ ।

स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९ अनुसार कम्पनीको चुक्ता पुँजी ५० लाखभन्दा बढी नभएको, उद्यमको कुल आय ५० लाख भन्दा बढी नभएको, स्थिर पुँजी (घररजग्गाको मूल्य बाहेक) ३ करोडभन्दा बढी नभएकोलगायत मापदण्डहरु तोकेकाे थियो । त्यस्तै उद्यममा पूर्णकालीन कामदारको संख्या १० भन्दा बढी नभएको, कुनै वस्तु वा सेवाको उत्पादन वा वितरण प्रक्रियामा उपभोक्ताले भोग्दै आएको समस्यालाई समाधान गर्न सूचना प्रविधिको उपयोग एवम् सिर्जनशील सोचको प्रयोग भएकाले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । कार्यविधिअनुसार सहुलियत पूर्ण कर्जा अधिकतम २५ लाख रुपैयाँ हुनेछ, भने सोका लागि परियाेजना धिताे हुनेछ ।

प्रकाशित : जेष्ठ ११, २०८० १८:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×