फेरि चम्कियो खुमैडाँडा

तस्बिर : दीपक परियार

पोखरा — दुई दशकअघिसम्म कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ खुमैडाँडाका खर्क भेंडीगोठले भरिन्थे । ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) को पहलमा माछापुच्छ्रे मोडल ट्रेक खुलेपछि विदेशी पर्यटक ‘क्याम्पिङ ट्रेक’मा जान थाले । यो पदमार्गको ‘रि–ब्रान्डिङ’ पछि भने यतिबेला आन्तरिक पर्यटकको पनि रोजाइमा परेको छ ।

माछापुच्छ्रे मोडल ट्रेक मर्दी खेलाको सिरान सैंतीघट्ट–पुरुन्ध्रु हुँदै खुमैडाँडा–कोर्चां पुग्थ्यो । त्यहाँबाट पिपर लेक हुँदै घाचोक–सार्दीखोला झरिन्थ्यो । पदयात्रा मार्गमा होटल, रेस्टुरेन्ट थिएनन् । केही ठाउँमा टानले बनाएका धर्मशाला थिए । विदेशी पर्यटकले यो पदयात्रा मार्ग एक सातामा पूरा गर्थे ।

माछापुच्छ्रे गाउँपालिका–१ घाचोकका स्थानीय युवाले गत वर्ष ग्रेट माछापुच्छ्रे ट्रेल समिति बनाए । घाचोकको टुँसेबाट खुमैडाँडा हुँदै कोर्चां लेक पुग्ने पदयात्रा मार्गलाई ‘ग्रेट माछापुच्छ्रे ट्रेल’ नामकरण गरेर प्रवर्द्धन गरे । गएको दसैंयता आन्तरिक पर्यटकले यो क्षेत्र भरिभराउ छ । पोखराको हरिचोकबाट जिप वा बसमा घाचोकको टुँसे पुग्न सकिन्छ । जिप भने सरिपाखासम्मै पुग्छ । सरिपाखाबाट दुई घण्टा हिँडेपछि हिलेखर्क पुगिन्छ । केही पदयात्रीले टुँसेबाटै पदयात्रा सुरु गरेर हिलेखर्कमा बास बस्न पुग्छन् । धेरैजसो सरिपाखाबाट पदयात्रा सुरु गरेर हिलेखर्कमा विहानको खाना खानेगरी पुग्छन् । हिलेखर्कबाट झण्डै ५/६ घण्टाको उकालो चढेपछि खुमैडाँडा आइपुग्छ । यो पदयात्रा मार्गको बीचबीमा केही रेस्टुरेन्ट बनिसकेका छन् । केही अझै बन्ने क्रममा छन् ।

बाटोमा गुराँस फुलेको हेर्दै पदयात्रा गर्दा डाँफे, मुनालसमेत देखिन सक्छन् । समुद्री सतहदेखि ३ हजार २ सय ५० मिटर उचाइमा रहेको खुमैडाँडामा हिउँदमा बाक्लो हिउँ पर्छ । माछापुच्छ्रेको काँखैमा थपक्क बसेजस्तो खुमैडाँडामा तीनवटा होटल छन् । यी होटलमा २ सय ५० जनासम्म पाहुना अट्छन् । खुमैडाँडाबाट भन्दा सुन्दर दृश्यको अवलोकन गर्न भने त्यहाँभन्दा दुई घण्टामाथि ३ हजार ६ सय ९० मिटरमा रहेको कोर्चां पुग्नुपर्छ । खुमैडाँडा पुग्ने पदयात्री अर्को दिन ४ बजे उठेर सूर्योदय हेर्न कोर्चां पुग्छन् । सूर्यको पहिलो किरण माछापुच्छ्रेको टुप्पोमा परेको दृश्यले पर्यटकलाई आनन्दित बनाउँछ ।

कोर्चांबाट माछापुच्छ्रे हिमाल र अन्नपूर्ण हिमशृंखला यतिनजिक देखिन्छ कि आँखाले एकै मेसोमा हेर्न भ्याउँदैन । माछापुच्छ्रेतिर उभिएर हेर्दा देब्रैतिर अन्नपूर्ण दक्षिण र हिमचुली, दाहिनेतिर अन्नपूर्ण तेस्रो लगायतका हिमाल देखिन्छन् । दक्षिणतर्फ पोखरा उपत्यका नियाल्न सकिन्छ । हिउँदमा पोखरा बजार कुहिरोले ढाकिँदा देखिने दृश्य हेर्न पर्यटक खुमैडाँडा र कोर्चां पुग्छन् ।

