कोशी नामांकन विरोधमा मार्चपास

तस्बिर : केशव थापा

काठमाडौँ — कोशी प्रदेशको नाम खारेजी माग गर्दै पहिचान पक्षधर संगठनहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । बृहत् नागरिक आन्दोलन लगायत विभिन्न संगठनका अगुवाहरूले माइतीघरदेखि नयाँ वानेश्वरको संसद्‍ भवनसम्म मार्चपास गरेका हुन् । शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा कोशी प्रदेशको नाम खारेज गर्न माग गर्दै विरोध प्रदर्शन भएको हो । शुक्रबार सचेत पहिचानवादी संघर्ष समिति, किरात याक्थुङ चुम्लुङ काठमाडौं लगायत पहिचानवादी संस्थाहरुले विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा नागरिक समाजका अगुवाहरूको पनि बाक्लो उपस्थिति छ । प्रदर्शनमा सहभागीमध्ये एक राजन मुकारुङले कुनै पनि आवाजलाई वार्ताद्वारा सम्बोधन गर्नु असल संस्कृति भएकाले चाँडो भन्दा चाँडो समस्या समाधानतर्फ जानु उचित हुने बताए । नागरिकको समस्या समाधान गर्न नसके प्रदेश सरकार र केन्द्र सरकारको नेतृत्वले राजीनामा दिनुपर्ने उनले बताए । यस्तै प्रदेश नामकंन विरोधको प्रदर्शनका क्रममा मृत्यु भएका लाजेहाङ लिम्बूलाई सहिद घोषणा गर्न पनि प्रदर्शनकारीहरूले माग गरेका छन् ।


प्रकाशित : चैत्र १७, २०७९ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्

राजनीतिमा लागेको ४ दशकपछि मन्त्री बने रिजाल

भूषण यादव

वीरगन्ज — प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारमा पर्सा निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बने । शुक्रबार मात्रै उनले शपथ लिएका छन् ।

पछिल्लो ४ दशकयता संसदीय राजनीतिमा होमिएका रिजाल पहिलोपटक मन्त्री बनेका हुन् । मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा रिजालले एमालेका जालिम मियालाई ५ हजार ५ सय २३ मतले पराजित गरेका थिए । यसअघिका दुईवटा निर्वाचनमा रिजालले हार बेहोर्नु परेको थियो ।

२०४९ को निर्वाचनमा रिजाल पहिलो पटक विजयी भएका थिए । त्यसपछि २०५२ को मध्यावधिमा पनि रिजाल विजयी भएका थिए । २०५६ को निर्वाचनमा पराजित भएका रिजाल २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा विजयी भएका थिए ।

त्यसपछि ०७० र ०७४ को निर्वाचनमा लगातार रिजाल पराजित भएका थिए । २०२७ मा नेपाल विद्यार्थी संघको गठन हुँदा रिजाल वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसबाट प्रतिनिधित्व गरेका थिए ।

२०३४ मा भारत बिहारको पटना सम्मेलनमा रिजाल कांग्रेस पर्साको सचिव भएका थिए । २०५१ मा उनी पार्टीको जिल्ला सभापति भएका थिए । कांग्रेसमा देउवा निकट रहेका उनी पार्टी विभाजन हुँदा प्रजातान्त्रिक कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए ।

वि.सं २०१३ असोज १९ मा पर्साको मसिहानी धरमपुर टोलमा जन्मेका रिजालका बाबु मेघराज उपाध्याय राणा शासनविरुद्धको आन्दोलनमा होमिएका थिए । उपाध्याय २०१५ सालको निर्वाचनमा एक प्रतिस्पर्धी थिए ।

प्रकाशित : चैत्र १७, २०७९ १६:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×