सिथि नख: मा पानीका स्रोतको सफाइ

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — नेवार समुदायले आजका दिन टोल छिमेकमा रहेका पानीका स्रोतहरू सफा सुग्घर पारी सिथि नख: विशेष रुपमा मनाउँदै छन् । ढुंगेधारा, इनार, कुवा लगायत पानीका स्रोत तथा मुहान सरसफाइ गर्ने चाडको रुपमा सिथि नख: मनाउने गरिन्छ । आजकै दिन पानीका स्रोतहरूको पूजा समेत गरिन्छ । भक्तपुरको दत्तात्रयमा सिथि नख: का अवसरमा पानीका स्रोतहरू सफा गरिएको छ ।

हिन्दु धर्मशास्त्र अनुसार महादेवको जेठो पुत्र कुमारको जन्मदिनमा यो चाड मनाउने प्रचलन छ । यस अवसरमा उपत्यकाका नेवार समुदायले पानीका स्रोत सफा गरी विभिन्न परिकार बनाएर खाने गर्छन् । विशेषगरी चामलको पिठो, मास, केराउ र मुगीको बाराको परिकार बनाएर खाने प्रचलन छ । हिन्दु धर्मअनुसार यस चाडलाई कुमारको पूजा गर्ने दिनको रुपमा पनि मनाइन्छ ।

प्रकाशित : जेष्ठ ११, २०८० १०:०२
प्रतिक्रिया
पठाउनुहोस्

रुकुम पश्चिममा जिप दुर्घटना : ४ जनाको मृत्यु, १० घाइते  

महेश केसी

रुकुम पश्चिम — रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८, दुलीमा बिहीबार बिहान जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा १० जना घाइते भएका छन् । 

बाँफिकोट–८ वडा अध्यक्ष धनबहादुर खत्रीका अनुसार मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–५ का कर्णे बाठा र देउचन खत्री रहेका छन् । त्यस्तै बाँफीकोट गाउँपालिका-८ की रेखा खनाल केसी र उनका २२ दिने छोरा रोशनको पनि दुर्घटनामा मृत्यु भएको छ ।

जिपमा जम्मा १४ यात्रु सवार थिए । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको वडाध्यक्ष खत्रीले बताए । गम्भीर घाइतेहरूलाई हेलिकप्टरबाट उपचारका लागि अन्यत्र लैजाने तयारी रहेको उनको भनाइ छ ।

सानीभेरी गाउँपालिका–३ घ्युढुंगाबाट मुसीकोटतर्फ आउँदै गरेको जु १ ज १७४७ नम्बरको जिप भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख नमराज भट्टराई बताए । घटनास्थलमा उद्धारको काम भइरहेकोले यसबारे विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।

प्रकाशित : जेष्ठ ११, २०८० ०९:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×