कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्ववियु निर्वाचनमा मतदान जारी

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना, तस्बिर : इलिट जोशी

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयसहित देशभरका आंगिक र सम्बन्धन प्राप्त अधिकांश क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भइरहेको छ । आइतबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मका लागि तोकिएको स्ववियु निर्वाचनमा विभिन्न क्याम्पसका विद्यार्थीहरू लामबद्ध भएर मतदान गरिरहेका छन् ।

काठमाडौंका २२ आंगिक क्याम्पसहरूमध्ये ७ वटामा भने आइतबार निर्वाचन नहुने भएको छ । काठमाडौंकाे अस्कल, त्रिचन्द्र, आरआर, विश्वभाषा, मिनभवन, आयुर्वेद कीर्तिपुर, पाटन बाहेक अरुमा मतदान सुरु भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति सदस्य सचिव पशुपति अधिकारीले बताए । उनका अनुसार काठमाडौं बाहिर भने अधिकांश स्थानमा स्ववियु निर्वाचन सुरु भएको छ ।

निर्वाचन समितिका अनुसार ६२ आंगिक क्याम्पसमध्ये ४८ र सामुदायिक क्याम्पसमा तयारी पूरा भएको छ । १३ क्याम्पसमा विवादका कारण स्थगित गरिएको छ । काठमाडौंस्थित पद्मकन्या बहुमुखी क्याम्पसका प्रमुख राजु मल्लले निर्वाचनका लागि ५ वटा बुथ निर्माण गरिएको जानकारी दिए । पद्मकन्यामा ५ हजार ६ सय १ मतदाता छन् । देशभरका ६२ आंगिक क्याम्पसमा १ लाख ६२ हजार विद्यार्थी मतदाता छन् । काठमाडौं उपत्यकाका २२ आंगिक क्याम्पसमा साढे ६६ हजार र उपत्यकाबाहिरका साढे ९५ हजार विद्यार्थी निर्वाचनमा सहभागी हुने गरी मतदाता नामावली सार्वजनिक भएको छ । त्रिविका ५ सय २३ सामुदायिक क्याम्पसमध्ये अधिकांश स्ववियु चयन गर्ने प्रक्रियामा रहेको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए । आंगिकमा भन्दा सामुदायिकमा धेरै विद्यार्थी पढ्छन् । साढे ५ सय निजी कलेज छन् । अधिकारीले दुई आंगिक र सयभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा निर्विरोध भइसकेको बताए ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत राजनीतिक पार्टी निकटका विद्यार्थी संगठनले प्यानल बनाएर उम्मेदवारी दिएका छन् । त्योबाहेक विद्यार्थीले गैरदलीय रूपमा पनि उम्मेदवारी दिएका छन् । निर्वाचन निर्देशिकामा ११ जना विद्यार्थी मिलेर स्वतन्त्र रूपमा समूह दर्ता गरेर निर्वाचन लड्न पाउने व्यवस्था पहिलो पटक राखिएको छ ।

दुई सयसम्म विद्यार्थी भएमा ११, एक हजार विद्यार्थी रहे १५ र तीन हजारसम्म विद्यार्थी भएका क्याम्पसमा १९ र त्योभन्दा बढी विद्यार्थी अध्ययनरत क्याम्पसले २१ सदस्यीय स्ववियु चयन गर्नुपर्नेछ । अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिवसहित ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित गर्ने व्यवस्था छ ।


प्रकाशित : चैत्र ५, २०७९ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्

विश्वासको मत र सरकारमा सहभागिताबारे निर्णय गर्दै कांग्रेस

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने बारे औपचारिक निर्णय गर्दै छ । कांग्रेसले आजको कार्यसम्पादन बैठक र संसदीय दलको बैठकमा यसबारे आफ्नो औपचारिक निर्णय गर्न लागेको हो ।

कांग्रेसले बिहान साढे १० बजेदेखि कार्यसम्पादन बैठक र १२ बजे संसदीय दलको बैठकमा सरकारलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने बारे आफ्नो औपचारिक निर्णय गर्न लागेको प्रवक्ता प्रकाशशरण महतले बताए । दुवै बैठकबाट सरकारमा सहभागी पठाउने मन्त्री बारे निर्णय गरिने प्रवक्ता महतले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । प्रधानमन्त्री दाहालले यसअघि एमालेसँगको गठबन्धन सरकारको नेतृत्व गर्दा पुस २६ मा विश्वासको मत लिएका थिए । राष्ट्रपतिको निर्वाचन अघि एमालेसहित राप्रपा र रास्वपा सरकारबाट अलग भएपछि दाहालले कांग्रेससँग गठबन्धन गरेका थिए ।

वर्तमान सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायत रहेका छन् ।


प्रकाशित : चैत्र ५, २०७९ १०:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×