कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पुष्प मेलामा चहलपहल

तस्बिर : दीपक केसी

काठमाडौँ — भृकुटीमण्डपमा ‘२४औँ फ्लोरा एक्स्पो’ (पुष्प मेला) चलिरहेको छ । पुष्प व्यवसायको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एशोसियसन नेपालले आयोजना गरेको मेला शुक्रबारदेखि सुरु भएको हो । फ्लोरिकल्चर एसोसियसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले अहिले नेपालमा कृषि क्षेत्रमा लगानी घट्दै जाँदा उत्पादन खुम्चिएको र त्यसले आयात बढ्न गएको बताए ।

मेलामा ८० वटा स्टल छन् । जसमध्ये ६२ वटा व्यावसायिक स्टल, तीन वटा ल्यान्डेस्केपिङ स्टल, १० वटा अफिसियल स्टल, तीन वटा प्रतियोगितात्मक प्रदर्शनी स्टल र दुई वटा फुड स्टल छन् । मेलामा मौसमी फूल, कट् फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलका बीउबिजन, ग्रीन हाउस, कृषि औजार, विषादी, प्याकेजिङ सामग्रीलगायतका स्टल राखिएका छन् ।

पुष्प नर्सरी, आपूर्तिकर्ता कम्पनी, व्यावसायिक तथा विभिन्न सङ्घसंस्थाका साथै भारत र बङ्गलादेशका पुष्प व्यवसायी पनि मेलामा सहभागी रहेको आयोजकको भनाइ छ । ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ सुरु भएको मेला चैत २० गतेसम्म चल्नेछ ।


प्रकाशित : चैत्र १८, २०७९ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्