
काठमाडौँ — सुदखोरको पीडाबाट मुक्ति दिलाउनुपर्ने र मिटरब्याजी तमसुक व्यवस्था खारेज गर्नुपर्ने माग सुनाउन महोत्तरीको बर्दिबासबाट पैदलै काठमाडौं आइपुगेका पीडित सोमबार राति खुलामञ्चछेउ सडकपेटीमा रात कटाउन बाध्य भएका छन् ।


सोमबार दिनभर खुलामञ्चको गेटअगाडि प्रदर्शन गरेका उनीहरूलाई रात परेपछि बासका लागि भित्र छिर्न खोज्दा महानगर प्रहरीले रोकेका थिए । राति ९ बजेसम्म अनुरोध गर्दा पनि नसुनेपछि उनीहरू सडकपेटीमै रात कटाउन बाध्य भएका हुन् । चैत २ मा बर्दिबासबाट हिँडेर ११ औं दिन आइतबार काठमाडौं आइपुगेका उनीहरू माग सुनुवाइ नभएसम्म घर नफर्कने अडानमा छन् ।




