क्रिकेटका 'क्रेजी फ्यान', छाता ओढेरै खेलको प्रतीक्षा

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल र युएईबीचको फाइनल खेल हेर्नका लागि दर्शकहरू व्यग्र बनेका छन् । अहिले दोस्रो पटक पानीका कारण खेल रोकिएको छ । यस्तोमा छाता ओढेर कुरिरहेका दर्शकहरू खेल कतिबेला सुरू हुने हो भनेर चिन्तित बनेका हुन् । पानी परेपछि पिचलाई त्रिपालले छोपिएको छ । पानी रोकिने र खेल सुरु हुने आशामा खेल हेर्न पुगेका दर्शक छाता ओढेर प्रतिक्षारत छन् ।

नेपाल र युएईबीच भइरहेको खेलमा सोमबार बिहान दोस्रोपटक पानी परेपछि रोकिएको हो । आज बिहान १० बजेर २५ मिनेटमा त्रिवि क्रिकेट मैदानमा पानी परेपछि केहीबेर खेल रोकिएको थियो । पानी पर्न रोकिएपछि खेल पुनः सुरु भएको थियो । ११ बजेर ४८ मा फेरि पानी परेपछि खेल रोकिएको छ । नेपालले टस जितेर बलिङ गरिरहेको छ । युएईले २७.३ ओभरमा ९ विकेट गुमाउँदै १०६ रन बनाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार सोमबार र मंगलबार नै हावाहुरीसहित वर्षा हुने सम्भावना ८० प्रतिशतभन्दा बढी हुने मौसम पूर्वानुमान छ ।


प्रकाशित : वैशाख १८, २०८० १०:४९
प्रतिक्रिया
पठाउनुहोस्