सिन्धुलीगढीमा अमेरिकी, बेलायती, भारतीय र पाकिस्तानी सेना

कमलामाइ नगरपालिकामा रहेको युद्ध संग्रहालयमा तत्कालीन युद्धका बेला प्रयोग गरिएका घरेलु हतियारबारे विदेशी सैनिक अधिकारीहरूलाई जानकारी दिइएको थियो ।
राजकुमार कार्की

सिन्धुली — चार देशका सेनाको टोलीले शुक्रबार ऐतिहासिक सिन्धुलीगढीको अवलोकन गरेको छ । अमेरिका, बेलायत, भारत र पाकिस्तानका सैनिक अधिकारीहरूले सिन्धुलीगढीको भ्रमण गरेर ऐतिहासिक महत्त्वबारे जानकारी लिएका थिए ।

नेपाली सेनाको आमन्त्रणमा ती देशका ८ जना आवासीय सैनिक सहचारीहरुलाई अवलोक भ्रमण (स्टाफ राइड) गराई सिन्धुलीगढीको महत्त्वको बारेमा प्रकाश पारिएको थियो । नेपाली सेनाको हेलिकोप्टरबाट आएको टोलीले सिन्धुलीगढी परिसरमा चार घण्टा बिताएका थियो ।

सिन्धुलीगढीको महत्त्वबारे प्रकाश पारेका अन्वेषणकर्ता सागरकुमार ढकाललाई बेलायती सेनाका कर्णेल पल स्मिथले नेपाल एकीकरणका क्रममा सिन्धुलीगढीमा भएको युद्धमा ब्रिटीस सेना पराजित हुनुको कारण बारे पटक–पटक सोधेका थिए । आधुनिक हतियारले सुसज्जित ब्रिटीस कम्पनी सेनाको पराजयबारे उनको लामो जिज्ञासा थियो ।

जवाफमा अन्वेषणकर्ता ढकालले वीर गोर्खाली सेनाले आफ्नो देशको अस्तित्व रक्षाका लागि घरेलु हतियार तथा रैथाने किरा र अल्लो, सिस्नोको सहारामा मनैदेखि लडेकाले जित भएको स्मरण गराएका थिए ।

सिन्धुलीगढीबारे जानकारी लिएपछि सेनाले निर्माण गरेको नेपालकै पहिलो युद्ध संग्रहालयको सहचारी सेनाहरुले अवलोकन गरेका थिए । कमलामाइ नगरपालिका मातहत रहेको युद्ध संग्रहालयमा तत्कालीन युद्धका बेला प्रयोग गरिएका घरेलु हतियारबारे मेयर उपेन्द्रकुमार पोखरेलले जानकारी दिएका थिए ।


युद्ध संग्रहालयमा संग्रहित गर्न स्थानीयका घरमा भएको घरेलु हतियार भरुवा बन्दुक, तरबार, खुँडा, खुकुरी, तीर अनुरोध गरेरै संकलन गरिएको मेयर पोखरेलले बताएका थिए । टोलीलाई ठूलोगढीमा रहेको तोप हान्ने प्वाल, इनार लगायत क्षेत्र देखाइएको थियो । गढीबाट आडासम्म हिँडाएर स्थानको अवलोकन गराइएको थियो । आडामा रहेको तत्कालीन ढोकालाई सैनिक सहचारी सैनिकहरुले चाखपूर्वक हेरेका थिए ।

नेपाल एकीकरणका बेला तत्कालीन काठमाडौंका राजा जयप्रकाश मल्ललाई सहयोग गर्न ब्रिटीस सेनाका कप्तान किनलोकको नेतृत्वमा आएको इष्ट इण्डिया कम्पनीका दुई हजार चार सय फौजलाई वंशु ग्रुप नेतृत्वको गोर्खाली फौजले सिन्धुलीगढी युद्धमा घरेलु हतियारको सहाराले पराजित गरेको इतिहास पाइन्छ । नेपाली सेनाको ९ नं बाहिनीपती शक्तिजंग बस्नेत र बर्दबहादुर गणका गणपति रमेश थापाले मित्रराष्ट्रका सैनिक सहचारीहरुलाई नेपाली सेना र सिन्धुलीगढीका विषयमा व्याख्या गरेका थिए । भारतीय सेनाका कर्णेल अमित शर्माले ऐतिहासिक गाथा बोकेको सिन्धुलीगढीमा आएर आफू प्रफुल्ल भएको बताए ।






तस्बिर : राजकुमार कार्की/कान्तिपुर प्रकाशित : चैत्र १७, २०७९ २०:४५

प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेस बाँकेको शनिबार प्रथम सम्मेलन 

रुपा गहतराज

नेपालगन्ज — नेपाली कांग्रेस बाँकेले शनिबार प्रथम जिल्ला सम्मेलन गर्ने भएको छ । सम्मेलनलाई विगतको समीक्षा र आगामी कार्ययोजना प्रस्तुत गर्ने थलोको रुपमा प्रयोग गरिने कांग्रेस बाँकेका सभापति नारायण गौडेलले बताए । उनका अनुसार सम्मेलनमा एक हजार ६ सय प्रतिनिधि सहभागी हुनेछन् । 

केन्द्रीय महामन्त्री गगन थापाले उद्घाटन गर्ने सम्मेलनमा सांगठानिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, वार्षिक नीति तथा कार्यक्रमको प्रस्तुतिकरणसँगै प्रजातन्त्र सेनानी, पूर्व पार्टी सभापति, उत्कृष्ट वडा सभापति, महिला वडा सभापति, सहिद परिवार तथा जनआन्दोलन र द्वन्द्वका घाइतेलाई सम्मान गर्ने कार्यक्रम रहेको जिल्ला सचिव सुधांशु कोइरालाले बताए ।

प्रकाशित : चैत्र १७, २०७९ २०:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×