सुरू भयो एसईई

तस्बिर : इलिट जोशी, जनकबहादुर शाही

काठमाडौँ, हुम्ला — यस वर्षको माध्यमिक शिक्षा परीक्षा आज बिहान ८ बजेदेखि देशभरका २ हजार ३७ परीक्षा केन्द्रमा सुरू भएको छ । परीक्षामा सहभागी हुन ५ लाख १६ हजार ५ सय ९१ विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा रजिस्ट्रेसन फाराम बुझाएका छन्। ६ वटा अनिवार्य विषयका प्रश्नपत्र प्रदेशअनुसार फरक–फरक तयार पारिएको छ । उत्तरपुस्तिकाको व्यवस्थापन प्रदेश निर्देशनालयले गरेका छन् । ७ हजार २ सय ६५ सामुदायिक र ४ हजार ५ सय ६४ निजी गरी ११ हजार ४ सय २९ विद्यालयका विद्यार्थी एसईईमा सम्मिलित हुँदै छन् ।


प्रकाशित : चैत्र १७, २०७९ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्

विप्रेषणको दुःख

पाठक पत्र

नेपाली युवाहरूले आफ्नो पसिनाको प्रतिफलबापत घरपरिवारलाई विदेशबाट पठाएको रकमको ठूलो महत्त्व छ ।

यस रकमले घरको खर्च धान्नुका साथै बिदेसिँदा लिएको ऋणको ब्याजसहितको किस्ताले बैंक अथवा गाउँघरका साहुजीहरूको समेत कारोबार बढेको छ ।

बालबालिकाको शिक्षादीक्षा र औषधिमुलोको खर्चसमेत विप्रेषणबाटै टारिन्छ, यसको प्रत्यक्ष फाइदा यिनै हुन् । विप्रेषण अन्तर्राष्ट्रिय मुद्राका रूपमा हाम्रो राष्ट्रिय ढुकुटीमा जम्मा हुन्छ र त्यसले हामीलाई विदेशी ऋण तिर्न र आयात गर्न सजिलो भएको छ ।

हालको आर्थिक मन्दीमा छिमेकी पाकिस्तान र श्रीलंका गम्भीर आर्थिक संकटमा पर्दा हामीलाई यसै विप्रेषणले जोगाएको कुरा अब कसैलाई भनिरहनुपर्दैन । तर, विप्रेषणको यो निरन्तरता सधैं कायम रहला ? यसमा तत्काल सोच्नु जरुरी छ ।

रोजगारीका लागि गएका अधिकांश युवाको रोजगारी निर्वाहमुखी रहेको छ । फर्किएर पुनः निरन्तरता दिने थोरै छन् । अमेरिका, अस्ट्रेलिया, जापान र युरोपेली मुलुक गएका युवाहरूले त्यतै स्थायी बसोबासको मौका पाएपछि विप्रेषण पठाउन लगभग बन्द गर्छन् ।

विप्रेषण अधिकांशतः गैरउत्पादनमुखी कार्यमा खर्च हुने गरेको छ । यसले तत्काललाई सन्तोष दिए पनि दीर्घकालीन छाप छोड्न सक्दैन । विदेशी मोटर, विद्युतीय सामानजस्ता बर्सेनि लगातार बढिरहेको आयातलाई विप्रेषणले नै धानेको छ । विप्रेषणले गर्दा घरजग्गा, गहना जोडियो, विदेशी गाडी चड्न् पाइयो भनी पाइएका सुख, क्षणिक हुन् ।

वैदेशिक रोजगारीको प्रलोभनमा युवा देशबाट पलायन हुने क्रम बढेको छ । पहाडी र दुर्गम भेकबाट बसाइसराइको क्रम बढेर खेतबारी बाँझो रहेर उत्पादन घटिरहेको छ । यस्तो स्थितिलाई सुधार्न, शिक्षामा आकर्षण बढाउन उपयुक्त कानुनसहितका सुधारको खाँचो छ । विलासिताको वस्तु आयातमा प्रतिबन्ध लगाई, देशमै रोजगारी उपलब्ध गराउन, भएका कलकारखानालाई संरक्षण गरी आवश्यक र उत्पादनमुखी परियोजना स्थापित गर्न सरकार अग्रसर हुनुपर्छ ।

विप्रेषणको दुरुपयोग हुन नदिन, नगर्न सरकार स्वयं सचेत भई नागरिकमाझ नयाँ कार्यक्रम लिएर जानु आवश्यक छ । तब मात्र विप्रेषणले प्रदान गर्ने वास्तविक खुसी प्राप्त गर्न सकिन्छ ।
– महेन्द्रसिंह बम, टीकापुर–१, कैलाली

प्रकाशित : चैत्र १७, २०७९ ०८:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×