खुमैडाँडामा एक रातको खाना, बास बसेको र भोलिपल्ट विहानको खाजा खाएको एकजनाले दुई हजार रुपैयाँ तिर्नुपर्छ । फरक मार्ग प्रयोग गर्न चाहनेले कोर्चांबाट सैतीघट्ट हुँदै फर्किन सक्छन् । कोर्चांबाट एकै दिनमा पोखरा आइपुगिन्छ । कस्सिएर हिँड्न सक्नेका लागि एक रात, दुई दिन र समय लिएर हिँड्नेले दुई रात, तीन दिनमा यो पदयात्रा मार्ग पूरा गर्न सक्छन् ।

सहरबाट दुई दिनमा पुगेर फर्कन सकिने नजिकको गन्तव्य भएकोले पनि आन्तरिक पर्यटकको रोजाइमा खुमैडाँडा–कोर्चां परेको छ । टिकटक लगायत सामाजिक सञ्जालमा यतिबेला खुमैडाँडा ‘भाइरल’ नै छ । शुक्रबार, शनिबार र अन्य सार्वजनिक बिदाका दिन आन्तरिक पर्यटकको अत्यधिक चाप हुन्छ । होटललाई पहिले नै सम्पर्क नगरी जाँदा बास नै नपाउने समस्या आउनसक्छ ।

यो पदमार्गको प्रवर्द्धन गर्न माछापुच्छ्रे गाउँपालिकाले आफ्नो १६ औं कार्यपालिका बैठक खुमैडाँडामा गरेको छ । गत शनिबार बसेको कार्यपालिका बैठकले गाउँपालिकाका पदयात्रा मार्गलाई व्यवस्थित गर्दै प्रवर्द्धनमा जोड दिने निर्णय गरेको छ ।


प्रकाशित : चैत्र १३, २०७९ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्

निर्माण कार्यमा प्रगति नभएपछि ६८ वटा ठेक्का तोडियो 

कान्तिपुर संवाददाता

काठमाडौँ — पटकपटक ताकेता गरेपनि निर्माण कार्यमा प्रगति नभएपछि ६८ वटा ठेक्का तोडिएको उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । सोमबार मन्त्री नियुक्त भएको ३ महिना ३ दिन पुगेको अवसरमा आफूले गरेको कामबारे सञ्चारकर्मीसँग कुरा गर्दै उनले ६८ कम्पनीसँग ठेक्का तोडेर कालोसूचीमा राख्न सिफारिस गरिएको बताए ।

‘सडक र पुलमा गरेर २६४ वटा ठेक्का रुग्ण रहेकोमा नियमित अनुगमनबाट प्रगति हुने नदेखिएपछि २४ वटा ठेक्का तोडेर कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाइएको छ र ४४ वटा ठेक्का कानुन बमोजिम तोडिएको छ,’ मन्त्री श्रेष्ठले भने, ‘१९६ वटा ठेक्काको हकमा निर्माण व्यवसायीबाट प्रतिबद्धता लिई आवधिक लक्ष्य (माइलस्टोन) निर्धारण गर्दै काम अघि बढाइएको छ ।’

मन्त्री श्रेष्ठले सबैभन्दा बढी गुनासो आउने गरेको नख्खु–भैंसेपाटी सडक चैत महिनाभित्र कालोपत्र हुने दाबी गरे । ‘चाबहिल–साँखु सडक अन्तर्गत जोरपाटी खण्डमा निर्माणको काम सक्न समय लाग्नेछ, जहाँ जग्गा सम्बन्धी विवाद छ र अदालतसँग जोडिएकाले समस्या भएको हो,’ उनले भने, ‘नत्र अहिलेसम्म सडक कालोपत्र भइसक्थ्यो ।’ त्यस्तै पर्यटकीय क्षेत्र नगरकोट जाने कमलविनायक–नगरकोट सडकमा पटकपटक ताकेता गर्दापनि ठेकेदारले काम नसकेपछि काम सक्ने निश्चित समय तोकिएको उनले बताए । ‘यसरी तोकिएको समयभित्र पनि काम नसकिए ठेक्का तोड्नुको विकल्प हुने छैन,’ उनले भने । जहाँजहाँ सडकको समस्या छन् । त्यहाँ चाँडो काम सक्न निर्माण व्यवसायीलाई बोलाएरै निर्देशन दिएको उनले सुनाए ।


प्रकाशित : चैत्र १३, २०७९ १८:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×