कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यादव उपराष्ट्रपति बनेपछि...

तस्बिर: अंगद ढकाल

काठमाडौँ — जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव नेपालको तेस्रो उपराष्ट्रपतिको रुपमा निर्वाचित भएका छन् । शुक्रबारको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । यादवले ३० हजार ३२८ मतभार प्राप्त गरेका थिए । उनले संघीय संसद्‌तर्फ १४ हजार ५३६ र प्रदेशसभातर्फ १५ हजार ७९२ मतभार पाए ।

प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सांसदले उपराष्ट्रपतिमा मत दिएका हुन् । प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभा गरी कुल मतभार ५२ हजार ६२८ रहेको छ । यादवले त्यसको बहुमत अर्थात् २६ हजार ३ सय १४ मतभारभन्दा बढी मत ल्याई निर्वाचित भएका हुन् । शिक्षण पेसाबाट सामाजिक सेवा र मधेशका नागरिकको हक हितको क्षेत्रमा काम गर्न थालेका उनी मधेश आन्दोलनको नेतृत्व गर्दै राजनीतिमा होमिएका थिए ।

०६४ मा शिक्षक पेसा छाडेर पूर्णकालीन राजनीतिमा आएका उनी पार्टीको महासचिवसम्म भए । यसबीचमा उनी तीन पटक सांसद र एक पटक मन्त्रीसमेत भए । मधेशको राजनीतिमा इमान्दार र शालीन नेताको छवि बनाएका यादव अब सक्रिय राजनीतिमा विश्राम लगाउँदै ५२ वर्षको उमेरमै उपराष्ट्रपति बनेका छन् ।


प्रकाशित : चैत्र ३, २०७९ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्

शुक्रले जिते सूर्य नेपाल सेन्ट्रल ओपन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल नम्बर एक गल्फर शुक्रबहादुर राईले सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेका छन् । यो सूर्य नेपाल गल्फ टुर पाँचौं प्रतियोगिता हो ।

शुक्रबार अन्तिम दिन २ अन्डर ७० स्कोर गर्दै शुक्रले समग्रमा २३ अन्डर २ सय ६५ मा उपाधि जिते । यो स्कोरमा उनले सूर्य नेपाल गल्फ टुरमा ७२ होलको स्कोर रेकर्डसमेत बराबरी गरेका थिए । सन् २००८ को सूर्य नेपाल मास्टर्समा भारतीय समिम खानको २३ अन्डरको रेकर्ड बराबरी गरेका हुन् । शुक्रले दोस्रो दिन ११ अन्डर ६१ खेल्दै नयाँ कोर्स रेकर्ड बनाएका थिए ।

भुवन नगरकोटीलाई ४ स्ट्रोकले पछाडि पार्दै शुक्रले करिअरको ११औं उपाधि जितेर १ लाख ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । ४ अन्डर ६८ अंक जोड्दै समग्रमा १९ अन्डर २ सय ६९ सहित दोस्रो भएका भुवनले ९० हजार जिते ।

४ अन्डर ६८ सहित समग्रमा १५ अन्डर २ सय ७३ मा सदभाव आचार्य तेस्रो भए । समग्रमा तेस्रो भएका १६ वर्षे युवा गल्फर सदभावले पहिलो पटक एमेच्योरतर्फ उपाधि जितेका हुन् । उनले नेपाल नम्बर एक एमेच्योर खेलाडी सुभाष तामाङलाई एक स्ट्रोकले हराए । सुभाषले शुक्रबार ७ अन्डर ६५ को स्कोर कार्ड बनाए । समग्रमा १४ अन्डर २ सय ७४ सहित चौथो स्थान प्राप्त गरे । एमेच्योरतर्फ उनी दोस्रो भए ।

प्रोफेसनलतर्फ समग्रमा २ ओभर २ सय ९० सहित नीरज तामाङ तेस्रो भए । उनले २ ओभर ७४ मा खेल टुंग्याए । नीरजले ६७ हजार प्राप्त गरे । ९ ओभर ८१ को खराब प्रदर्शन गरेका जयराम श्रेष्ठले समग्रमा ५ ओभर २ सय ९३ सहित चौथो स्थान हात पार्दै ५५ हजार जिते । ४ ओभर ७६ सहित समग्रमा २ सय ९४ सहित टंकबहादुर कार्की पाँचौं भए । १ ओभर ७३ खेल्दै ६ ओभर २ सय ९४ सहित रामे मगर छैटौं भए । ९ ओभर ८१ स्कोर गर्दै ८ ओभर २ सय ९६ सहित शिवराम पौडेल सातौं भए । पाँचौं, छैटौं र सातौं भएका खेलाडीले क्रमशः ४७ हजार, ४० हजार ५ सय र ३७ हजार पुरस्कार पाए ।

समग्रमा १० ओभर २ सय ९८ सहित सञ्जय लामा, बलभद्र राई र रवि खड्काले आठौं स्थान बाँडे । उनीहरूले जनही ३२ हजार प्राप्त गरे ।

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सूर्य नेपाल प्रालिको प्रायोजनमा सम्पन्न प्रतियोगितामा ३१ प्रोफेसनल र ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

कुल ८ लाख नगद पुरस्कार राशिको प्रतियोगितामा‌ उत्कृष्ट २१ मा पर्ने प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गरे ।

विजयी खेलाडीलाई सूर्य नेपालका मार्केटिङ भाइस प्रेसिडेन्ट दीप्रा लहिरी तथा आयोजक एसोसिएसनका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे ।


प्रकाशित : चैत्र ३, २०७९ १९:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×